टिमुरे क्षेत्रमा पर्यटकको आवतजावत बढ्यो, अधिकांश होटल व्यवसायतिर
- ज्ञानेन्द्र न्यौपाने
रसुवा । नेपाल–चीनबीचको उत्तरी नाका सञ्चालनमा आएपछि व्यापार व्यवसायका साथै टिमुरे क्षेत्रमा पर्यटकको ओहोरदोहोर पनि बढेको छ ।
आफ्नो पुर्ख्यौली घर छेउकै अधिकांश पैतृक जमीन नाकाको संरचना बनाउँदा अधिग्रहण भई कृषि उत्पादनमा कमी आए पनि पर्यटकको आवत जावतले टिमुरे तथा रसुवागढी क्षेत्रको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । अधिकांश टिमुरेवासी होटल लज सञ्चालन भइ जीविकोपर्जन गर्न थालेका छन् ।
दैनिक सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर तथा व्यापारी व्यवसायी एवं आन्तरिक तथा बाह्य पर्यटकसमेतको आगमन भइरहेको स्थानीयले बताएका छन् । आन्तरिक पर्यटक कति आए भन्ने अभिलेख नभए पनि अध्यागमन कार्यालयले दिएको विवरणबाट सन २०१८ देखि सन् २०१९ को चालु अवधिमा रसुवागढी नाकाबाट चिनियाँबाहेक अन्य देशका २२ हजारभन्दा बढी पर्यटक रसुवागढी नाकाबाट नेपाल र चीन ओहोरदोहोर गरेका छन् ।
निःशुल्क प्रवेशाज्ञामा नेपाल घुम्न आउने चिनियाँ पर्यटक भने दिनप्रतिदिन बढ्दै गएको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ । रसुवागढी नाकाबाट भित्रने चिनियाँ पर्यटक काठमाडौं, पोखरालगायत क्षेत्रमा घुमफिर गरी फर्कने गरेका छन् ।
समुद्री सतहदेखि करीब चार हजार ८०० मिटर उचाइमा चिनियाँ भूभागमा अवस्थित मानसरोवर यात्रामा विशेष गरी भारतीय यात्रु बढी मात्रामा रसुवागढी नाकाबाट तीर्थ जाने गरेका छन् ।
हिमपातका कारण प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म मात्र तीर्थ जाने मुख्य समय हो । मानसरोवर जानका लागि नेपालबाट रसुवा र हुम्लाको हिल्सा दुई मार्ग छन् । काठमाडौंबाट हिल्सातर्फ पूरै हवाईमार्ग र रसुवाबाट जाँदा मानसरोवरसम्म नै बसबाट जान सकिने भएकाले बढी मात्रामा भारतीय तीर्थयात्रुले रसुवागढी नाका प्रयोग गरी तीर्थ जाने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
अन्तरराष्ट्रिय नाकाका रूपमा रसुवाले मान्यता पाएपछि पर्यटकको आगमन हुन थालेको र पर्यटकको सुविधाका लागि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रदान हुँदै आएको अध्यागमन प्रमुख विष्णु घर्तीले जानकारी दिए ।
पुर्खाले तिब्बतसँग युद्ध गरी विजय प्राप्त गरेको रसुवागढी किल्ला पुग्न भौगोलिक विकटता थियो । सडक सञ्जाल जोडिएसँगै १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका साथै उत्तरी नाका सञ्चालन र व्यापार व्यवसायसमेत सोही नाकाबाट अभिवृद्धि हुँदा यहाँको जीवनस्तरमा सुधार भएको बताउँदै टिमुरे घट्टेखोलाका समाजसेवी सुनावाङ्दी तामाङले सरकारबाट गरिनुपर्ने पूर्वाधार विकासका कार्य पनि क्रमशः अगाडि बढिरहेको जानकारी दिए । तामाङका अनुसार पाँच / छ वर्ष पहिले १६ किमी दक्षिण स्याफ्रुबेंसी आएर बस चढ्नुपर्थ्यो । अहिले प्राइभेट जिपका साथै काठमाडौँदेखि टिमुरेका लागि सीधा बस सेवासमेत सञ्चालन हुँदै आएको छ ।
विसं २०७२ को भूकम्पले क्षति बनाएको ऐतिहासिकगढी पुनःनिर्माण भइसकेको, रसुवा भन्सारको एकीकृत भवन निर्माण शुरू भइसकेको तथा सुख्खा बन्दरगाह र सडक विस्तारको प्रक्रिया अगाडि बढिरहेकाले रसुवागढी नाकाको भविष्य सुन्दर बन्दै गएको स्थानीयवासीले बताएका छन् ।
– रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…