May 31, 2019

पाथीभरा यात्रा : धर्म सँगै दृश्यावलोकन

  • आनन्द गौतम

ताप्लेजुङ । खुला आकाशको छहारी । उत्तर पट्टी विश्वको तेस्रो अग्लो (८,५८४ मिटर) हिमाल कञ्चनजंघा । सँगै कुम खसेको जस्तो देखिने कुम्भकर्ण हिमाल । जसलाई लिम्बु भाषामा फक्ताङलुङ पनि भनिन्छ । प्रकृति पूजक लिम्बुहरूले यसको पूजा गर्छन् ।

पश्चिम दिशामा सुन्दर गाउँ लेलेप छ । यी मनोरम स्थल देखिने ठाउँ हो ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिर । यहाँ देवीका मूर्तीलगायतको संरचना रहेको छ । रातो पहिरनले ढाकिएकी देवीको अग्लो मूर्ती । खड्ग, त्रिशूल, वीणा र अन्य हतियार हातमा भएकी देवी । सिंहमा चढेकी देवीको मूर्ती पछि राखिएको हो । यो टाढैबाट देख्न सकिन्छ । यसको बायाँ पट्टिको कुनामा अखण्ड बत्ती राखिएको छ । जुन २४ सै घण्टा बलिरहन्छ ।

पछिल्लो समय पाथीभरा पुगेर देवीसँग आफ्नो मनोकांंक्ष पुरा होस् भनेर कामना गर्नेहरूको सङ्ख्या बढेको छ । एकातिर पाथीभराप्रतिको आस्थाका कारण भक्तजन पुग्छन् भने अर्कोतिर तिर्थयात्रासँगै त्यस क्षेत्रको दृश्यावलोकन पनि आकर्षण बनेको छ ।

कसरी पुग्ने?

प्रसिद्ध देवीस्थान पाथीभरा पुग्नका लागि सदरमुकाम फुङलिङ भएर जानुपर्छ । सदरमुकामदेखि सुकेटार विमानस्थलको दुरी ८ किलोमिटर छ । यो कालोपत्रे सडक हो । यहाँ साना सवारी साधन चल्छन् । सुकेटारदेखि काफ्लेपाटीसम्म कच्ची सडक छ । यसको दुरी १२ किलोमिटर छ ।

मोटर यहाँ पुगेपछि रोकिन्छ । यहाँ पहिला प्रजापति काफ्लेले पाटी (धर्मशाला) बनाएका थिए । काफ्लेले पाटी बनाएकै कारण यहाँको नाम काफ्लेपाटी रहन गयो । सदरमुकामदेखि काफ्लेपाटीसम्मकै सडक सानो भएकाले साना सवारी साधन मात्रै चल्छन् । ठुला सवारी साधन बस जान सक्दैन ।

काफ्लेपाटीदेखि मन्दिरसम्म पैदल हिँड्नुपर्छ । यसको दुरी साँढे ४ किलोमिटर रहेको छ । यहाँदेखि मानवीय बस्ती भएको माथिल्लो फेदीसम्मको दुरी २ किलोमिटर छ । फेदीदेखि मन्दिर साँढे दुई किलोमिटर छ ।

ताप्लेजुङ पुग्ने भने अहिले चार वटा बाटा छन् । मेची राजमार्गको बिर्तामोड – चार आली – इलाम – फिदिम – ताप्लेजुङ सडक कालोपत्रे छ । यो नियमित सञ्चालनमा छ । बिर्तामोड बसपार्कबाट ठुला तथा साना सवारी चल्छन् । इटहरीबाट धरान – धनकुटा – वसन्तपुर – गुफा – साँघु – दोभान हुँदै पनि ताप्लेजुङ आउन सकिन्छ । यो कच्ची सडक हो । तर यो रुटमा नियमित चल्ने सवारी नभएकाले रिजर्भ गाडीमा मात्रै यात्रा गर्न सकिन्छ ।

तेस्रो, तमोर करिडोरपनि कहिले कहीँ सञ्चालनमा छ । इटहरीबाट तमोरको किनारै किनार भएर धनकुटाको लेगुवाघाट –तेह्थुम–पाँचथर हुँदै ताप्लेजुङ सदरमुकाम पुगिन्छ । मध्य पहाडी लोकमार्ग भएर पनि ताप्लेजुङ पुग्न सकिन्छ । पछिल्ला तीन वटा रुटमा भने आफ्नै गाडी हुनेका लागि वा रिजर्भ लिएर हिँड्न उपयुक्त हुन्छ ।

बास र खानाको व्यवस्था

सदरमुकाम देखि सुकेटार हुँदै माथिल्लो फेदीसम्म होटेल, लजको राम्रो व्यवस्था छ । सुकेटारको छेउमा रहेको गुरुङ बस्तीमा घरवासको पनि व्यवस्था छ । यहाँको घरवास गुरुङ समुदायले सञ्चालन गरेका हुन् । यहाँ ४० जनासम्म अटाउने क्षमता रहेको छ ।

