May 31, 2019

खासुरः एउटा खुला जीवित सङ्ग्रहालय

  • खिम घले

लमजुङको सदरमुकाम बेंशीसहरदेखि करिब दुई घण्टाको पैदल यात्रामा पुगिने खासुर अहिले आन्तरिक तथा बाह्य पर्यटकको लागि गन्तव्य बन्न थालेको छ ।

चिटिक्क मिलेका घरहरू, ढुङ्गा बिछ्याइएका फराकिला गल्लीहरू अनि सफा यो गाउँ गुरुङ समुदायको रहनसहन जान्न चाहनेहरूका लागि खुला जीवित सङ्ग्रहालय जस्तै छ ।

खासुर पुग्न बेंशीसहरबाट दुई बाटाहरू छन् । एउटा बेंशीसहरबाटै मर्स्याङ्दी तरेर भोटेफाँट हुँदै दुई घण्टा पैदल हिँडेर गाउँ पुग्ने । अर्को मनाङ जानेबाटोमा बेलाउती बिसौनीसम्म बस चढेर जाने अनि झरेर लेत्तेफाँट हुँदै करिब एक घण्टाको उकालो चढेर पुग्ने । दुवै तिरबाट गाउँ आइपुग्ने सिँढी नमुना रहेको छ ।

आफ्नै निजी सवारी साधन हुनेहरूका लागि भने खासुर पुग्न अझै सरल छ । बेंशीसहरको पुल तरेपछि झन्डै आधा घण्टामा भाचोक खोला हुँदै गाउँमै पुग्न सकिन्छ ।

गाउँमा बस्नको लागि होमस्टेको व्यवस्था गरिएको छ । करिब ४० जनाको हराहरीमा एक पटकमा बास बस्न सकिने यो गाउँमा बाजा बजाएर स्वागत गरिन्छ । समूहमा खाने वा आफू बस्ने घरमै खाना खाने भन्ने विकल्प रोज्नसमेत दिइन्छ ।

मोही माेथ्दै

होमस्टेका लागि तयार पारिएका प्रत्येक घरमा दुई वटा बेड सफा गरेर पाहुनाका लागि तयार राखिएका छन् । नअटेको खण्डमा वा सानो समूहमा आएका पाहुनाहरूलाई प्रगति नारी समाजले सञ्चालन गरेको खाजा घरमासमेत बास पाइन्छ ।

नेपाली गाउँले जीवनको अनुभव गर्न चाहनेहरूका लागि खासुर एउटा खुला सङ्ग्रहालय जस्तै छ । गाउँको शिरदेखि पुच्छरसम्म हेर्दै जाँदा कोही रक्सी पार्दै गरेको भेटिने छन् भने कोही भकारो सोहोर्दै गरेको ।

कोही दूध दुईरहेको देखिन्छन् भने कोही मोही मोथ्दै गरेको ।

कोही कामको लागि बारी वा खेततिर कोदालो बोकेर जाँदै गरेका भेटिने छन् भने कोही तान लगाएर बक्खु बुन्दै गरेका ।

कोही माच्छा समात्नका लागि जाल बुनिरहेका छन् भने कोही स्याउला ओसार्नका लागि डोको बुन्दै छन् ।

कोही बृद्धाबृद्धहरु एकापसमा दुख–सुखको भलाकुसारीमा व्यस्त छन् भने कोही उन कात्ने मेसिनमा हात चलाइरहेका छन् ।

फरासिला मिजासका गाउँलेहरू तपाईँलाई स्वागत गर्छन् । आफूले गरिरहेका काम रोक्छन् र कहाँबाट कहिले आएको सोध्न थाली हाल्छन् ।

फोटो खिचाउन ? हिचकिचाउँदैनन् । फोटोको खिचाएर तपाईँको यात्रा सदाका लागि स्मरणीय बनाइ दिन्छन् ।

अहिले छोटो समयको आन्तरिक पर्यटकका लागि नारी समाजको खाजा घर आकर्षण बनेको छ । त्यहाँ पाक्ने सेल रोटी, लोकल कुखुराको मासु र अन्य परिकारहरूको माग बढ्दो छ ।

गाउँलेहरूले कन्याथानसम्म सिँढी हालेका छन्, अवलोकनका लागि । त्यही अहिले बगैँचा बनाउन थालिएको छ । गाउँको दक्षिणतिरको स्कुल डाँडामा रहेको गुम्बा आकर्षक बनेको छ । त्यहीबाट देखिन्छ बेंशीसहर बजार ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

कर छुटप्रति हवाई कम्पनी खुशी

काठमाडाैं। सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथ…