July 29, 2019

आउनुस्, डल्फीन नाचेको हेरम्

गणेश चौधरी

 

Watching Dolphin in Kailali
कैलालीको कन्द्रा पथरैया र मोहना नदीको दोभानमा डल्फीन अवलोकन गर्दै ।

टीकापुर । कैलालीका नदीमा नजिकैबाट डल्फीन हेर्ने सिजन सुरु भएको छ । मोहना , कन्द्रा, पथरैया र काढा नदीमा पनि आजभोलि डल्फीन हेर्न पाइन्छ । असोजको दोस्रो सातासम्म यी नदीमा डल्फीन हेर्न सकिने स्थानीय बताउँछन् ।

यद्यपि प्राकृतिक खोलानालामा नजिकैबाट दुरीबाट दुर्लभ डल्फीन उफ्रेको हेर्ने मौका विरलै पाइन्छ ।

करिब ३० वर्ष पहिले यो स्तनधारी जन्तु नेपालका कर्णाली, कोसी, गण्डकी र महाकालीमा देखिएपनि हाल कर्णालीको चिसापानीदेखि कोठियासम्म र वर्षा याममा कैलालीको मोहना, कन्द्रा, पथरैया र काढा नदीमा पनि देख्न पाइन्छ । कैलालीको टीकापुरबाट यो क्षेत्र करिब १२ किलोमिटर दुरीमा छ ।

Watching Dolphin in Kailali
कैलालीको मोहना नदीमा डल्फिन । तस्बिर : भोजराज ढु‌गानाको फेसबुक वालबाट लिइएको हो ।

कर्णाली, मोहना र कनरा नदीको सङ्गम स्थल डल्फीन देखिने मुख्य केन्द्र हो । यो टीकापुर नगरपालिका र भजनी नगरपालिकाको सिमानामा पर्दछ । केही वर्षदेखि यो क्षेत्रमा डल्फीनका बथान देखिंदै आएका छन् । सुरु सुरुमा स्थानीयले शिक्षा र जनचेतनाका कारण डल्फीनलाई विकासे माछा भन्दै मार्ने गरेता पनि पछिल्लो चरणमा स्थानीय यसको संरक्षणमा जुटेका छन् ।

डल्फीन देखिने मुख्य केन्द्र विन्दुबाट करिब २५ किलोमिटरको दुरीमा भारतको घाघरा नदी आउँछ , यहीबाट नेपालका नदीमा बर्खा याममा पानी बढेपछि डल्फीन प्रवेश गर्ने अनुमान स्थानीयको छ । बर्खा याममा यहाँका नदीमा पानीको सतह बढ्ने हुँदा असारदेखि कात्तिकसम्म यी नदीमा डल्फीनको अस्थायी बास रहने नारायणपुर गाविस–९ ढुङ्गाना टोलका भोजराज ढुङ्गाना बताउँछन् । पानी घटेपछि डल्फीन पुन फर्कने गरेका छन् ।

Watching Dolphin in Kailali
कैलालीको कन्द्रा पथरैया र मोहना नदीको दोभानमा डल्फीन अवलोकन गर्दै स्थानीय ।

विश्वका अत्यन्त कम देशमा डल्फीन पाइने गरेको छ । नेपालको कर्णाली, कोसी तथा तिनका सहायक नदी र भारतको गङ्गा, पाकिस्तानको सिन्ध, चीनको याङ्सी, ब्राजिलको अमेजन नदीमा डल्फीन पाइने उल्लेख छ । नेपालका नदीहरूमा करिब ३० देखि ४० डल्फीन मात्र रहेको विज्ञहरूले उल्लेख गरेता पनि कैलालीमा डल्फीन देखिने मुख्य केन्द्र क्षेत्रमा मात्र करिब ३० भन्दा बढी डल्फीन देखिएको संरक्षणकर्मी भोजराज श्रेष्ठको दाबी छ । ९ फिट लामो र १ सय ८० किलो तौलसम्मका डल्फीन यो क्षेत्रमा विचरण गर्ने श्रेष्ठ बताउँछन् ।

नदी किनार या डुङ्गामा चढेर पनि डल्फिनको अवलोकन गर्न सकिने स्थानीय भीम विश्वकर्मा बताउँछन् । ‘पहिले वास्ता हुँदैनथ्यो डल्फीन छ भन्ने थाहा पाएपछि डल्फीन उफ्रेको हेर्दै आएका छौँ’उनी भन्छन् । डल्फीन भएको प्रचार प्रसार भएपछि स्वदेशी तथा विदेशी पर्यटक डल्फीन हेर्न आउन थालेका उनले बताए । डल्फीनको संरक्षण र प्रचार प्रसारले निरन्तरता पाए दुर्लभ डल्फीनको पनि संरक्षण हुने र पर्यटक बढेपछि स्थानीयको आयआर्जन पनि हुने विक बताउँछन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…