November 11, 2019

यस कारण पर्यटन समृद्धिको आधार

  • निमा लामा

प्रदेश नं. ३ राजधानीबाट नजिकै छ । सङ्घीय राजधानीसमेत यही प्रदेशमा रहेकोले यो प्रदेशले अरूलाई पनि उदाहरण बनेर देखाउनु पर्ने स्थिति छ । यसका लागि पर्यटक आकर्षित गर्न नयाँ गन्तव्य पहिल्याउनु र भएकालाई प्रवर्द्धन गर्नु आवश्यक छ ।

यद्यपि प्रदेश सभाको सदस्यको रूपमा मेरो काम नीति नियम बनाउने हो र त्यही बाटोमा छु । प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सदस्य पनि भएको नाताले पर्यटन सम्बन्धी राम्रो नीति बनाउन पहल गर्नु मेरो काम हो । अहिले पर्यटनको विकास, वैदेशिक लगानी भित्र्याउनु पर्ने र व्यवसायीलाई ढुक्कले लगानी गर्ने वातावरण बनाउनु पर्ने भएको छ ।

पर्यटन समृद्धिको आधार

हजारौँलाई रोजगारी दिन सक्ने ठुला उद्योग खोल्न सके राम्रो । तर, त्यो सम्भावना धेरै कम छ । छिमेकका विशाल मुलुकहरूसँग औद्योगिक उत्पादनको प्रतिस्पर्धा गर्न सक्ने अवस्था तत्काल छैन । तर, पर्यटनको कुरा अलि फरक छ । हरेक स्थानका आफ्नै विशेषता हुन्छन् । हामीसँग प्रकृतिले दिएको उपहार छ । पर्यटन क्षेत्र अलि सजिलो पनि छ । पर्यटकीय गन्तव्यहरू प्रकृतिले नै तयारी हालतमा राखिदिएका छन् । राज्यले ठुलो पूर्वाधार बनाउनु पर्दैन । साथै अरूसँग प्रतिस्पर्धा गरिरहनु पनि पर्दैन । प्रकृतिले हामीलाई जे दिएको छ, त्यसैलाई अलि राम्रोसँग व्यवस्थित गर्न सके हुन्छ ।

त्यसैले मेरो विचारमा समृद्धिको आधार पर्यटन नै हो । पर्यटनमा प्रचुर सम्भावना देख्छु । त्यसैले भ्रमण वर्षलाई पनि अलि प्राथमिकतामा राखेर अघि बढ्दा राम्रो हुन्छ । अहिले बाह्य मात्र होइन, आन्तरिक पर्यटनको पनि उत्तिकै सम्भावना छ । नेपालीहरूमा पनि घुमफिर गर्ने चलन बढ्दै गएको छ । पर्यटनको विकासबाट बिदेसिइरहेका नेपाली युवालाई रोजगारी दिएर मुलुकभित्रै अडिने वातावरण निर्माण गर्न सकिन्छ ।

नयाँ गन्तव्यको खोजी

अहिले आवश्यकता पर्यटनमा नयाँ ‘प्रडक्ट’ निर्माण गर्नु पनि हो । तर, त्यसो भन्दैमा पुरानो छाड्ने भन्ने चाही होइन । नयाँ कुरा गर्दा पर्यटनलाई विस्तारित कसरी गर्ने भन्ने कुरा हुन्छ । सुरुमा हामीले गोरो छाला भएकालाई मात्र पर्यटक मान्थ्यौँ । अहिले पर्यटनमा विविधता आएको छ । नेपाल घुम्ने सबैभन्दा धेरै पर्यटक भारतीय र चिनियाँ छन् । अझ नेपालीहरू आन्तरिक पर्यटकको रूपमा विभिन्न क्षेत्र पुग्न थालेपछि यसले पर्यटनमा झनै विविधता ल्याएको छ । सुरुमा र्‍याफ्टिङ नेपालीले गर्ने होइन भनिन्थ्यो, त्यसपछि बन्जी जम्प पनि हामीले गर्ने होइन भनियो, अहिले र्‍याफ्टिङ र बन्जी जम्पमा विदेशी भन्दा नेपाली धेरै छन् । ट्रेकिङ र माउन्टेनियरिङमा पनि नेपालीहरूको चाप बढ्न थालेको छ ।

साथै नेपालीहरू सेवा दिनका लागि कहलिएका छन् । त्यसैले होमस्टेहरू पनि बढिरहेका छन् । मैले मेरो क्षेत्रमा भूकम्पपछि पुनर्निर्माण गरिरहेका घरहरूमा पाहुनाका लागि एउटा कोठा बनाउनुस् है भनेर सुझाव दिने गरेको छु । यसले उनीहरूको भइरहेकै चिजहरू, संस्कृति भन्नुस् वा रहनसहन त्यसलाई पनि त पर्यटकका लागि आकर्षण हुन सक्छ नि ।

हामीले मनाउने गरेका चाडपर्वहरू नै पर्यटकका लागि आकर्षण हुँदो रहेछ । सबै धर्मावलम्बीहरूले मनाउने चाडपर्वलाई पनि पर्यटकको आकर्षणको रूपमा विकास गर्न सकिन्छ भन्ने लाग्दछ ।

समुदायलाई फाइदा

पर्यटनको एउटा महत्त्वपूर्ण पक्ष भनेको स्थानीयले पाउने फाइदा पनि हो । अरू उद्योगहरूबाट हुन नसक्ने तर पर्यटनबाट हुने कुरा भनेको स्थानीय समुदायलाई हुने फाइदा हो । मेरो जिल्ला सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रकै कुरा गर्दा, त्यहाँबाट प्रसिद्ध धार्मिकस्थलहरु पाँच पोखरी र गोसाईकुण्ड जान सकिन्छ । साथै हेलम्बु क्षेत्र धेरै अघिदेखि पर्यटक लागि गन्तव्यका रूपमा रहेको छ । अहिले पाँच पोखरी क्षेत्रको प्रवर्द्धनको काम भइरहेको छ ।

झन्डै पाँच हजार मिटरको उचाइमा रहेको पाँच पोखरी क्षेत्रमा पाँच वटा पोखरीहरू छन् । गोसाईं कुण्ड र पाँच पोखरी क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले त्यस क्षेत्रमा पहिलादेखि नै तिर्थालुहरु जान्थे । त्यसबाट स्थानीयले त्यसबाट फाइदा पनि पाइरहेका छन् । यो ठाउँ मात्र होइन, जति धेरै नयाँ ठाउँहरू पर्यटकीय दृष्ट्रिकोणले प्रचार प्रसार र विकास हुँदै जान्छ त्यति नै स्थानीय समुदायले पनि केही न केही फाइदा पाउँछ ।

विकास, वातावरण र पर्यटन

खासमा म राजनीति भन्दा पनि पर्यटन र समाज सेवाको क्षेत्रबाट आएको मान्छे हुँ । पर्यटन व्यवसाय गर्ने क्रममा त्यही क्षेत्रबाट मैले समुदायमा सकेको सहयोग गरेँ । मैले राजनीतिक अभीष्टले त्यो काम गरेको त होइन, तर मलाई त्यस क्षेत्रका मतदाताले जिताए ।

त्यसैले विकास र वातावरण अनि पर्यटनलाई कसरी एक अर्कालाई असर नपार्ने गरी अघि बढाउन सकिएला भन्ने मेरो ध्येय हुने गर्छ । हाम्रोमा विकास भनेकै बाटो खन्नु हो भन्ने भएको छ । बाटो विस्तार हुँदै जाँदा पुराना ट्रेकिङ ट्रेलहरू मासिँदै गएका छन् । बाटो स्थानीयको माग हो, बाटोले उनीहरूको लागि धेरै बाटाहरू खोल्छन्, त्यसैले बाटो बनाउनै बन्द गरेर पनि भएन । तर, बाटो बनाउँदा पुराना ट्रेकिङ ट्रेलहरूलाई कम भन्दा कम क्षति पुग्ने गरी बनाउनु राम्रो हुन्छ ।

