आहा तिम्बुङ पोखरी
- आनन्द गौतम
ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा पर्ने तिम्वुङ पोखरी केही वर्षयता धार्मिक तथा प्रकृति मन पराउने पर्यटकका लागि गन्तव्य स्थल बन्न थालेको छ । भारतको सीमावर्ती क्षेत्रमा पर्ने भएकोले यहाँ भारतीय पर्यटकको पनि चाप बढ्दै गएको छ ।
यसको अर्को विशेषता के हो भने यहाँ हिउँदमा भन्दा पनि बर्खामा जान सहज छ । यहाँ बर्खाकै बेला नागपञ्चीको अवसर पारेर विशेष मेला लाग्छ । त्यसैले बर्खाकै बेला यहाँ नेपाल र भारत दुवै तर्फबाट उल्लेख्य तिर्थयात्रीहरु पुग्छन् । यस ठाउँमा पुग्नका लागि यातायातको सुविधा नभएकोले बर्खाको बेला प्लास्टिक, छाता लिएर सामल बकेर हिँड्दै जाँदा पुराना जमानामा तिर्थ गएको सम्झना हुन्छ । अहिले धेरै तिर्थस्थलमा यातायातको सुविधा छ भने गोरखाको मनकामना र काठमाडौँको चन्द्रागिरिमा केवल कार नै छ ।
यसको नामकरणसँग विशेषता जोडिएको छ । लिम्बू भाषाको तिम्बकबाट अपभ्रंश भएर तिम्बुङ नाम रहन पुगेको यो पोखरी विशाल छ । तिम्बकको अर्थ ‘बन्दुक पड्केको’ भन्ने हुन्छ । पोखरीभित्र बेला–बेला बन्दुक पड्केजस्तो आवाज आउने गरेकाले नै यस पोखरीको नाम तिम्बुङ रहन पुगेको बताइन्छ । अहिले पनि बेला बेला पोखरीमा आवाज आउने आसपासमा गोठ राख्नेहरू बताउँछन् ।
बन्दुक पड्केको वेला पानीको सतह एकातिर सोहोरिने गरेको सुरुमखिमका डम्बर बहादुर राईले बताए । ४ सय ६६ मिटर लम्बाइ र १ सय ५४ मिटर चौडाइको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि १ किलोमिटर भित्र नेपालतर्फ रहेको छ ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा पोखरीबाट नजिकै देखिन्छ । पोखरीको भ्रमणमा वा तिर्थमा जानेहरू हिमालको दृश्यावलोकन गरेर आनन्द लिन्छन् । वर्षको छ महिना हिउँले ढाक्ने भएकाले हिउँदयाममा यहाँ जान सकिँदैन ।
यहाँ कहिलेदेखि पूजा आराधना गर्न थालियो थाहा छैन । पोखरीमा पूजा र भाकल पूरा गर्दा मनोकांक्षा पूरा हुनुका साथै सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास छ ।
साउन–भदौमा पर्ने नाग पञ्चमी र जनपूर्णिमामा विशेष पूजा तथा दर्शन गरिन्छ । त्यही बेला बाटोमा चौँरी तथा भेडाका गोठ पनि लगेर राखिन्छ । पोखरीलाई भक्तजनले अदम्य र अद्भुत एवं पवित्रताको स्रोतका रूपमा लिन्छन् । यहाँ कुनै जात, धर्म तथा लिङ्गको भेदभाव छैन । तर, मनमा पाप, लोभ, ईर्ष्या, द्वेष तथा हिंसा गर्ने मनसाय बोकेको मान्छे गए उनीहरूकालागि शुभ नहुने र त्यस क्षेत्रमै ठुलो विपत्ति आइलाग्ने जनविश्वास छ । भु पु सैनिकसमेत रहेका डम्बर राई त्यस्ता मानिसहरू आएको बेला पोखरी कुहिरोले ढाक्ने र बन्दुक पड्केको आवाज आउने बताउँछन् ।
पोखरी भित्र सुनौलो रङ्गको बस्तु रहेको बताइन्छ । त्यही सुनको आकृति निकाल्न खोज्दा धेरैअघि पाँच जना बेलायतीसहितका उनीहरूको भरियाहरूको मृत्यु भएको विश्वास गरिन्छ । तिम्वुङ पोखरी छेउमा रहेको डाँडामा उनीहरूको चिहान रहेकाले पनि यो भनाइको पुष्टि गर्ने कालिखोलाका लक्ष्मण बानियाँ बताउँछन् ।
बानियाँका अनुसार पोखरीको पश्चिम पट्टिको निकास पनि तिनै बेलायतीहरूले खोतल्ने क्रममा बनेको अनुमान गरिन्छ । यहाँबाट पोखरीको पानी बाहिरिने गरेको छ । त्यही समयदेखि स्थानीयले पोखरीलाई शक्तिको प्रतीकको रूपमा लिन थालेको हुन सक्छ । पानी सफा भएको वेला पोखरीमा सुनको गोरुको आकृति देखिने स्थानीयहरू बताउँछन् । पोखरीको फोहोर मैला चराले सफा गर्ने गर्दछ । नजिकमा वरिपरि रुखका बोट नभएकाले पनि पातपतिंगर झरेर फोहोर कमै हुन्छ । कञ्चन र सफा पानी पोखरीको मुख्य विशेषता हो ।
पछिल्लो समय विभिन्न जातजाति तथा धर्मावलम्बीले पोखरीको वरिपरि आफ्नो धार्मिक आस्था अनुसार विभिन्न बस्तुहरू राख्न थालेका छन् । कसैले शिवको शिला राखेका छन् भने किराँतले माङहिम बनाउन थालेका छन् । बौद्ध धर्मावलम्बीले ध्वजापतकाहरु टाँगेका छन् ।
तिम्वुङ पोखरी जाने बाटो
तिम्वुङ पोखरी जाने बाटो धेरै छन् । तराईबाट आउनेले मेची राजमार्गको प्रयोग गर्नुपर्छ । बिर्तामोड–चार आली–इलाम–पाँचथर हुँदै फिदिमको गणेश चोक पुगेपछि पूर्वतर्फ लाग्नुपर्छ । थर्पु हुँदै च्याङथापु पुगेपछि ताप्लेजुङ तरेर सिदिङवा गाउँपालिकाको वासुदेव, कालिखोला, इवानागीबाट तिम्बुङ पोखरी पुगिन्छ ।
ताप्लेजुङबाट भने सिरिजंघा गाउँपालिकाको खेवाङवाट सिदिङवाको सुरुमखिम तरेर तावानागी, सिवानागी हुँदै पुग्न सकिन्छ । भारततर्फबाट पनि भारतीय पर्यटक सिधै आउने गरेका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङवाट सुकेटार विमानस्थल हुँदै तेल्लोक, सुरुमखिम हुँदै पोखरी पुगिन्छ । फुङलिङवाट सिंकैचासम्म गाडी जान्छ । पाँचथर गणेश चोक हुँदै मध्य पहाडी राजमार्ग प्रयोग हुन्छ ।
मोटर बाटो छोडेर पैदल यात्रा सुरु गरेपछि चार दिनमा मोटर बाटोको पहुँचमा पुगिने भएकाले यो नजिकको गन्तव्य पनि हो । सामान्यतया सबैभन्दा धेरैले यात्रा गर्ने पाँचथर च्याङथापुबाट चारदिनमा तिम्वुङपोखरी पुगेर पुनः च्याङथापु सहजै आइपुगिन्छ । यहाँबाट झापाको बिर्तामोड एक दिनमा गाडीमा पुगिन्छ । पहाडे चट्टानको बिचमा रहेको पोखरी अवलोकनका लागि बर्सेनि हजारौँ दर्शक आए पनि संख्याभने अहिलेसम्म यकिन छैन । नत कसैले तथ्याङ्क नै राखेका छन् ।
जैविक विविधताको खानी
यो जैविक विधिताले भरिएको क्षेत्र हो । पटक/पटक गएका जिल्ला हुलाक कार्यालय ताप्लेजुङका प्रमुख डिल्ली पौडेलका अनुसार आँखाले भ्याएसम्म रमिता छ । गोठमा बस्दै जाने भएकाले गोठको जीवन र जनजीविकाको बारेमा साक्षात्कार गर्न पाइन्छ । मौसमको लुकामारीमा भुल्न र खेल्न पाइने भएकाले हिडुञ्जेल रमाइलो अनुभूति हुने उनी बताउँछन् ।
