July 11, 2019

राजधानीवासीलाई बर्खामा उपयुक्त सात हाइकिङ रुट

Sundarijal-Nepal
सुन्दरी जल ।

काठमाडौँ । व्यस्त दैनिकीबाट केही समय मुक्त हुने उपायको रूपमा राजधानीवासीले पछिल्लो समय हाइकिङ रोजेका छन् । विशेष गरेर बिदाको दिन तन र मन दुवै पुनर्ताजगीका लागि वरिपरिका डाँडाकाँडा तथा नजिकका गन्तव्यहरूमा हाइकिङ गर्नु फेसनै बनेको छ ।

बर्खाको बेला भने केही अप्ठ्यारो छ । सबै बाटाहरू हिँड्न सजिलो हुँदैनन् । झरीसँगै कतै बाटो चिप्लो हुन्छ । कतै झाडी बन्छ । तर, तपाईँले चिन्ता लिनु पर्दैन, बर्खाका बेला पनि हाइकिङ गर्न सकिने प्रशस्त बाटाहरू उपत्यका वरिपरि छन् । अरूको तुलनामा सजिला छन्, बर्खामा पदयात्राका लागि ।

यहाँ तिनै हाइकिङ रुटहरूका बारेमा चर्चा गरिएको छ ।

बल्थली

Balthali village
बलथली गाउँ ।

हाइकिङ पारखीहरूको रोजाइमा काभ्रेको बल्थली पर्दै आएको छ । समुन्द्री सतहबाट करिब १७ सय मिटर उचाइमा रहेको बल्थली हाइकिङको समय करिब छ घण्टाको हरेको छ ।

तामाङ, नेवार, बाहुन, क्षेत्री र सन्यासीलगायतको बसोबास रहेको बल्थलीमा पुराना शैलीका घरहरू, हरियाली र उर्बरा जमिन रहेको छ । बल्थली डाँडाबाट सगरमाथा, गणेश, नुम्बुर, लाङटाङ आदि हिमालहरू लस्करै देखिन्छन् । बल्थली डाँडामुनि लड्कु खोला छ । त्यस नजिकैको गुफाभित्र लड्केश्वर महादेवको मन्दिर छ ।

बाटो : खोपासी–ख्याकु भन्ज्याङ–कमलामाई मन्दिर–न्यौपाने गाउँ–लड्केश्वर–बल्थली–खोपासी ।

फुलचोकी

Phulchoki in Nepal
फुलचोकी ।

समुन्द्री सतहबाट करिब २८ सय मिटर उचाइमा रहेको फुलै फुलको चोकको उपमा दिइएको फुलचोकी हाइकिङको समय ८ घण्टा हो । काठमाडौँबाट १७ किलोमिटर दुरीमा रहेको फुलचोकीबाट गोदावरी बोटानिकल गार्डेन, हिमशृखला र उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

फुलचोकी जाँदा बाटामा अनेक प्रजातिका सुनाखरी र गुराँस भेटिन्छन् । चराको कलरव र पुतलीको रमिता फुलचोकी यात्राको अर्को विशेषता हो । हिउँदमा एक पटक हिउँले छोपिने डाँडाबाट सगरमाथा, गौरीशङ्कर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्ण हिमशृङ्खलाका साथै काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

बाटो : गोदावरी कुण्ड–लट्ठा भञ्ज्याङ–फुलचोकी–नौ धारा

इन्द्र दह

Dahachowk in Kathmandu
दहचोक ।

काठमाडौँको पश्चिममा पर्ने दह चोक डाँडा समुन्द्री सतहबाट करिब १९ सय मिटर उचाइमा पर्छ । यो हाइकिङको समय लगभग ५ घण्टाको छ । १२ किलोमिटर दुरी रहेको छ ।

इन्द्रले नुहाएको दह इन्द्र दहमा भाद्र शुक्ल पूर्णिमाका दिन विशेष मेला समेत लाग्ने गर्दछ । काठमाडौँको सीतापाइलाबाट भीमढुङ्गाहुँदै पुगिने इन्द्र दह नै दह चोक हो । सामुदायिक वनको बीचबाट जाने यो ट्रेलमा धादिङका केही ठाउँ र काठमाडौँ उपत्यकाको रमणीय दृश्य देखिन्छ । कालु पाँडेको समाधि, शिव मन्दिर, स्विटजरल्यान्ड पार्क आदि इन्द्र दह हाइकिङका आकर्षण हुन् ।

बाटो : नागढुंगा चेकपोस्ट–इन्द्र दह–बलम्बु–पुरानो नैकाप–नयाँ नैकाप

नमोःबुद्ध

namobudha in Nepal
नमो:बुद्ध ।

बौद्धमार्गीहरुको प्रमुख चार धाम मध्येको एक हो नमो बुद्ध । १८ सय मिटर उचाइमा रहेको नमोःबुद्ध हाइकिङको अवधि ६ घण्टाको रहेको छ । दुरी १४ किलोमिटर छ ।