अधिकांश तिर्थयात्री पाथीभरा जाँदाको रात माथिल्लो फेदीमा बस्न रुचाउँछन् । किनकि यहाँ बसेपछि बिहान मन्दिर उक्लनका लागि सहज हुन्छ । शरीर हावापानी अनुकुलित हुने भएकाले सहज हुने तिर्थयात्रीको अनुभव छ ।

यहाँ अस्थायी प्रहरी चौकी छ । यहाँको प्रहरीले तिर्थयात्रीलाई सुरक्षा प्रदान गर्नुकासाथै मन्दिरसम्म पुग्ने भिड नियन्त्रणमा सहजीकरण गर्ने गर्दछ । यहाँ प्राथमिक उपचार केन्द्र पनि रहेको छ । त्यहाँ एक जना अहेव कार्यरत छन् । उनले कसैलाई साहे गाहेपरे औषधि उपचार गर्छन् । नियमित यही बसेर सेवा प्रवाह गर्छन् । बिच बाटोमा कोही बिरामी परे त्यहाँसम्म पुगेर पनि उपचार सेवा प्रवाह गर्दै आएका छन् । चिसोमा बिरामी हुनेलाई हट ब्यागको पनि व्यवस्था रहेको छ यहाँ । यसको प्रयोग गरेबापत एक रातको एक सय रुपैयाँ बुझाउनु पर्ने हुन्छ । बिशेषगरी बिरामीका लागि यो सुविधा प्रदान गरिन्छ ।

मन्दिर परिसर बाहिर नजिकै एउटा धर्मशाला छ । यहाँ पुजारीहरू अस्थायी रूपमा बस्छन् । स्थायी रूपमा बस्नकालागि भने करिब पाँच सय मिटर पूर्वतिर अर्को धर्मशाला छ । तिर्थयात्रीका लागि प्रवेशद्वारको बाहिर ८ वटा धर्मशाला छन् ।

यहाँ बस्ने सुविधा छ । बस्नलाई कम्बल, मेट्रेसलगायतका ओढ्ने ओछ्याउने सामग्री यहाँका पुजारी तथा कर्मचारीले दिन्छन् । यहाँ खाने सुविधा भने छैन । खानेकुरा तिर्थयात्री स्वयंले बोकेरै लानुपर्ने हुन्छ । धेरै भिडभाड नभएको र भ्याएको अवस्थामा पुजारी र मन्दिरका कर्मचारीले तातोपानी, चिया तिर्थयात्रीलाइ उपलब्ध गराउँछन् । तर भिडभाडको अवस्थामा भने त्यो सम्भव हुँदैन ।

पूजा विधि


माथिल्लो फेदीदेखि नजिकै कान्छी देवीको थान छ । पूजा विधि यहीबाट सुरु हुन्छ । यसैको छेउमा देवीका वाहन सिंहको प्रतीक बनाएर राखिएको छ । जसले द्वारपालको काम गरेको अनुभूति दिन्छ । यही ठाउँमा तामैतामाको द्वार बनाउन लागिएको छ । एकवर्षमा सम्पन्न गर्ने लक्ष आयोजकको छ । पैदल मार्ग हिँड्ने सबै ठाउँमा ढुङ्गाको सिलिङ छ । बृद्धबृद्धादेखि बालबालिकासम्मलाई हिँड्न सहज बनाउनका लागि छोटो सिँढी राखेर बनाइएको छ ।

देवीको उत्पत्ति हुँदाका बखत पाथीभरामासानो मूर्ती थियो । यो अहिलेसम्म पनि छ । जहाँ देवीको वास्तविक रूप सहजै नियाल्न सकिन्छ । यसलाई शिला पनि भनिन्छ । खुला चौरको बिचमा प्राकृतिक रूपमा रहेकी देवीको दर्शनका लागि वार्षिक तीन लाखको हाराहारीमा तिर्थ यात्री जान्छन् ।

मन्दिर पुग्नुअघि बाटामा लहरै घण्टीहरू झुण्ड्याइएका छन् । पाथीभरा मन्दिरको प्रवेशद्वारबाट सुरु हुन्छ दुईतिर घण्टीसँगैको मार्ग । दायाँ–बायाँ दुवैतिरका घण्टी बजाउँदै मन्दिरमा प्रवेश गर्छन्, तिर्थयात्री । यसैको माथिल्लो पट्टि किराँत समुदायको माङहिङ बनाइएको छ । यहाँ पूजा आराधनाका लागि किराँत धर्मावलम्बीहरू जाने गरेका छन् । मन्दिर हातामा बौद्ध मन्त्र लेखिएका झन्डाहरू फरफराइ रहन्छन् । यहाँ पुग्दा यस्तो अनुभूति हुन्छ यो सबै धर्मावलम्बीहरूको संगमस्थल हो ।

