November 15, 2019

मनास्लु आरोहण अनुभव

  • अनुप गुरुङ
Manaslu expedition
अनुप गुरुङ, मनास्लु आरोहणका क्रममा ।

म अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड हुँ । मेरो घर गोर्खाको स्वारा–५ मा पर्छ । अहिले म ३२ वर्षको भएँ । बुबा सन्तहादुर गुरुङको पाइला पछ्याउँदै म सन् २००८ देखि आरोहण क्षेत्रमा संलग्न छु । यो सिजनमा मैले ६ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहण गरेँ ।

अरू पनि धेरै हिमालहरू चढेको छु । नेपाल र चीन दुवैतर्फबाट गरेर तीन पटक सगरमाथा चढिसकेँ । यसअघि पनि मनास्लु, धवलागिरि लगायत ६ हजार मिटर माथिका धेरै पिकहरूको आरोहण गरिसकेको छु । सन् २०१४ मा मैले धौलागीरी हिमालमा रेक्स्यु समेत गरेको छु ।

यहाँ भने मैले यस सिजनको मनास्लु आरोहणका अनुभूति उहाँहरूसँग शेयर गर्दैछु । आरोहणमा रुचि राख्नेहरुलाई राम्रै होला भन्ने लागेर मेरो अनुभव यहाँ बताउन लागेको छु ।

यो सिजनमा मनास्लु आरोहणमा सबैभन्दा धेरै आरोहीहरू गएका थिए । यो सिजनमा एभरेस्टमा भन्दा पनि मनास्लुको आकर्षण बढी छ ।

मैले पनि जापानी आरोही लिएर २७ सेप्टेम्बरका दिन बिहान ७ बजेर २० मिनेटमा मनास्लुको सफल आरोहण गर्‍यौँ । मनास्लु आरोहण मैले यो दोस्रो पटक गरेको हुँ ।

जापानी आरोहीले पनि यसअघि नै सगरमाथा लगायतका हिमाल आरोहण गरिसकेको हुँदा हाम्रो लागि खासै अप्ठ्याराहरू आएनन् ।

Manaslu expedition
मनास्लु आरोहणका लागि हामी अगस्ट २२ मा काठमाडौँबाट हिँडेका थियौ । काठमाडौँबाट गोरखा बजार, घ्याम्पेसाल, आरुघाट हुँदै आरखेतमा पुग्यौँ । हाम्रो पहिलो दिनको बास आरखेतमा भयो । मनास्लु आधार शिविर जाने बाटोमा परे पनि आरखेतमा बस्ने ठाउँ व्यवस्थित छैन । सामान्य खालका होटलहरु छन्, त्यो पनि फोहोर ।

अगस्ट २३ मा हामी आरखेतबाट माछिखोलाका लागि हिड्यौं । आरखेतसम्म सडक पुगे पनि त्यसपछि हिँड्नुपर्छ । माछिखोलामा व्यवस्थित होटेल खुलिसकेका रहेछन् । दोस्रो रात हामी त्यही बास बस्यौ ।

तेस्रो दिनको यात्रा भने फिलिमको लागि हो । खराब मौसम, त्यसमाथि सडक निर्माणको काम भइरहेकोले केही झन्झट भयो । हामी रोकिँदै माथि लाग्यौँ । नेपाली सेनाले सडक खन्ने क्रममा व्लाष्टिङ गरेको दृश्य हेर्दै हामीहरू तेस्रो दिन बेलुकी फिलिम पुग्यौँ ।

चौथो दिन गाप पुग्यौँ । पाँचौँ दिन गापबाट सामागाउँ पुग्यौँ । सामागाउँबाट ५/६ घण्टाको यात्रापछि मनास्लु हिमालको आधार शिविर पुग्न सकिन्छ ।

दुई रात हामी सामागाउँमै बस्यौँ । यहाँबाट आधार शिविरसम्म आफूले झोला भारी बोक्न पाइँदैन । समागाउँमा समिति छ । समितिबाट एक जनालाई ३० किलो बराबरको भारी बोकेर पुर्‍याउन पठाउने व्यवस्था छ । स्थानीयले नै आरोही तथा विभिन्न एजेन्सीहरूले ल्याएको सामान बोकेर लैजान्छन् । भारी बोकेबापत हामीले ज्याला दिनुपर्छ ।

सातौँ दिन अर्थात् अगस्ट २८ मा बिहानै हिँडेर साँझ आधार शिविर पुग्यौँ । आधार शिविर पुगेपछि हामीले बस्ने, पकाउने र शौचालयको टेन्ट आफैले तयार गर्नुपर्ने हुन्छ । म र एक जना साथी भएकाले छिटै आधार शिविर पुग्यौँ ।

Manaslu expedition हामीले आरोहण गराउनु पर्ने जापानी आरोही र अर्का एक जना साथी भने अगस्ट २५ मा काठमाडौँबाट निस्किएका थिए । उनीहरूले बेंसीसहर हुँदै मनाङको कान्लापासको ट्रेकिङ गरे । पर्वतारोहणको भाषामा यसलाई ‘हाई पचाउने तालिम’ भनिन्छ । तालिम लिएर उनीहरू धारापानी, लार्के पास हुँदै सामागाउँ आएर मनास्लु आधार शिविर आए ।

मनाङको धारापानी हुँदै मनास्लु आधार शिविर आउने अर्को बाटो हो । काठमाडौँबाट सँगै आएको साथी र म आधार शिविरमै तयारी गरेर बस्यौँ । आरोही आएपछि हामीहरूले आरोहणका लागि सेप्टेम्बर ९ तारिखमा पूजा गर्‍यौँ । म, आरोही र मेरो एक साथी सेप्टेम्बर १० तारिखमा आरोहणमा निस्कियौँ ।

खराब मौसमका कारण दुई दिनसम्म क्याम्प १ मै बस्न बाध्य भयौँ । आरोहीलाई हाई पचाउन समेत सहज भयो । हामी क्याम्प १, २ हुँदै ३ मा पुग्यौँ । तीनमा पुगेपछि पुनः मौसम खराब भयो । हामी आधार शिविर मै फर्कियौँ ।

Manaslu expedition
आरोहण सफलताको खुशीयाली मनाउँदै । 

करिब एक साता आधार शिविरमा बसेपछि सेप्टेम्बर २३ मा फेरि आरोहणका लागि अघि बढ्यौँ । क्याम्प एक, दुई, तीन र चारमा एक/एक दिन बस्दै आरोहण गर्‍यौँ । क्याम्प चारबाट हामीहरू रातको साढे २ बजे चुचुरामा पुग्नका लागि अघि बढ्यौँ । राति आरोहणमा निस्किएका हामी सेप्टेम्बर २७ को बिहान ७ बजेर २० मिनेटमा मनास्लु चुचुरोमा पुग्यौँ ।

मैले यसअघि पनि मनास्लु आरोहण गरेकाले यसपालि सहज भयो । बेस क्याप १ र २ को बिचमा एक ठाउँमा ठाडै उकालो छ । उकालोमा केही समस्या भए पनि अन्य स्थानमा खासै समस्या भएन । मनास्लु आरोहणको क्रममा हिउँ पहिरो खस्थ्यो यसपालि भने त्यस्तो भएन ।

मनास्लु क्षेत्रमा परेको हिउँका आधारमा हिउँ पहिरो खस्ने गरे पनि यो सिजनमा केही भएन । आधार शिविरबाटै मौसम भने खराब नै थियो ।

Manaslu Climbing Map

– अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड गुरुङसँग गरेको कुराकानीमा आधारित । 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…