August 25, 2019

पर्यटन प्रवर्द्धनका लागि भुजुङमा पर्यटन महोत्सव हुँदै

Tourist village Bhujung
भुजुङ गाउँ । तस्बिर : फेसबुकको भुजुङ प्रोफाइलबाट ।

काठमाडौँ । ठुलो गुरुङ गाउँको रूपमा चिनिएको लमजुङको पर्यकटीय गाउँ भुजुङमा महोत्सवको तयारी गरिएको छ । होमस्टे सञ्चालनमा रहेको भुजुङलाई विश्वभर चिनाउने र गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको तयारी थालिएको हो ।

बिहीबार लमजुङ बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गाउँमा आगामी असोज १३, १४ र १५ गते महोत्सव आयोजना गर्न लागिएको जानकारी गराइयो ।

महोत्सव मूल आयोजक समितिका अनुसार महोत्सवमार्फत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा भुजुङ गाउँको प्रचार प्रसार गरी होमस्टेको प्रवर्द्धन गरिने, गुरुङ संस्कार, कला संस्कृति र परम्परालाई संरक्षण एवं संवर्द्धन गरिने, आर्थिक सङ्कलन गरी भुजुङ गाउँमा पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार विकास गर्ने उद्देश्य रहेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तुलबहादुर गुरुङका अनुसार ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवको पहिलो दिन असोज १३ गते उद्घाटन तथा सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय हस्तकलाका सामाग्रीहरू प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित कृषि प्रदर्शनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुति रहनेछ ।

दोस्रो दिन असोज १४ गते ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको दोहोरी तथा लोक गीत प्रस्तुति, सांस्कृतिक कार्यक्रम प्रस्तुति रहनेछ ।

त्यस्तै महोत्सवको तेस्रो अर्थात् अन्तिम दिन असोज १५ गते अतिथिहरूलाई सम्मान गर्दै मायाको चिनो प्रदान गर्दै कार्यक्रमको समापन गरिने जनाइएको छ ।

क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष खिमबहादुर गुरुङका अनुसार महोत्सवले भुजुङको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने आशा लिइएको छ । महोत्सवले भुजुङ गाउँको पर्यटन विकासमा टेवा पुग्नेभन्दै उनले महोत्सव पछि गाउँको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार भई पर्यटन आगमनमा वृद्धि हुने समेत बताए ।

भुजुङ गाउँ समुद्री सतहबाट १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित छ । उक्त गाउँमा ९० प्रतिशत गुरुङ र बाँकी दलितहरूको बसोबास रहेको छ ।

गाउँमा गुरुङहरूको कला संस्कृति एवं परम्परागत रीतिरिवाजहरूको संरक्षण र संवर्द्धन गर्ने कार्यमा सम्पूर्ण गाउँलेहरू एक जुट भई लागि परेका छन् । गुरुङहरूको बाहुल्यता रहेको अति नै घना बस्ती भएको भुजुङ गाउँ नेपालकै ठुलो गुरुङ गाउँहरू मध्ये एक मानिन्छ ।

यहाँका घरहरू एकै ठाउँमा गुचुमुचु भएर एकै स्थानमा बस्ती विकास गरिएको छ । जुन यहाँको थप विशेषता हो । भौगोलिक एवं प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मानिने यस गाउँको आफ्नै परम्परा र मौलिक विशेषता रहेको छ । यस गाउँलाई गुरुङ भाषामा “फ्वोचों नासा” भनिन्छ ।

भुजुङको पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङ, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैरसकारी निकायले सहयोग गरिरहेको छ ।
२०६४ सालमा प्रथम भुजुङ महोत्सवको आयोजना गरी १६ घरबाट होमस्टे सुरु भएकोमा हाल २२ घरमा होमस्टे सञ्चालन गरिँदै आएको छ । भुजुङमा आगामी ५ वर्षभित्र ५० घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्य लिइएको छ । होमस्टे सँगै भुजुङका स्थानीयहरू चिया खेती विस्तारमा समेत लागेका छन् ।

करिब डेढ दशकअघि १० रोपनी क्षेत्रफलमा सुरु गरिएको चिया खेती फैलिएर हाल २ सय ५० रोपनीमा फैलिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चिया खेती थालेका हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…