July 12, 2019

सात बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, वर्षाले ८ जिल्लाका विमानस्थलमा पनि अवरोध

Tribhuvan Inthernational airportकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज शुक्रवार बिहान ११ बजेर ५ मिनेट जाँदा चिप्लिएपछि बन्द भएको विमानस्थल दिनभर खुल्न सकेको छैन।

अकास्मिक रूपमा विमानस्थल बन्द भएपछि सात बजेका सम्मका लागि नोटाम अध्यावधिक गरिएको विमानस्थल कार्यालयले जनाएको छ । योसहित एकै दिन पाँचौ पटक नोटाम अध्यावधिक गरिएको हो ।

छिटै धावनमार्गबाट विमान हटाउन सकिन्छ कि भनेर छोटो समयका लागि नोटाम जारी गरिएपनि वर्षाका कारण विमान निकाल्न कठिनाइ हुँदा धेरै समय लागेको विमानस्थल कार्यालयले जनाएको छ ।

पहिलो चरणमा विमान चिप्लिएपछि १२ बजेसम्मका लागि नोटाम जारी गरिएको थियो । उक्त समयमा धानवमार्गबाट विमान हटाउन नसकेपछि पुन: २ बजेसम्मका लागि अर्को नोटाम जारी गरियो । दुई बजेपनि विमान निकाल्न नसकेपछि पुनः ३ बजेसम्मका लागि नोटाम जारी गरिएकोमा ३ बजेपछि ५ बजेसम्मका  पनि विमान निकाल्न नसकिएपछि ७ बजेसम्म लम्ब्याइएको विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार चिप्लिएर घाँसेमैदानमा पुगेको विमान क्षति नपुग्ने गरी निकाल्ने प्रयास भइरहेको छ ।

जहाज निकाल्न नेपाली सेना, नेपाल प्रहरी, नेपाल एयरलाइन्सका इन्जिनियर, यति एयरलाइन्सका कर्मचारीहरू लागि परेका छन् ।

विमानस्थल आकस्मिक बन्द हुँदा हालसम्म ९ वटा अन्तर्राष्ट्रिय उडान डाईभट गरिएको छ । काठमाडौँबाट उडान गर्ने तयारीमा रहेका १० बटा उडान रोकिएका छन् ।

वर्षाले उडान प्रभावित

लगातार भएको वर्षाका कारण पहाडी र तराईका गरी ८ जिल्लाका विमानस्थल अवरुद्ध भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार पहाडी जिल्लाका लुक्ला, भोजपुर, तुम्लिङटार, फाप्लु, लामिडाँडा को उडान प्रभावित भएको छ । त्यस्तै तराईका भद्रपुर, चन्द्रगणी र जनकपुर विमानस्थलको उडान समेत अवरुद्ध भएको छ ।

बिहान केही समयका लागि उडान तथा अवतरण बन्द भएको विराटनगर विमानस्थल भने सञ्चालनमा आएको छ । हाल पोखरा, भैरहवा, नेपालगन्ज र सिमरा विमानस्थल भने सञ्चालनमा रहेका छन्।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…