November 12, 2019

च्छो रोल्पाः पदयात्राको उत्कृष्ट गन्तव्य

  • जीवन लामा
Na Gaun
न गाउँ

च्छो रोल्पा ताल । कुनै बेला च्छोरोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो । अब त्यो डर हराएको छ । कटान गरेर पानीको निकास गरिएपछि त्यो डर हराएको छ । दोलखाको गौरीशंकर गाउँपालिका पर्ने च्छोरोल्पा र दुधकुण्ड अहिले पर्यटकका लागि आकर्षण बनेको छ ।

च्छोरोल्पा जानेहरूलाई प्राकृतिक सुन्दरताले यसरी आकर्षित गर्छ की एउटा सुझाव चाहिँ दिनै पर्ने हुन्छ, फोटो खिच्नुस् ठिक्क है, फेरी गन्तव्यमा पुग्न ढिलो होला ।

जान सजिलो छ, बाटो खासै असहज छैन । काठमाडौँबाट पुगेको दिन सिमी गाउँ पुग्न सकिन्छ । काठमाडौँ–चरिकोट (दोलखाको सदरमुकाम) जम्मा १३२ किलोमिटर हो । त्यसपछि ६० किलोमिटरमा छ्योतछ्योत झरना पुगिहालिन्छ । छ्योतछ्योत छाँगोसँग फोटो खिचेर झोलुङ्गे पुल तरेपछि पुगिन्छ सिमीगाउँ । यही पहिलो रात बिताउन सकिन्छ । तर, कसैलाई चरिकोटमा बास बस्न मन छ भने बस्दा पनि हुन्छ । दोस्रो दिन क्याल्चे पुग्न सकिन्छ । तर, बाटोमा धेरै भुल्न हुन्न।

जन्जीवन गाउँ ।
जन्जीवन गाउँ ।

सिमीगाउँ


छ्योतछ्योत छाँगो पछि झोलुङ्गे पुल तरेर सिमीगाउँ पुगिन्छ । छ्योतछ्योतपछि पैदल मार्ग हिँड्नु पर्ने हुन्छ । २१ सय मिटर उचाइमा रहेको सिमीगाउँसम्म अहिले फराकिलो र व्यवस्थित पैदल मार्ग निर्माण गरेको छ । सिमीगाउँ पुग्नलाई ठाडै उकालो हिँड्नुपर्छ । ठाउँठाउँमा पिउने पानी र विश्रामस्थलको व्यवस्था छ ।

हरियो वनजंगल, चराचुरुङ्गीको हल्लीखल्ली र खोलाको सुसेलीले हिडाईलाई उमङ्गपूर्ण बनाउँछ । खलखली पसिना निस्के तापनि मनोरम दृश्य र पहाडी चिसो हावाले शीतलता दिन्छ । जत्ति माथि पुग्यो उत्ति नै मनोरम दृश्यहरू थपिँदै जान्छन् । गाउँमा शेर्पा र तामाङ जातिको मात्र बसोबास छ । यहाँबाट गौरीशंकर हिमाल नजिकै देख्न सकिन्छ ।

शेर्पा, तामाङको लुङदारले सजिएका चिटिक्क घरहरू । पर्यटकहरूको ओहोर दोहोर भई रहने बाटाहरू । माने, चौतारा र हरियाली जङ्गलले गाउँको बसाई रमाइलो बनाइदिन्छ । पुरानो गुम्बा छ यहाँ । गौरीशंकर संरक्षण क्षेत्रले यहाँ होमस्टे राख्नका लागि पहल गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरू सिजनमा यहाँ बास बसेर मात्र अर्को बासमा जाने गर्छन् । सिमीगाउँमा पुगेपछि फरक संसारमा आइपुगे जस्तै महसुस हुन्छ ।