त्यसै गरेर मासिएका ट्रेलको विकल्प पनि दिन सक्नु पर्छ । हेलम्बुमा अहिले हामीले मोटर बाटोले नछुने गरी हेलम्बु ग्रेट ट्रेल भनेर अलि माथि जङ्गलको बाटो तयार गर्दैछौं । त्यसै गरी त्यही कच्ची बाटोलाई पनि हामीले पर्यटन गतिविधिमा प्रयोग गर्न सक्छौँ की ? जस्तै माउन्टेन बाइकिङ गराउन सकिएला ! अव फेरी आन्तरिक पर्यटनकै कुरा गर्दा धेरैले मोटर बाटो रोज्छन् । धार्मिक पर्यटनको कुरा गर्दा कतिपयलाई शारीरिक अवस्थाले गर्दा पनि बाटो चाहिने हुनसक्छ । त्यसैले विकास, वातावरण र पर्यटनलाई समन्वय गरेर लैजानु पर्छ ।

नीति महत्त्वपूर्ण

मैले सुरुमै पनि भने सही नीति र कानुनी व्यवस्थाको खाँचो हुन्छ, पर्यटन होस् वा अन्य क्षेत्र । सबै क्षेत्रको विकासमा महत्त्वपूर्ण कुरा भनेको नीति रहेछ । नीति नियम ठिक नहुँदा काम राम्रो नहुँदो रहेछ । नीति ठिक भएन भने लगानी ल्याउन सकिँदैन । ठिक नीति नहुँदा चुनौतीहरू धेरै आउँदा रहेछन् । पुरानो टालटुल गर्ने भन्दा पनि नयाँ बनाउन नै राम्रो हुँदो रहेछ । अहिले हामी नीति बनाउने छलफलमा छौँ । हामीले सबै सरोकारवालासँग फिडब्याक पनि लिइसकेका छौँ ।

भ्रमण वर्ष

भ्रमण वर्षको कुरा गर्दा अव दुई महिना बाँकी छ । तर, सरकार भिसा शुल्क बढाएर बसेको छ । भ्रमण वर्षमा बिस लाख पर्यटक ल्याउने भनेका छौँ । तर त्यो २० लाख किन आउने भन्ने कुराको हामीसँग कुनै आधार छैन । त्यसैले सरकारको तर्फबाट पनि केही न केही सहुलियतको कुरा आउनु पर्छ । त्यस्तै आएको पर्यटक कहाँ लैजाने भन्ने पनि कुरा होला । काठमाडौँमा मात्र थुपारेर त भएन । त्यसैले हामीले प्रदेश ३ का गन्तव्यहरूको प्रवर्द्धन गरिरहेका छौँ ।

त्यही सिलसिलामा पहिलो पटक काठमाडौँबाट नजिकैको जुगल हिमाल आरोहण गरायौँ । रसुवा र सिन्धुपाल्चोकको बिचमा रहेको काञ्जला पासलाई खोलेर लाङटाङदेखि सिन्धुपाल्चोकसम्म सर्किट बनाउन सकिन्छ की भन्ने हामी लागि रहेका छौँ । काञ्जला पास ५ हजार २ सय मिटर उचाइमा पर्दछ । त्यहाँबाट राम्रो दृश्यावलोकन गराउन सकिन्छ ।

– पर्यटन व्यवसायी तथा प्रदेश ३, प्रदेश सभा सदस्य लामासँग गरिएको कुराकानीमा आधारित भएर यो लेख तयार पारिएको हो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…