June 13, 2019

बाटै नभएको पीक नबेच्नु नी!

– बिसबहादुर गुरुङ

Baruntse peak attempt aborted due to lack of trails in Nepal
७१२९ मिटर अग्लो बरुञ्चे हिमाल चढ्नका लागि आधार शिविर पुगेका आरोहीहरु ।

कुरा यही सिजनको हो । हामी यसपाली बरुञ्चे पीकको आरोहणका लागि गएका थियौं । छ जना विदेशी आरोही थिए । हामी १० जना नेपाली थियौं । जाँदा सबै जनामा उत्साह थियो । ७१२९ आरोहण गरेर फर्कने हाम्रो अठोट थियो ।

काठमाडौंबाट हिं‌डेको उडेको जहाज २९ सय मिटरको उचाईमा रहेको लुक्लास्थित तेञ्जिङ हिलारी एयर पोर्टमा आवतरण भएपछि हामी सिधै उकालो चढेर ३४ सय मिटरको छुटाङ्गामा पुगेर बास बस्यौं । यहाँ दुई वटा मात्र होटल छन् । त्यसैले ट्रेकिङ जाने आउनेहरुको घुइचो लागि रहन्छ । कतिले भने आफै टेण्ट गाडेर पनि बास बस्छन् ।

Baruntse peak attempt aborted due to lack of trails in Nepal
लेखक

यहाँका धेरै जसो खाना स्थानीय नै हुन्छ, त्यसैले स्वादिलो पनि । सुपहरु पनि खाना पाइन्छ ।

दोस्रो दिन छुटाङ्गामा खाना खाएर हिंडेपछि ४६ सय मिटरको छत्र ला पास गरेर छत्रपु भन्ने स्थानमा पुगिन्छ । छत्रपु चाहि ४२ सय मिटर उचाईमा रहेको छ । त्यहाँ जानलाई झर्नाहरु, पहाडका हरियाली डाँडाकाँडाहरु छिचोलेर जानु पर्छ । यात्रा रमाइलो हुन्छ ।

तेस्रो दिन भने ओरालो लाग्नु पर्छ । ३५ मिटर उचाईको कोठे तेस्रो दिनको गन्तव्य हो । चौथोदिन कोठेबाट कहिले तेर्स्रो र कहिले उकालो हुँदै ठ्याकनाक भन्ने स्थान पुग्यौं । यो ४४ सय मिटर उचाईमा रहेको छ । हिमाली क्षेत्रको यात्रा रोमाञ्चक छ ।

Baruntse peak attempt aborted due to lack of trails in Nepal
बरुञ्चे हिमालको आधार शिविरभन्दा माथी आरोहीहरुसंग पुगेका कुकुरहरु ।

चौथों दिन भने हामी खारे भन्ने ठाउँमा बास बस्न पुग्यो । यस क्षेत्रको अन्तिम् मानव बस्ती यही नै हो । यो भन्दा माथि मानव बस्ती छैनन् । यहाँ दर्जनभन्दा बढी होटलहरु छन् । खारेको उचाई लगभग ४९०० मिटरको रहेको छ ।

यहाँबाट अघि बढेपछि कहिले हिउमा त कहिले ढुंगाको गरगडोमा हिड्नु पर्ने हुन्छ । चर्चित मेरा पीक नाकैमा ठोकिएला जस्तो हुन्छ । यात्रा रमाइलो लाग्छ । खारेबाट अगाडि कुनै होटल छैन । त्यसपछिका दिनहरुमा टेन्ट गाडेर आफै पकाएर खाँदै जाने हो ।

मेरा ला पास पार गरेर ५४ सयको उचाई नाघेपछि खुम्मादिन पुगिन्छ । त्यसको उचाई ४२ सय मिटरको छ । खुम्मादिनबाट हामी सेतो पोखरीमा पुगेर बास बस्यौं । यो ५००० मिटरको उचाईमा छ । यहाँ हामीसंगै स्थानीय कुकुरहरु पनि पुगेका थिए । सेतो पोखरीमा साना साना चिया पसलहरु छन् ।