सुर्मुचे

समर्चे


सिमीगाउँमा बिहानको नास्तापछि अगाडि बढेको यात्रा सुमुर्चेमा रोकिन्छ । आफूलाई दैनिक प्रयोगमा चाहिने सामानहरू मिलाएर झोला हल्का बनाउँदा राम्रो । अनावश्यक रूपमा सामान बोकेर भारी गह्रुंगो बनाउँदा बोझ मात्र थपिन्छ । कहिले उकालो, कहिले तेस्रो बाटो हुँदै २४ सय ७० मिटरमा रहेको सुर्मुचेमा दोस्रो दिन बासका लागि पुगिन्छ । करिब ३५ जनालाई सहजै बास व्यवस्था गर्न सकिने सुर्मुचे होटेल एन्ड लज घना जङ्गलको बिचमा छ । ठुला रिसोर्टहरुकै जस्तो सुविधा छ यहाँ । बिहान नास्तापछि यहाँ भावी यात्राको बारेमा जानकारी दिइन्छ । लेकको बाटो भएकाले पानी भने धेरै पिउनु राम्रो हुन्छ ।

क्याल्चे


खोलाको तिरैतिर अनि जङ्गलको यात्रा गर्दा थकाई मेटिन्छ । खुला मौसममा धेरै हिमालहरूसँग रम्न पाइन्छ । सुमुर्चेबाट हिँडेको दुई घण्टामा थकाई मेटाउन २७६० मिटरमा रहेको क्याल्चेमा पुगिन्छ । यहाँ पनि खाना, खाजा र बासको राम्रो व्यवस्था छ । खुला ठाउँमा भएकाले चारैतिर दृश्यावलोकन गर्न सकिन्छ । गौरीशंकर–९ ले यस क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रमहरू अगाडि सारेको छ । करिब १६ जना जत्ति सहज तरिकाले यहाँ बासको व्यवस्था छ । बाहिर खुला चौरमा टेन्ट टाँगेर पनि बस्न सकिन्छ ।

डोङाङ


क्याल्चेमा दिउँसोको खाना खाएर बास बस्न डोङाङ पुगिन्छ । खोलाको तिरमा रहेको यो सानो बजारमा होटेल तथा लजको व्यवस्था राम्रो छ । यो ठाउँलाई जाँदै गर्नेहरू र फर्केकाहरूको भेट यही हुन्छ । नजिकै खोला भएकाले पनि पर्यटकहरू बढी यस ठाउँलाई रुचाउँछन् । करिब ५० जना जतिलाई यहाँ बासको व्यवस्था छ । ४÷५ वटा सामान्य होटेल र लजहरू छन् ।

वेदिङ

वेदिङ् Beding
वेदिङ्


डोङाङबाट हिडेकाहरु खोलानाला, झरना, चिमाल पार गर्दै चराचुरुङ्गीको चिरबिर सुन्दै वेदिङ पुग्छन् । स्वच्छ र सुन्दरताले गर्दा थकाइको फिटिक्कै महसुस हुँदैन । कहिले उकालो, कहिले ओरालो यात्रा गर्दा पनि हिडरहुँ जस्तो लाग्छ । दोङाङबाट पाँच घण्टाको यात्रामा वेदिङ पुगिन्छ । त्यसदिनको बास बेदिङमै हो ।

यहाँ थुप्रै होटेल तथा लजहरू छन् । ३७ सय मिटरमा रहेको वेदिङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सगरमाथाको हिमआरोहीको गाउँ भनेर पनि चिनिन्छ । यहाँबाट ७५ जनाभन्दा बढीले सगरमाथा चुमिसकेका छन् । यहाँ काटमार वर्जित छ । जाँडरक्सी खाएर होहल्ला गर्न पाईदैन । गाउँलेहरू आफैले बनाएको नियम छ यहाँ ।
प्रसिद्ध सङ्गछोलिङ गुम्बा पनि यही छ । हरेक वर्ष असारमा ठुलो मेला लाग्छ । यहाँ आउने पाहुनाहरूलाई स्थानीय नाच देखाउँदै स्वागत गरिन्छ ।स्थानीय आफैले बत्तीको व्यवस्था गरेका छन् । विद्यालय स्थापना गरेको छ । यहाँबाट नयाँ नयाँ हिमश्रृङ्खला देख्न सकिन्छ । पर्यटकहरूलाई यस क्षेत्रमा पाइने अर्गानिक खानेकुराहरुनै लोभ्याउँछ । त्यसो त खाना चाहनेका लागि मेनु अनुसारको खानेकुराको व्यवस्था पनि छ । प्राय यस क्षेत्रमा विदेशी पर्यटकहरू बढी हुने भएकाले असोज कात्तिकमा होटेल पाउन मुस्किल पर्छ ।

ना गाउँ

Na Gaun
ना गाउँ


वेदिङमा बिहानको खानापछि बासको लागि ना गाउँ पुगिन्छ । हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्दै ३ घण्टाको हिडाईमा ना गाउँ पुगिन्छ । बाटैभरि डाँफे, मुनाल, घोरल देख्न सकिन्छ । लामाहरूले कोरेका बुद्धका तस्बिरहरूले कुनै भिर, पाखा, ढुङ्गा खाली छैन । दायाँबायाँ हेर्दाहेर्दै ना गाउँमा पुगिन्छ । यहाँ धेरै होटलहरु भएकाले बासको लागि त्यत्ति समस्या छैन ।

रुख बिरुवा केही नभएका, चारैतिरबाट हिमालहरूले घेरिएका, जग्गाहरू ढुङ्गाको गाह्रोले घेरिएका पहिलो पटक पुग्ने पर्यटकका लागि नयाँ अनुभूति हुन्छ । सबै घरहरू ढुङ्गाले सजिएका, सम्म फाँटमा आलु, हावा खेतीबाहेक अरू खेती छैन । आलु, हावा खेती यस गाउँको मुख्य बाली हो । चौरी पालनबाट दूधजन्य पदार्थहरू घ्यू, छुर्पी निर्यात गर्छन् यहाँका बासिन्दा । गलैँचा, राडी बुन्ने र निर्यात गर्ने महिलाहरू पनि छन् । पुरुषहरू प्राय हिमाल चढ्नेमै व्यस्त गाउँघर धानेका छन् महिलाले । पथप्रदर्शक पनि प्रशस्तै छन् । यस भेगमा पुराना गुम्बाहरू प्रशस्तै भेटिन्छन् ।

च्छोरोल्पा

Dudh Kunda
दुध कुण्ड


च्छोरोल्पा धेरै पर्यटकहरूको गन्तव्य हो । तर, दुधकुण्ड पुग्नेहरूको पनि सङ्ख्या बढ्दै गएको छ । ना गाउँबाट च्छोरोल्प जानका लागि बिहान सबेरै हिँड्नुपर्छ । बाटो भरिनै फोटो कैद गर्दागर्दै च्छोरोल्पा पुग्न ढिला हुन पनि सक्छ । च्छोरोल्पा पुग्ने बेलामा अलि उकालो हिँड्नुपर्छ । तर नजिकैको हिमालले ताने झै लाग्छ । सेताम्मे हिमालले मनै फुरुङ्ग बनाउँछ । चौरी गाईको नचाइले भोक, तिर्खा मेटाई दिन्छ । थकाइलाई चिसो सिरेटोले उडाई दिन्छ । तालमा पुग्दा जिन्दगीमा सबै कुरा जितेको महसुस हुन्छ । साथीसंगी भुलिन्छ । आँखै चिम्लनै बिर्सन्छ । ४५ सय मिटर उचाइमा रहेको च्छोरोल्पाको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन । त्यसको अनुभव गर्नलाई त्यही पुग्नु पर्छ । च्छोरोल्पाबाट करिब तीन घण्टा हिँडेपछि दूध कुण्ड पुगिन्छ । ५५ सय मिटर उचाइमा रहेको दूधकुण्डबाट चारैतिरबाट हिमालले घेरिएका छन् । नामजस्तै सेतम्मे यो कुण्डमा महादेवको मन्दिर छ । यहाँ वर्षमा एक पटक भदौ जनैपूर्णिमामा मेला लाग्छ । यसलाई सगरमाथा जाने सजिलो र छोटो मार्गको रूपमा पनि लिईन्छ । विदेशी पर्यटकहरू यतैबाट सगरमाथा जाने पनि हुन्छन् ।

नोटः च्छोरोल्पासम्म यात्रा टासिनामबाट पनि सहज तरिकाले पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

तीन सय वर्ष पुरानो निगु पुखुःलाई पुनर्जीवन

भक्तपुर । साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको…