सौराहामा विवाह गर्ने बढे, नियमित पर्यटक घटे
भरतपुर ।भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो ।
सौराहाका कुनै एक होटल दुईदेखि तीन रातका लागि पूरै भाडामा लिएर विवाह गर्ने गर्दछन् । साना होटल भए एउटा होटलमा दुलाहा र अर्को होटलमा दुलही बसेर बाजागाजाका साथ जन्ती गएर विवाह गर्ने क्रम बढेको छ । ठूला होटल ‘बुक’ गर्दा एउटै होटलमा दुलाहा दुलही राखेर दुलाहालाई बजार परिक्रमा गरी रमाइलो गर्ने गर्दछन् ।
होटल सेभेन स्टार र बेष्ट उडका सञ्चालक माधव दुवाडीका अनुसार नोभेम्बर महिनामा मात्र दुई होटलमा दुई/दुईवटा विवाहको ‘बुकिङ’ रहेको छ । आज सेभेन स्टारमा भारतीय विवाह भएको भन्दै उनले दुई वा तीन दिन होटल बुक गरी विवाह गर्ने गरेको बताए । एउटा विवाह गर्दा होटलको बगैँचा, सभाहल, कोठा र पानी प्रयोग गरेवापत रु पाँच लाख लिने गरेको दुवाडीको भनाइ छ ।
नअट्नेहरु बाहिर होटलमा बस्ने गर्दछन् । एउटा विवाहमा चार सय हाराहारी आउने गर्दछन् । खानादेखि बाजागाजासम्म सबैको तयारी समूह भारतबाटै आउने गर्दछन् । होटल वाइल्डलाइफ क्याम्पका सञ्चालक शङ्कर सैँजुको होटलमा गत वर्ष एउटा विवाह भएकामा यस वर्ष पनि अर्को विवाह भएको छ । यस वर्ष पट्नाबाट आएका एक जोडीले विवाह गरेको उनले जानकारी दिए ।
अन्य होटलहरुमा पनि विवाहका लागि बुकिङ भइरहेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहेका सैँजुले यसबाट अन्य पर्यटकहरुलाई असर नपरोस् भन्नका लागि सावधानी अपनाइएको बताए । वन र वन्यजन्तुमा रमाउन पर्यटक आउने भएकाले विवाहका कारण असर नपरोस् भन्नका लागि आफूहरु सचेत रहेको सैँजुको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्षभन्दा यो वर्ष विवाह गर्न आउनेको सङ्ख्या बढेको छ । गत वर्ष सात/आठवटा जति विवाह भएको भए पनि यो वर्ष त्यति विवाह भइसकेका छन् । भारतीय सीमा क्षेत्रबाट बढी विवाह गर्न आउने गरेको पाइएको छ । सो क्षेत्रमा मदिरा सेवन गर्न नपाउने भएपछि यहाँ आउने क्रम बढेको हो । मासु र मदिरा सेवन गरेर रमाइलोका साथ विदेशमा गएर कम खर्चमा विवाह गर्न चाहनेहरुका लागि सौराहा उपयुक्त थलो बनेको उनले बताए ।
यस वर्ष धमाधम होटलहरुमा विवाह र बुकिङ हुने क्रम जारी रहेको उनले जानकारी दिए । यसरी विवाह गर्न आउनेहरु सौराहामा हुने पर्यटकीय गतिविधिहरुमा सहभागी हुने गरेका छन् । यस क्षेत्रका पर्यटन व्यवसायीले गएका दुई वर्ष भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरेका थिए ।
पर्यटकको सङ्ख्या घट्यो
विवाह गर्न भारतीय आउने क्रम बढे पनि नियमित रुपमा आउने पर्यटकको सङ्ख्या घटेपछि व्यवसायी निरास बनेका छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराईका अनुसार गत वर्ष यो समयमा सौराहाका होटलका कोठा ७० प्रतिशत हाराहारी बुकिङ हुने गरेको भए पनि यस वर्ष ४० प्रतिशत हाराहारी मात्र भरिएका छन् । दशैँ र तिहार पछि नोभेम्बर महिना पर्यटकहरु धेरै आउने गर्दथे ।
भट्टराईका अनुसार यसरी आएका पर्यटकहरुमध्ये आधाभन्दा बढी चिनियाँ रहेका छन् । के कारणले पर्यटक घटेको हो बुझ्न नसकेको उनको भनाइ छ । वन र वन्यजन्तुसँग सम्बन्धित सँगै अन्य पर्यटकीय गतिविधि बढाउनुपर्ने देखिएको भट्टराईले जानकारी दिए । डिसेम्बर महिनासँगै विदेशीहरु आफ्नै देशमा क्रिसमस र नयाँ वर्षका लागि रमाउने भएकाले यहाँ कम आउने गर्दछन् ।
सौराहामा ११० होटल छन् । यी होटलको क्षमता पाँच हजार ५०० भन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तुको अवलोकन, डुङ्गा शयर, थारू संस्कृतिमा रमाउनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
–नारायण अधिकारी/रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…