मन्दिरको दोस्रो प्रवेशद्वारमा पुगेपछि पूजा स्थलमा प्रवेश गरिन्छ । सबैभन्दा अग्रभागमा गणेशको मूर्ती छ । मूल पूजा विधि यहीबाट सुरु हुन्छ । यसको बायाँतिर महादेवको मूर्ती छ । उनको पहिचान गराउने नाग, नन्दी जस्ता आकृति पनि छन् यहाँ । यसको अगाडि पट्टि हवन कुण्ड भवन छ । भवनभित्र बसेर हवन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

पाथीभराको उत्पत्तिदेखि नै यहाँ भक्तजनले घण्ट, त्रिशूल चढाएका छन् । अहिलेसम्म पनि त्यो क्रम जारी छ । त्यसलाई मन्दिर परिसरको ठाउँ ठाउँमा झुण्ड्याइएको छ । मन्दिर परिसर पुग्ने जो कोहिका लागि यो निकै आकर्षक बन्छ । यहाँ बत्ती बाल्नेका लागि छुट्टै व्यवस्था गरिएको छ । पाथीभरामा पछिल्ला दिन लाख बत्ती बाल्नेहरूको सङ्ख्या बढ्दै गएकाले छुट्टै व्यवस्था मिलाइएको छ । बत्ती मन्दिर भित्र बालेर राख्न पाइँदैन ।

देवीसँग जोडिएको लोक कथा


पाथीभरा उत्पत्तिको एक मात्र किंवदन्ती रहेको छ । यो पहिला चरन क्षेत्र थियो । अहिले पनि पशुचौपाय लगेर यहाँ छोडिन्छ । यहाँ भेडाका अधिक गोठ हुन्थे । एक जना गोठालाको भेडा एक पटक अकस्मात हरायो । धेरै समय खोज्दा पनि उनले पाउन सकेनन् । लखतरान भएर सुतेका गोठालाले सपनामा देवीको दर्शन पाए । आफू देवी भएको र आफ्नो पूजा आराधना गरे भेडा छोडिदिने बताएपछि भेडा भेट्न हतारिएका गोठालाले सपनामा देखे अनुसारको पूजा विधि गरे । नभन्दै एउटा ओडारबाट भेडाहरू ह्वारह्वारती बाहिर निस्किए ।

त्यसपछि यहाँ पूजा विधि सुरु भयो । यसरी भेडा निस्किएको ओडार भने अहिले पूजा गर्ने स्थलभन्दा केही तल रहेको छ । अप्ठेरो भिरमा भएकाले जो कोही जान सक्तैनन् र जानका लागि प्रोत्साहित पनि गरिँदैन ।

एउटा आश्चर्य के छ भने जतिसुकै बोका पाठा काटेपनि खुन जम्दैन र जमिन रातो हुँदैन । अहिले बली प्रथा केही कम भएको छ । पहिला अधिक थियो । दिनहुँ सयौँ बोका पाठा काटिन्थ्यो । बलि चढाउन नजानेहरू कमै हुन्थे । अहिले बलीेप्रथा क्रमशः कम हुँदै गएको छ ।

बरु अहिले डाँडामा सिक्का पैसा पाथीमा भरेर चढाउने क्रम बढेको छ । अन्नले भरिएको जस्तो डाँडो देखिने भएकाले यहाँको नाम पनि पाथीभरा राखिएको विश्वास गरिन्छ । बोली नआएकाहरूको बोली फुटेको, सन्तान तथा पुत्र लाभ भएको, व्यवसाय प्रबद्र्धनमा सहयोग पुगेको जस्ता विश्वास पाथीभरा जाने तिर्थयात्रीहरुले गरेका छन् ।

बढी जाने समय


यहाँ चैते दसैँको बेला सबैभन्दा बढी भीड लाग्छ । २०७५ चैत २३ गते शनिवार एकै दिन १२ हजार ९ सय ३३ जनाले पाथीभरा दर्शन गरेको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीको कार्यालयसँग रेकर्ड छ ।

त्यसपछिको सबैभन्दा धेरै भक्तजन जाने समय असोज–कार्तिक हो । यस बेला मौसम राम्रो हुने भएकाले पनि तिर्थयात्रीहरुको सङ्ख्या बढेको हो । कात्तिक अन्तिमदेखि हिउँ पर्न थाल्ने र चिसो बढ्ने भएकाले तिर्थयात्री कम हुन्छन् ।

फागुनदेखि फेरी यात्रा सुरु हुन्छ र यो क्रम वैशाख महिनाभरि चल्छ । जेठदेखि भने केही कमी हुन थाल्छ । पाथीभरा दर्शनकालागि नेपालको तराई क्षेत्रबाट धेरै भक्त्तजन आउने गरेका छन् । नेपाल बाहिर, भारतको आस्साम, सिक्किम, मनीपुर, पश्चिम बङ्गाल र भुटानदेखिसमेत तिर्थयात्री आउँछन् ।

सबै तस्बिर : आनन्द गौतम

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…