May 31, 2019

काठमाडौँ–काङ्लापास यात्राः भिडियोग्राफरको बयान

  • लाला गुरुङ

मनाङ । घुमफिरमा रुचि राख्ने धेरैका लागि मनाङ नौलो नाम होइन । तैपनि कतिपय त्यहाँ नपुगेको हुन सक्छ या पुगेर पनि धेरै विषयहरू स्मरणमा नहुन सक्छ । तर, एक जना भिडियोग्राफरको नाताले मैले मैले जे देखेँ त्यही बयान दिन गइरहेको छु । त्यो पनि हामी सबै पुग्ने मनाङको होइन, अझ माथि काङ्ला पासको ।

मेरो यस पालाको यात्रा काठमाडौँदेखि मनाङको काङ्ला पाससम्म हो । अझ यो बर्खाको बेला गरिएको यात्रा भएकोले पनि अविस्मरणीय रह्यो ।

मनाङ पुग्नेहरू धेरै जसो अन्नपूर्ण राउन्ड र तिलिचो तालका लागि पुग्छन् । तर, मैले भने ५ हजार ३ सय २० मिटर उचाइको काङ्ला पास रोजेँ । यो पास पर्यटकहरूको लागि यो आकर्षक मात्र छैन, पर्वतारोहीहरूको लागि पवित्रस्थल पनि हो ।

पहिलो दिन, काठमाडौँको जाम, धुलो र धुवाँबाट छुटकारा पाउने अपेक्षासहित बारिएँ । तर पृथ्वी राजमार्गको अवस्था पनि कम छैन । ठाउँ ठाउँमा बिग्रेको बाटोले गर्दा धुलो त्यस्तै छ । जाम उस्तै अनि ठुला ट्रकहरूले धुवाँ पनि त्यतिकै फालेका छन् ।

Videographer’s Witness from Kangla Pass Trekking to manang in Nepal

कहिले कहीँ लाग्छ, जामले गर्दा लमजुङको सदरमुकाम बेंशीसहर पनि नपुगिएला की भन्ने । कुरिटार पुग्नै लाग्दा फेरी जाम सुरु भयो । जाममा फसेपछि यात्रुहरूले जुक्ति निकाले गट्टा खेल्ने । कति लुँडो खेल्न थाले, कतिले छहारी खोजेर सुस्ताउन चाहेका छन् ।

बल्ल झन्डै चार घण्टाको जाम खुल्यो । रातीको समयमा हामी बेंशीसहर पुग्यौँ । बेंशीसहर, लमजुङको समदरमुकाम । मस्र्यांङ्दी नदीको तिरमा लहरै बसेका घरहरू रमणीय छ ।

दोस्रो दिन बेंशीसहरबाट चामेको लागि अघि बढ्दैछौं । बाटो कच्ची छ । त्यसैले फोर ह्वीलको जिप चाहिन्छ । बाटोमा खुदी पर्छ । त्यहाँ नेपालकै पहिलो सुरुङ मार्ग छ । यो छोटो छ तर अनुभव रमाइलो हुन्छ । यो खुदी हाइड्रो पावरको संरचना बनाउने बेला बनाइएको हो ।

मर्स्याङ्दीको तिरैतिर हरियाली पहाड र मनोरम दृश्यहरू हेर्दै हामी अघि बढ्यौँ । राम बजारमा खाजा खायौँ । राम बजार पछिको बाटो सजिलो छैन । भिरको बाटो रोमाञ्चक लागे पनि खतरनाक छ । पहरामा खोपेर बनाइएको बाटोको तल मर्स्याङ्दी सुसाइरहेछ ।

बाटोमा बोङ छहरा पर्छ । मनाङ जान हिँडेका धेरै पर्यटकले यही छहरासँग सेल्फि लिन्छन् । सानो खाजा घर पनि छ । चिया वा चिसो पेय लिएर झर्नाको आनन्द लिन सकिन्छ । यो मनोरम झर्ना कटेपछि म्याग्दी खोला आइपुग्छ । यो लमजुङ र मनाङको सिमाना हो । पुल नभएकोले बर्खामा धेरै सास्ती व्यहोर्नु पर्छ यात्रुहरूले यहाँ । हामी चढेर गएको जिपलाई डोजरले तानेर तारियो ।

दोस्रो दिनको साँझ चामे पुग्यौँ । बाटोमा जिपले उफारेर ज्यान दुखिरहेको छ । मौसम पनि चिसो छ । त्यसैले म होटेलको चुलैमा पुगेँ, न्यानो खोज्दै । खाना खाएर सुतियो । मनाङको सदरमुकाम चामे पनि मर्स्याङ्दीकै तिरमा छ ।

