दुई घण्टा हिलारी स्टेपमा ट्राफिक जाममा फस्दा…..
धेरै उचाईमा लामो समय जाममा फस्दा अक्सिजनमा ध्यान दिनु पर्छ
- पुरबहादुर गुरुङ ‘युक्त’

मेरो घर गोर्खाको लाप्रक हो । अहिले म ३१ वर्षको भएँ । यस पटक मैले सगरमाथा चौथो पटक चढेँ । हिमाल चढ्न थालेको दश वर्षमा साना ठुला गरेर झन्डै सय हिमालहरू चढेँ हुँला ।
सन् २००५ देखि म पर्यटन क्षेत्रमा छु । सुरुमा भरियाको रूपमा काम सुरु गरेको हुँ । भरियाको रूपमा सुरुमा मनसलु गएको थिएँ । त्यसपछि कुक भइयो । सन् २००९ मा नेपाल पर्वतारोहण सङ्घले दिएको आधारभूत तालिम लिएपछि भने म गाइडका रूपमा हिमाल चढ्न थालेको हुँ ।
मैले पहिलो पटक ६१६३ मिटरको आइलेण्ड हिमाल आरोहण गरेँ । त्यसपछि मैले निरन्तर हिमाल चढिरहेको छु । छ हजार उचाइका हिमालहरू मध्ये मेरा पीक ६ पटक, आइलेण्ड पीक १५ पटक, चुलो फार इष्ट ५ पटक, यला पीक ९ पटक, धौलागिरी छेउको थापा पीक २ पटक, मनसलु २ पटक, आमा दब्लम २ पटक, एभरेस्ट ४ पटक चढियो ।

मलाई सबैभन्दा मन पर्ने हिमाल चाहिँ आमा दब्लम हो । सन् २०१८ मा मैले त्यस हिमालको आरोहण गरेँ ।
सगरमाथाको कुरा गर्दा मैले सन् २०११ मा पहिलो पटक सगरमाथा आरोहण गरेको हुँ । त्यसपछि ०१७, ०१८ र ०१९ मा गरी चार पटक चढेँ । गुरुङ समुदायबाट चार पटक सगरमाथा चढ्नै मै हुँ । धेरै पटक चढेको भनेर गुरुङ समुदायले मलाई सम्मान पनि गर्यो ।
यो सिजनमा हामी १२ जना चिनियाँ पाहुनालाई लिएर १४ जना शेर्पाहरू गएका थियौँ । हाम्रो समूह काइटु एक्सपिडिसनबाट गएका थियौँ ।
सगरमाथा आधार शिविरमा पुगेर केही दिनको आराम पछि २३ तारिखका दिन ६०९१ मिटरको लबुचे पीकको आरोहण गरियो । यो एक प्रकारले वार्मअप पनि हो ।
अनि लगतै २५ तारिखका दिन हामी क्याक्प २ मा भारी पुर्याउन गयौँ । खासमा हामीले मे १८ का दिन सगरमाथा चढ्ने योजना बनाएका थियौ । तर, मौसमले साथ दिएन । त्यसपछि २२ मेका
लागि सगरमाथा चढ्ने योजना बनायौँ । सोही अनुसार १८ तारिखको दिन १२ जना आरोही र १४ जना शेर्पाको टोली आधार शिविरबाट क्याम्प २ को लागि हिड्यौं । १९ तारिखका दिन हामीले क्याम्प २ मै बसेर आराम गर्यौँ ।
२० तारिखका दिन क्याम्प ३ पुग्यौँ । २१ तारिखका दिन क्याम्प ४ पुग्यौँ । क्याम्प ४ मा खाना खाएर २१ कै बेलुका साढे ७ बजेतिर हामी सगरमाथाको चुचुरोतर्फ उक्लियौं । हामी २२ तारिखको बिहान ७ बजे सगरमाथाको शिखर चुम्न सफल भयौँ । हाम्रा १२ आरोहीले बिहान ७ देखि ९ बजेको बिचमा शिखर चुमे ।
यहाँ धेरै चर्चा भइरहेको छ, जामको बारेमा । हो, हामी पनि करिब २ घण्टा जति जाममा पर्यौँ । खासमा हिलारी स्टेपमा दोहोरो हिँड्न मिल्दैन । धेरै मान्छे भएपछि जाने र फर्कनेबीच बाटो नपाउँदा जाम भएको हो । अझ मिलेर एकले अर्कोलाई बाटो छाड्ने हो भने सजिलो हुन्थ्यो । कति जना त जबरजस्ती हुन्छन् । त्यस्तोहरूले गर्दा पनि समस्या हुन्छ । कति ठाउँमा दोहोरो हुँदा एक जना निहुँरिएर अर्कोले उसको ढाडमा टेकेर जानु पर्ने हुन्छ ।
मैले २१ तारिखको बेलाका २ सय ५० भन्दा धेरै मानिस क्याम्प ४ मा देखेको थिएँ । यसो हुनुमा यसअघि मौसम अनुकूल नभएर हो । यतिका धेरै मानिस देखेपछि कतिपय २१ को दिउँसो ४/५ बजेतिरै पनि चुचुरोतिर लागे । उनीहरू राती नै चुचुरामा त पुगे तर फर्केनन् । राति फोटो खिच्न नपाउने भएपछि फर्कने कुरा पनि भएन । उनीहरू बिहानसम्म चुचुरामै बसे ।
हामी साढे ७ बजेतिर उक्लन सुरु गरेका थियौँ । जाँदै गर्दा फर्कँदै गरेको कोही पनि भेटिएन । यसको अर्थ पहिले जानेहरू सबै उतै रहेको भन्ने लाग्यो । पछि भेटेका साथीहरूले पनि शिखरमा पाइला राख्ने ठाउँ नै छैन भन्थे । त्यसरी जानेहरू पनि लामो समय त्यहाँ रोकिनु र दोहोरो बाटो नहुनुका कारण जाम भयो ।