Baruntse peak attempt aborted due to lack of trails in Nepal

सेतोपोखरीबाट ५–६ घण्टा हिंडेपछि बरुञ्चे आधार शिविर पुगिन्छ । आधार शिविरमा हामी सबै मिलेर टेन्ट टाँग्यौं । आराम गर्यौं । केही दिन अभ्यास गर्यौं । सबै जना तयार भएपछि चुचुरामा जाने योजना बनाउँछौं । त्यही आधारमा हामी अरु क्याम्पहरु तयारी गर्छौं । चुचुरामा जाने योजना बनाउँदा मौसम सबैभन्दा महत्वपूर्ण हुन्छ ।

बरुञ्चेमा क्याम्प २ मा पुगेर बसेपछि सिधै चुचुरामा जान्छौं । मेरो जिम्मामा २ जना आरोही थिए । एक जना हाई क्याम्पबाट फर्किए । त्यसमा उनको आफ्नै कारण थियो । अर्को एक जनालाई लिएर म अघि बढें । हामी ६९०० मिटरको उचाईमा पुग्यौं । तर, त्यसभन्दा अघि जाने बाटै रहिन्छ । फर्कनु पर्ने भयो । अघि भरखरसम्मको हाम्रो उत्साह र चुचुरामा पुग्ने चाहना चक्नाचुर भयो । मेरो मन मसंगको आरोहीको अबस्था देखेर कुँडियो । नमज्जा लाग्यो ।

Baruntse peak attempt aborted due to lack of trails in Nepal
यात्री ट्रेकिङको ब्यानरसहित आरोहीहरु ।

बरुञ्चेको उचाई ७ हजार १ सय २९ मिटर हो । हामी चुचुरामा पुग्न जम्मा २२९ मिटर बाँकी थियो । बाटो नै नभएपछि जान सकिने अवस्था भएन । हामी मात्र होइन कुनै पनि समुहले बाटो पाएनन् ।

सबै जना फर्किनु पर्‍यो । खासमा दुई वर्षदेखि नै बाटो नभएकोले कसैले बरुञ्चेको पीकमा पुग्न सकेका रहेनछन् । त्यो हामीलाई थाहा भएन । सरकारले अनुमति दिने बेलामा हिमालको अवस्था कस्तो छ त्यसमा बिचार गरेको देखिएन ।

बाटो भत्किएको वा पुरिएको अवस्थामा हिमालहरुको आरोहण अनुमति नदिएको भए हुन्थ्यो । कि त ति बाटोहरु बनाउनु पर्ने हुन्छ । तर, बाटै नभएको हिमालको रोयल्टी लिएर अनुमति दिएपछि हाम्रो देशको सन्देश बाहिर कस्तो गयो होला । यसरी त भिजिट नेपाल २०२० को सपना पुरा हुँदैन होला ।

यस्तो विषयमा जानकारी गराउने व्यक्ति सम्पर्क अधिकृत हो । तर, हाम्रो सम्पर्क अधिकृत आरोहणको क्रममा कहि कतै भेटिएन, सम्पर्कै भएन । खासमा उनी हामीसंग आधार शिविरसम्म पुग्नु पर्ने हो । तर, सम्पर्कमै नआएपछि कस्लाई भन्ने यस्ता कुरा । त्यसैले मेरो अनुरोध छ – यस्ता चढ्न निमल्ने अबस्थाका हिमालहरुमा कि त सरकारले बाटो बनाउने, डोरी टाँग्ने काम गर्नु पर्छ । नत्र यस्ता हिमाललाई आरोहण अनुमति नदिओस् । बरु यसमा अनुमति नदिए आरोही अर्को चढ्न जान्छन् नी ।

– लेखक सगरमाथा आरोहण गरिसकेका गाइड हुन् ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…