तेस्रो दिनको बिहान चामेमा खाजा खाइसकेपछि हामीले पिसाङको लागि हिँड्न थाल्यौँ । लमजुङको सीमा कटेपछि फेरिएको दृश्यहरू झनै फरक हुँदैछन् । बाटोबाट देखिने हिमाल पनि वर वर आए जस्तो लाग्छ । नाकैमा ठोक्किएला की जस्तो । धेरै ठाउँमा लुङ्दार फहराई रहेका छन् । बाटोमा छोर्तेङहरु देखिएका छन् ।

हामीले बाटोमा गुरुङहरूले ल नासा भन्ने ठाउँ देख्यौँ । यसलाई गुरुङ समुदायले मरेको पितृ स्वर्ग जाने ढोकाको रूपमा मान्छन् । यस क्षेत्रका बासिन्दाहरूले पनि यसलाई पवित्रस्थलको रूपमा लिन्छन् ।

साँझ खेर हामी पिसाङ आइपुग्यौँ । यो ३२ सय मिटरको उचाइमा छ । पर्यटकको आवागमन बढेसँगै अहिले माथिल्लो पिसाङमा होटलहरु बन्ने होड नै चलेको छ ।

काठामाडौंबाट हिँडेको चौथौँ दिन पिसाङबाट ङावलका लागि प्रस्थान गर्‍यौँ । बिच बाटोमा हुण्डे विमानस्थल पर्छ । यो विमानस्थलबाट सातामा एक पटक उडान हुन्छ भने अरू रेस्क्यू उडानहरू पनि हुन्छन् । हुन्डेबाट अघि बढेपछि सब्जिखोला पुगिन्छ । यहाँ नेपाल पर्वतारोहण सङ्घको पर्वतारोहण तालिका स्कुल छ । त्यही स्कुलको परिसरमा एउटा मनोरम तलाउ पनि छ । तलाउमा हाँसहरू तैरिरहेका थिए ।

यही सब्जि खोलाबाट अन्नपूर्ण राउन्ड र तिलिचो जानेहरू छुटिन्छन् । अझ यसो भनौँ त्यो मूल बाटोबाट काङ्ला पास जानेहरू छुटिन्छन् । हामीले बाटैबाट मनाङ गाउँ देख्यौँ । ब्रागा गुम्बा गाउँकै ठुलो संरचना हो । यो १३ औँ शताब्दीमा बनेको बताइन्छ ।

सब्जिखोलाबाट माथि गाडी जाँदैन । पैदल हिँड्नु पर्छ । हाम्रो आजको बास ङावलमा हो । यहाँका घरहरू छाना नभएका जस्ता देखिन्छन् । घरमाथि लुङ्दार फहराई रहेका छन् । ङावल ऐतिहासिक गाउँ हो । यहीबाट गुरुङ समुदायको पुर्खा लमजुङ गोर्खा र कास्कीतिर लागेको बताइन्छ ।

पाँचौँ दिन हामी पर्वतारोहणमा जानेहरूका लागि मिड क्याम्पमा पुग्छौँ । ४२ सय मिटर उचाइको यस क्याम्पमा होटलहरु छैनन् । आफ्ना लागि टेन्टको जोहो आफै गर्नु पर्छ । यस क्षेत्रमा हरियाली छैनन् । पुरै हिउँले खाएका पठार छ । यही क्षेत्रको चट्टाने भिरमा नाउरको बथानहरू देखेँ मैले दौडँदै गरेको ।

यही बास बसेर भोलि पल्ट काङ्ला पास जान सकिन्छ । पर्वतारोहीहरूको लागि काङ्ला पास हाई क्याम्प हो । यस क्षेत्रमा बोटबिरुवा छैनन् । हरियाली हुने कुरै भएन । यो पठारमा ढङ्गको गरगडो मात्र छ । ५ हजार ३ सय २० मिटर उचाइको यो पासमा ७५ डिग्रीको कोण बनाएर हिँड्नु पर्छ ।

काङ्ला पासबाट मुलुककै अति विकट क्षेत्र नार र फु गाउँहरू पुग्न पनि सकिन्छ । फर्कने हो भने त्यही दिन ङावलमै बास बस्न आइपुग्न सकिन्छ । त्यसपछि पहिले गएकै बाटोबाट फर्कन सकिन्छ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…