भ्रमण वर्षको अवसरमा ट्रेकिङ एजेन्सिजहरुले १५ प्रतिशत छुट दिने
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना सदस्य संस्थाहरुलाई नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आफ्ना सदस्य संस्थाहरुलाई १५ प्रतिशत छुटको लागि अनुरोध गर्ने भएको छ ।
टानका अध्यक्ष खुम सुवेदीले हाइलाइट्स टुरिजमसँगको कुराकानीमा भ्रमण वर्षका अवसरमा ट्रेकिङ एजेन्सीहरुले पनि आफ्नो तर्फबाट छुट दिएर विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउन लागिएको बताए ।
‘भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि टानले आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन’ सुवेदीले भने, ‘भ्रमण वर्षलाई सहयोग गर्न कै लागि हामीले छुट दिन लागेका हौं ।’
यसअघि होटल संघ, नेपाल र होमस्टे संघले छुटको घोषणा गरिसकेको छ ।
होटल संघले संस्थाका आबद्ध सबै सदस्य होटलहरुले रुम चार्जमा ३० प्रतिशत र अन्यमा १५ प्रतिशत छुट दिने उल्लेख गरेको छ भने होमस्टे संघले २० प्रतिशत छुटको घोषणा गरेको छ ।
‘होटल र होमस्टेमा जस्तो सजिलो अलि छैन, हाम्रोमा शुल्कको अलि भेरिएसन छ’ अध्यक्ष सुवेदीले भने, ‘यद्यपी वेबसाइटमा देखाइएको शुल्कमा १५ प्रतिशत छुट दिनका लागि सबै सदस्य एजेन्सीहरुलाई अनुरोध गर्दैछौं ।’
साथै व्यवसायीहरुलाई आफ्नो तर्फबाट आठ लाख पर्यटक भित्र्याउने गरी अभियानमा जुट्न पनि आह्वान गरिने उनले बताए ।
उनले भ्रमण वर्षको अवसरमा सरकारले पनि विदेशी पर्यटकका लागि केही न केही सुविधाको घोषणा गर्नुपर्ने सुझाए । ‘२०२० मै पर्यटक नेपाल किन आउने? केही न केही त सरकारको तर्फबाट पनि आउनु पर्यो नी’ उनले भने, ‘भिषा शुल्क घटाउन वा कही कतैको पर्मिट फि हटाउन वा अरु केही त्यस्ता सुविधा दिन सकिन्छ । हामीले सरकारलाई भनिरहेका छौं ।’
सरकारको तर्फबाट भने हालसम्म त्यस्तो कुनै छुट वा सुविधाको घोषणा भएको छैन । केही समयअघि भिषा शुल्क बढाइएको थियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…