May 31, 2019

बाह्र पोखरीः पर्यटकका लागि भर्जिन क्षेत्र

  • खिम घले

पोखरीको छेउको घाँसे मैदानमा गुरासको फेदमा पल्टेर आफुलाई मन परेको पुस्तक पढ्ने रहर छ?

अनि त्यही बेला गुरासका थुम्काहरुलाई छोएर सुसाउदै आएको लेकाली हावा नाकैमा ठोक्किंदाको अनुभूति कस्तो होला?

कल्पना मात्र होइन, यथार्थमै अनुभूति गर्न चाहनु हुन्छ भने पुग्नु पर्छ, लमजुङको बाह्र पोखरी । ३१ सय मिटर उचाईमा रहेको बाह्र पोखरी पुगेपछि लाग्छ धर्तीमा कही स्वर्ग छ भने यही हो ।

		बाह्र पोखरीबाट देखिने दृष्य		view form Barha pokhari
बाह्र पोखरीबाट देखिने दृष्य

बैशाखको अन्तिम् साता लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आयोजना गरेको अध्ययन अवलोकन टोलीसँगै हामी पनि बाह्र पोखारी पगेका थियौं । बाह्र पोखरी वरिपरीको सौन्दर्य र अनुभूतिलाई शब्दमा बर्णन गर्न गाह्रो छ । यद्यपी यो क्षेत्रमा पर्यटकहरु पुगिसकेका छैनन् । त्यसैले यसलाई भर्जिन ल्याण्ड भन्दा पनि फरक पर्दैन ।

कसरी जाने?

बाह्र पोखरी जानका लागि धेरै बाटाहरु छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका भित्र पर्ने यो क्षेत्र परम्परागत रुप मर्स्याङ्दी पारीका गुरुङ गाउँहरुको गोठ लैजाने क्षेत्र हो । त्यसैले ती गोठहरुको पदचाप पछ्याउँदा त्यस क्षेत्रमा पुग्न सकिन्छ ।

मर्स्याङ्दी गाउँपालिककौ भूलभूलेमा झरेर भुस्मे हुँदै कल्मे निस्केर जान सकिन्छ । त्यस्तै गरेर नयाँ गाउँ, उस्ता र छिनखोलाबाट पनि जान सकिन्छ ।

बेंशीसहर नागरपालिकाको वडा १० मा पर्ने खासुर हुँदै कल्मे निस्केर पनि जान सकिन्छ । बेंशीसहरकै चिती–तिलार हुँदै टक्सर निस्केर पनि जान सकिन्छ । अझ दोर्दी गाउँपालिकाको खिञ्चोकलगायतका गाउँहरुबाट पनि बाह्र पोखरी क्षेत्र पुग्न सकिन्छ ।

खाना खाँदै उस्तामा

हामीले मर्स्याङ्दी गाउँपालिकाको उस्ताहुँदै छिनखोलाबाट उकालो लागेर बाह्र पोखरी पुग्ने बाटो रोज्यौं । फर्कंदा भने कल्मेको डाँडा हुँदै खासुर भएर बेंशीसहर झर्यौं ।

काठमाडौंबाट हिंडेको पहिलो दिन हामी बेंशीसहरमै बस्यौं । यद्यपी बेंशीसहरभन्दा माथी जुनसुकै होमस्टेमा बस्न जान सकिन्छ । भुस्मे, उस्ता, खासुर, टक्सरलगायतका स्थानहरुमा बस्ने गरी पनि जानसकिन्छ । ति स्थानहरुमा पुग्यो भने भोली पल्टलाई बाटो छोटिन्छ ।

हाम्रो यात्रा भने दोस्रो दिन बेंशीसहरबाट सुरु भयो । चिया नास्ता गरेर हामी भुलभुले हुँदै ङादी पुग्यौं । त्यहाँ मर्स्याङ्दी गाउँपालिकाको अवलोकन भ्रमण टोलीलाई त्यही भेट्यौं । अध्यक्ष अर्जुन गुरुङका अनुसार बाह्र पोखरी क्षेत्रको पर्यटन र अन्य कृषिलगायतमा के कसरी विकास गर्न सकिन्छ भनेर गाउँपालिकाका पदाधिकारीहरुसहितको अध्ययन भ्रमण आयोजना गरिएको हो ।
हामीले बिहानको खाना उस्ताको घरबासमा खायौं । आमा समुहले बनाएको लोकल कुखुराको मासुसहित स्थानीय चामलको भात र दाल कम्त स्वादिलो थिएन ।

अनि छिनखोलासम्मको जीप यात्रापछि हामीले पैदल यात्रा तय गर्यौं, उकालो । समुह ठूला भएकाले रमाइलो गर्दै गयौं । स्थानीय भन्दै थिए, हिड्न नजिक परेपनि यो बाटोबाट खासै भ्यू देखिन्न । त्यो साँचो ठहरियो । झण्डै चार घण्टा उक्लिने काम मात्र भयो । जंगलै जंगल माथि उक्लिंदा शितल त भयो तर, न तल न माथीनै केही देखियो ।

तर, उकालो बाटो सकिएसंगै सबै थकान मेटियो । लेकाली चिसो हावाले स्फुर्ति त छायो नै रंगिविरंगी गुरासका फुलले मनै तरंगित बनायो । हामी धेरैले गुराँसको रातो रंग थाहा छ, त्यसैले नामै छ, लाली गुरास । तर, सेतो र प्याजी रंगको गुरास पनि कम मोहक थिएन । सेतो गुरासलाई स्थानीहरु भाले गुरास भन्दा रहेछन् ।