ताप्लेजुङ, आँखा उपचार केन्द्रका इन्चार्ज काजी गुरुङ यो क्षेत्रमा पुगेपछि आफू तनाव मुक्त हुने बताउँछन् । नयाँ–नयाँ कुरा सिक्न पाइने पनि बताउँछन् । बिख, कुट्की, पदमचाल, जटामसी, पाँचऔंले, यार्सागुम्बा जस्ता बहुमूल्य जडीबुटी यो क्षेत्रमा पाइन्छ । सुनपाती, भैरुङपाती, सिक्पाले जस्ता सुगन्धित बास्नादार धूपको पनि खानी नै हो । लरेवा, चिलिमे डाँफे, मुनाल, झारल, घोरल, भालु, हिउँ चितुवा, कस्तुरी, मृग, रेडपान्डा, नाउर जस्ता वन्यजन्तु देख्न पाइन्छन् ।
तिम्वुङ पोखरी पुग्दासम्म यहाँ अन्य पोखरी नै पोखरी रहेका छन् भने ठाडा खोला, छङछङ बग्ने साना ठुला झरना पनि बाटोमा छन् । ढङ्ढङे झरना यहाँको पहिचानको रूपमा रहेको छ । विश्व प्रसिद्ध वनस्पति विज्ञ जेडी हु कर डग्लस फ्रेसफिल्डलगायत विभिन्न क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता पनि यहाँ पुगेको सुरुमखिम घर भएका पूर्व मन्त्री मणि लामा बताउँछन् । धार्मिक आस्था मात्र नभएर प्राकृतिक सौन्दर्यता तथा वन्यजन्तु र जडीबुटीहरूको अध्ययन गर्नेहरूका लागि तिम्बुङ पोखरी सङ्ग्रहालयकै रूपमा रहेको छ ।
भेडा र चौँरीका गोठ नै लज
तिम्बुङ पोखरी जानेका लागि अर्को मज्जा भनेको चौँरी र भेडाका गोठमा सुत्नु हो । सहरमा जस्तो एक्लै सुत्ने वा बास्नादार होटेलमा सुत्न पाइँदैन किनकि यो क्षेत्रको पैदल मार्गमा कुनै पनि ठाउँमा होटेल र लज छैनन् । नजिकमा मानव बस्ती नभएकाले होमिस्टेहरु पनि छैनन् । चौँरी र भेडाका गोठ नै होटेल र लज हुन् । गोठधनीले संयुत्तरुपमा वारपार जिउमा जिउ जोडाएर सुत्ने प्रबन्ध मिलाउँछन् । आफैँले चामल, दाल, तरकारी बोकेको भए आफैँ पकाएर खान सकिन्छ । अन्यथा गोठमा किनेर खानु पर्छ । तर महँगो भने पर्दैन । दही, मोहीसमेतको खाना २ सय ५० रुपैंयासम्ममा पाइन्छ । सुतेको जनही एक सय रुपैयाँ तिरे पुग्छ ।
सय गन्तव्य भित्र
यो क्षेत्रको प्रचार प्रसारमा सुरुमखिम घर भएका तत्कालीन जिल्ला विकास समितिका सदस्य डिबि राई, ओमप्रकाश राईलगायतको भूमिका देखिन्छ । अहिले गाउँपालिकाहरू पनि यसमा लागेका छन् । पर्यटन मन्त्रालयले यसलाई नेपालका सय गन्तव्य स्थलमा समेटेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यो क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धनका लागि सिदिङवा गाउँपालिकाले गत वर्ष तिम्वुङ पोखरी महोत्सव गरेको थियो । पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले भदौ २२ देखि २४ सम्म महोत्सव आयोजना गरिएको थियो । महोत्सवले पशुजन्य उत्पादन जडीबुटी तथा त्यस क्षेत्रमा रहेको ताल–पोखरी र त्यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर्याएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया बताउँछन् । पाँचथर सदरमुकाम फिदिमबाट १८ कोष सुदूर उत्तरमा रहेको यसलाई पाँचथरको याभ्वरक गाउँपालिकाले पनि पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न चासो देखाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…