धुलिखेलबाट काभ्रेको प्रसिद्ध धार्मिक स्थल नमोबुद्धसम्म हाइकिङ गर्न सकिन्छ । धुलिखेलको बतासेडाँडाबाट नमोबुद्धहुँदै काभ्रेभञ्ज्याङ्ग निस्कने अर्को रमाइलो ट्रेल पनि छ । पनौतीको धापासीबाट नमोबुद्धसम्मको अर्को ट्रेल छ । नमोबुद्धबाट गौरीशङ्कर, लाङटाङ, दोर्जे लाक्पा, गणेश, मनास्लुलगायतका हिमालको अवलोकन गर्न सकिन्छ ।

बाटो : बतासे–शंखु–नमोःबुद्ध–गहते सामुदायिक वन–कुइकेल गाउँ–फस्कोट–काभ्रेभञ्ज्याङ

दलचोकी

dalchoki
दलचोकी ।

दक्षिण ललितपुरको शिलत गन्तव्यका रूपमा पनि चिनिन्छ, दलचोकीलाई । समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको दलचोकी हाइकिङको अवधि करिब ६ घण्टा छ । यसको दुरी १६ किलोमिटर छ ।

यस पदमार्गमा हिम शृङ्खला र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । दल चौकी पुग्ने अर्को चल्तीको बाटो पनि टीकाभैरवबाट छ ।

बाटो : टीका भैरव–सानो भैंसे–सैनिक ब्यारेक–निरोगी आनन्द धाम–दलचोकी टप–मनकामना मन्दिर–गोठ भन्ज्याङ–वासुकी–शिखर्पा–टीका भैरव

नगरकोट

Nagarkot in Nepal
नगरकोट ।

सूर्योदय, सूर्यास्त र हिमाल हेर्न कहलिएको डाँडाको रूपमा चिनिएको नगरकोट समुन्द्र सतहबाट २१ सय ५९ मिटर उचाइमा रहेको छ । ९ किलोमिटर दुरी रहेको यो हाइकिङ ३ घण्टामा पुरा हुन्छ ।

नगरकोट क्षेत्रमा हाइकिङको मज्जा लिन साँखु, सुन्दरी जल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट यात्रा गर्न सकिन्छ । यो हाइकिङ रुटबाट सगरमाथा, मनास्लु, गणेश, लाङटाङलगायतका हिमाली शृङ्खला देखिन्छन् । नगरकोट हाइकिङको लागि चाँगुनारायण–तेल कोट ट्रेल सबभन्दा चल्तीमा छ । यो ट्रेलबाट लिच्छवी राजा हरिदत्त बर्माले बनाएको प्रसिद्ध चाँगुनारायण मन्दिरबाट गाउँघर र खेतीपाती हेर्दै नगरकोट पुगिन्छ । एक रात नगरकोटमा बिताउन चाहनेहरूका लागि त यो ट्रेल झनै उपयुक्त छ ।

बाटो : तेल कोट–जाल्पादेवी–डाँडा टोल–पीपलबोट–गडगडे–नगरकोट बजार–नगरकोट टावर

सुन्दरी जल

Sundarijal-Nepal
सुन्दरी जल ।

दूधजस्ता सेता झरनाका नामले चिनिएको सुन्दरी जल काठमाडौँबाट उत्तरमा १५ किलोमिटर दुरीमा छ । उक्त स्थानमा गरिने हाकिङ अवधि करिब ६ घण्टाको हो ।

सुन्दरीजलबाट मूल खर्क हुँदै ओख्रेनी जाने र चाँगुनारायणबाट सुन्दरी जल आउने चल्तीको हाइकिङ रुट पनि छ । सुन्दरीजलबाट शिवपुरी या नगरकोट हाइकिङ पनि गर्न सकिन्छ । मूलखर्कबाट सिन्धुपाल्चोकको चिसापानी हुँदै झुले जाने अर्को हाइकिङ ट्रेल पनि छ । त्यसका लागि एक रात चिसापानीमा बस्नुपर्छ ।

सुन्दरी जल वनभोज र घुमघामको लागि पनि प्रसिद्ध छ । त्यहाँ थुप्रै होटेल र रेष्टुँरा पनि छन् । वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न वा पानीमा खेल्न पाइन्छ ।

बाटो : सुन्दरी जल बसपार्क–मूल खर्क–पिकनिक स्पट (सैनिक पोस्ट)–मेलम्ची सुरुङ गेट

– यो आलेख रामदेवी महर्जनको “हाइकिङ काठमाडौँ” पुस्तकमा आधारित छ । बर्खाका बेला पदयात्रा गर्न सकिने मार्गहरू महर्जनले छानेकी हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…