June 27, 2019

तत्कालीन पर्यटन मन्त्री अधिकारी सवार हेलिकोप्टरको दुर्घटना खराब मौसमका कारण

helicopter crash and tourism minister killed
तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सवार हेलिकप्टर दुर्घट्नाको प्रतिवेदन बुझाइदै । तस्विर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।

काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

दुर्घटना छानबिन समितिले बुधवार पर्यटन राज्य मन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा उक्त कुरा समावेश गरिएको छ।

गत फागुन १५ गते मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी ताप्लेजुङ फर्कने क्रममा उडेको १ मिनेटमै ताप्लेजुङको फुङलिङ नगरपालिका १०, सिस्नेभीरमा दुर्घटना ग्रस्त भएको थियो। उक्त हेलिकेप्टर एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस ३५० बी ३ इ’ थियो ।

पाथीभर मन्दिर दर्शन गरी फर्किने क्रममा मौसम खराबीका कारण दुर्घटना भएको छानबिन समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार खराब मौसम र तौलको गडबडीका कारण हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

छानबिन समितिले घटनास्थलका प्रत्यक्षदर्शी, स्थानीय तथा मन्दिरका पुजारीको बयानका साथै प्राविधिक विश्लेषण गरी निष्कर्षमा पुगिएको छानबिन समितिको भनाइ छ । मौसमबाहेक पाइलटलाई उच्च पदस्थ व्यक्तिहरूबाट कुनै दबाब रहेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री अधिकारीसहित नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले छानबिन समितिले प्रारम्भिक प्रतिवेदन राज्य मन्त्रीलाई बुझाएको जानकारी दिँदै अन्य निकायबाट पनि सुझाव सङ्कलन गरी ६० दिन भित्र पूर्ण प्रतिवेदन सार्वजनिक गरिने बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…