झण्डै एक घण्टाको डाँडैडाँडा तेर्सो बाटो लागेपछि पुगियो हाम्रो गन्तव्य, बाह्र पोखरी । सानो चिटिक्क परेको पोखरीलाई वरिपरी गुरासकै रुखहरुले घेरिएको छ ।

लमजुङका पूर्व सभासद् जमिन्द्रमान घलेका अनुसार बाह्र पोखरी आधार शिविरको रुपमा राखेर यसभन्दा माथि घुम्न जान सकिन्छ । अझ हिमाललाई नजिकबाट देखिने र हिमाली पठारहरुको अवलोकन गर्ने हो भने त्यसभन्दमा माथि जानु पर्छ । उनी भन्छन्, ‘बाह्र पोखरीको पर्यटकीय र धार्मिक महत्व छ । अझ यसमाथि जानका लागि यसले आधारस्थलको काम पनि गर्नेछ ।’

फर्कंदा भने हामीले अर्कै बाटो समात्यौं । बाह्र पोखरीबाट देउराली, चित्रे डाँडा हुँदै कल्मेको डाँडामा आयौं । त्यहाँ रिसोर्ट खोल्ने तयारी चल्दै गरेछ । त्यही बस्यौं । अर्को दिन भ्रमणमा गएका केहीले भुस्मेको बाटो समाते । हामीले भने खासुरको होमस्टेमा बस्ने निधो गर्यौं । खासुर एक रात बसेर बेंशीसहर हुँदै काठमाडौं फर्क्यौं ।

बाह्र पोखरीमा के गर्ने, के हेर्ने?

बाह्र पोखरी पर्यटकीय दृष्टिले मात्र होइन, धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । भदौ पूर्णिमामा मेला लाग्ने यो पोखरीमा मुख बोल्न ढिलो भएका बच्चाहरुलाई चापलेमा बोली फुट्छ भन्ने जनविश्वास छ ।

३१ सय मिटरको उचाईमा रहेको यस क्षेत्र पुग्ने पर्यटकको उदेश्य प्राकृतिक दृष्यहरुको अवलोकन नै हो । पोखरीसंगैको थुम्काबाट एकाविहानै लहरै अन्नपूर्ण र मनस्लु हिम श्रृंखला देख्न सकिन्छ । सुर्योदयसंगै हिमाली चुचुरामा देखिने सनौला रंगले मन आनन्दित बनाउँछ ।

पद यात्रामा जान चाहनेहरुका लागि बाह्र पोखरी आधारस्थल हो । यसमाथि झनै मनोरम स्थानहरु छन् । हिमालको फेदमा रहेको दुध पोखरीसम्म पुग्ने बाटो यही हो । यहाँबाट थोंधी, मेमे पोखरी, तरवाल पोखरी, करुवा पोखरी हुँदै दुध पोखरी पुग्न सकिन्छ । या ङ्याब्ले भन्ने ठाउँबाट छुट्टिएर चमर्चेसम्म जान सकिन्छ ।

एउटा किंबन्दिती अनुसार चमर्चेबाट मनाङको नार फु जान सकिन्थ्यो । मनाङका चौरीहरु चर्न चमर्चेमा आउथे । चमर्चेको अर्थ चौरी चर्ने समथर भूभाग भन्ने लाग्दछ । तर उताबाट चरण खोज्दै आएको चौरीलाई यताकाले काटेर खाएछन् । त्यसपछि मनाङको लामाले मन्त्र गरेर हिमपहाड खडा गरेर बाटो बन्दा गरे भन्ने भनाई पाइन्छ ।

‘यस क्षेत्रमा प्राकृकि र धार्मिक पर्यटन मात्र होइन, कृषि पर्यटनको पनि प्रचुर संभावना देखिएको छ’ लमजुङबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसद धनन्जय दवाडी भन्छन्, ‘स्थानीय तह, प्रदेश र संघीय सरकारमासमेत हामी पहल गछौ ।’ बाह्र पोखरीभन्दा माथि हजारौं रोपनी बराबरका हिमाली पठारहरु छन् ।

बस्ने, खाने व्यवस्था

बाह्र पोखरी पुग्नु अघि घरवासहरुको व्यवस्था भएपनि यहाँ त्यो व्यवस्था छैन । यहाँ होटलहरु छैनन् । तर, दुई वटा ठाटीहरु छन् । त्यसका लहरै सुत्दा ४० जनासम्म अट्छ ।

त्यसैगरी क्याम्प खडा गर्न चाहनेले टेन्टहरु लिएर जान सक्छन् । करिव १५ मिनेटको दुरीमा खानेपानी रहेको छ । तर, कतिपयले पोखरीकै पानी उमालेर प्रयोग पनि गर्ने गर्छन् ।

पर्यटन व्यवसायी बलराम थापाका अनुसार बाह्र पोखरी क्षेत्रको प्रशस्त पर्यटकीय संभावना रहेपनि बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिएको छैन । स्थानीय तहले यसमा चासो राख्नुले यस क्षेत्रको प्रचार प्रसार र विकास हुनेमा आशावादी हुन सकिन्छ । होटल तथा बासलगायतको सुविधा यस क्षेत्रमा पर्यटकको आवगमनसंगै व्यवस्था हुँदै जाने पनि उनले बताए ।

उपयुक्त सिजन

बाह्र पोखरी क्षेत्रको भ्रमणको लागि उपयुक्त समय भदौ–कातिक र फागुन–जेठ हो । यद्यपी भदौ–कातिकको मौसमलाई उत्कृष्ट मानिन्छ । त्यस बेला पानी पार्ने हुँदा केही असजिलो भएपनि हिमालहरु खुल्ने हुँदा दृष्यावलोकन राम्रो हुन्छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…