January 20, 2020

मनास्लु बेसक्याम्पदेखि धार्चेसम्म म्याराथन हुने

गोरखा– मनास्लु हिमालको फेददेखि धार्चे डाँडासम्म दाैड प्रतियोगिता हुने भएको छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमालको बेस क्याम्प पुङ्गेनदेखि धार्चे गाउँपालिकाको धार्चेडाँडासम्म मनास्लु म्याराथन प्रतियोगिता हुन लागेको हो ।

दुवै गाउँपालिका तथा मनास्लु स‌ंरक्षण क्षेत्र आयोजना एमक्यापको आर्थिक सहयोगमा हुने दाैडको ब्यवस्थापन मनास्लु फाउण्डेसनले गर्ने छ ।

विश्वकै आठाैं अग्लो मनास्लु हिमालको पहिलो पटक आरोहण भएको अवसर पारेर आगामी मे ९ मा दाैड गर्ने तय भएको मनास्लु संरक्षण आयोजनाका प्रमुख नरेन्द्र लामाले बताए । मनास्लुको पहिलो सफल आरोहण सन् १९५६ मे ९ मा भएको थियो ।

उक्त दिन मनास्लु बेश क्याम्पबाट सुरु हुने दाैड ल्हो, प्रोक, बिही हुँदै जगतमा आएर रोकिनेछ । भोलिपल्ट जगतबाट माछाखोला हुँदै धार्चे डाँडा पुगेर दाैड समापन गर्ने गरी रुट तय गरिएकाे लामाले बताए ।

भ्रमण वर्षको प्रचारात्मक अभियान अन्तरगत म्याराथन गर्न लागिएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । करिब ४० लाख खर्च हुने अनुमान गरिएको दाैडमा स्वदेशी र विदेशी री एक सय जना सहभागी हुने आयोजकको अनुमान छ ।

दाैडले तल्लो मनास्लु क्षेत्रको पनि प्रबर्द्धन हुने छ । भ्रमण वर्षमा करिब ८ हजारले मनास्लुको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…