जाम हुँदा हामीले ध्यान दिनु पर्ने कुरा भनेको अक्सिजनमा हो । गाइडले पनि त्यसमा ध्यान पुर्याउनु पर्ने हुन्छ । निश्चित समयका लागि अक्सिजनको व्यवस्था गरिएको हुन्छ । जाममा धेरै समय बस्नु पर्दा अक्सिजनको मात्रा घटाउँदा राम्रो हुन्छ । मैले जानकारी पाए अनुसार एक जना आरोहीले ३ देखि ११ सिलिण्डरसम्म अक्सिजन सकाएका छन् ।
यसमा तयारीको कुरा पनि हुन्छ । काठमाडौँमा सगरमाथाको आरोहण ३० हजार डलरमा गराउने पनि छन्, ६० हजार डलरमा गराउने पनि छन् । यसबाट स्पष्ट हुने कुरा पर्याप्त तयारी र सामाग्रीको कुरा पनि हुन्छ ।
हाम्रै कुरा गर्दा हामीले ९ वटा सिलिन्डर अक्सिजन क्याम्प ४ मा लगेर राखेका थियौँ । जाममा परेपछि हाम्रो क्लाइण्डको पनि अक्सिजन पुगेन । हामीले क्याम्प ४ मा आएर अक्सिजन लिएर गयौँ । कतिको त्यो अवस्था हुँदैन । त्यस्तो अवस्थामा समस्या हुन सक्छ ।
मैले ०११ मा पहिलो पटक चढ्दा र अहिले हेर्दा सगरमाथामा धेरै परिवर्तनहरू आइरहेका छन् । आइस पग्लिएको देखेको छु । माटो र रक देखिन्छ तर त्यसको तल आइस नै छ । यसपालि हिलारी स्टेमा हिउँ बढी भएकोले केही सजिलो चाहिँ भयो । फोहोरको पनि चर्चा हुने गर्छ । क्याम्प ४ मा फोहोर बढी छ । माथि शवहरू पनि छन् । क्याम्प २ भने सफा भएको छ । पहिले क्याम्प २ पनि फोहोर थियो ।
तस्विरहरु : पुरबहादुर गुरुङ/हाइलाइट्स टुरिजम ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…