घाचोकका होमस्टेको आकर्षण : अर्गानिक खाना, प्राकृतिक दृष्यावलोकन र स्थानीय संस्कृति
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ भन्छन् – 'माछापुच्छ्रे हिमाल पर्वतारोहणका लागि खुल्ला गरिनु पर्छ'
काठमाडाैं– पछिल्लो समय एक ठाउँबाट अर्को ठाउँ गएर घुमफिर र रमाइलो गर्नेे चलन बढेको छ । सहरको कोलाहल र प्रदूषणबाट थोरै समय भए पनि शान्त र रमणीय स्थानको खोजीमा ग्रामीण क्षेत्रमा जान चाहनेको संख्या बढ्दो छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोक पनि घुमफिर गर्न लायक ठाउँ बनेको छ ।
गाउँमा पाहुना भित्र्याउन सुन्दर र रमणीय माछापुच्छ्रे गाउँपालिका–१ घाचोक टुसेका स्थानीयले घरबास अर्थात् होमस्टेको बनाएका छन् । यो गाउँका ५ सय मध्ये २३ घरले होमस्टे सञ्चालन गरेका छन् । २०७५ कार्तिक २५ मा स्थापना गरिएको होमस्टेको २०७६ वैशाख १ बाट औपचारिक रुपमा सुरुवात गरिएको हो । होमस्टेमा २३ कोठा र ४६ वेड छन् । होमस्टे सञ्चालक समितिमा महिला ३ जना र पुरुष २ गरी जम्मा ५ जना छन् । यहाँका प्रत्येक घरले छुट्टै पाहुना घरको ब्यवस्था गरेका छन् । जनजातिहरुमा रहेको विदेश जाने मनस्थितिलाई बदल्न र घरमै बसेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन होमस्टे सुरुवात गरिएको माछापुच्छ्रे अर्गानिक होमस्टेका अध्यक्ष अनुप गुरुङ (आशकुमार) बताउँछन् ।
‘नियममा हाम्रोमा दुई जनामात्रै राख्ने भए पनि धेरै भएको समयमा पाँच/छ जनासम्मलाई ब्यवस्था गर्न सकिन्छ,’ अनुप भन्छन्, ‘२३ घरमा सञ्चालन रहेको घरबासमा प्रत्येक महिनाको अन्तमा कसकोमा कति जना पाहुना आयो भनेर हिसाब गर्ने र कम भएको घरमा अर्को पटक पाहुना लैजाने गरि सबै होमस्टेमा बराबार पुर्याउने गरिरहेको छु । एक रातमा ७० जना पाहुनालाई बास दिन सक्छौ ।’
घाचोकमा मगर र गुरुङको बस्ती छ । उनीहरुले अहिलेसम्म अर्गानिक मल प्रयोग गरि खेती गरिरहेका छन् । ‘हामीले जति जान्यौं त्यति गर्दै आएका छौं र गर्दै जाँदा सिक्दै जाने कुरा हो । होमस्टेमा आउने पाहनाुहरुलाई स्थानीय परिकार र उत्पादन मात्र खुवाउने गरेका छौं,’ उनले भने, ‘गाउँमै उत्पादन हुने धान, मकै, कोदो, साग, दाल, तरकारी, गोलभेडा, दुध, दही, माछा र मासु सबै अर्गानिक खुइरहेका छौं ।’
यहा आउने पाहुनाले आफूले रोजेको होमस्टेमा बस्न पाउँछन् । सबै घरमा शौचालय र बाथरूम तातो र चिसो पानीको ब्यवस्था, खानेपानी, इन्टरनेट, विद्युत लगायत सबैजसो सुविधा छ ।
होमस्टेमा नेपाली पर्यटकलाई एक दिनको प्याकेजमा बिहान–बलेुकीको खाना–खाजा समेतलाई प्रतिव्यक्ति ८ सय ५० रुपैयाँ छ भने विदेशीलाई १२ सय रुपैयाँ रहेको अध्यक्ष गुरुङले बताए ।
‘एक दिने प्याकेजमा होमस्टेमा पाहुनालाई उनीहरूको रुचि अनुसार स्वागत कार्यक्रम हुन्छ । बेलुका कोदोको लोकल रक्सीको साथमा खाना, मासु, दाल, भात, दही, दुध, गुन्द्रुक, तरकारी र भोलिपल्ट बिहानको खाजासहित पाहुनालाई स्थानीय संस्कृति अनुसार बिदाइ गरिने चलन छ,’ उनले भने ।
पाहुनाको चहाना अनुसार गुरुङ र मगर संस्कृति देखाउन सकिने उनको भनाई छ । सेर्का नाच, सोरठी, कृष्ण चरित्रा र घाँटु लगायतका संस्कृति हेर्न सकिन्छ । अन्तरिक तथा बह्य पर्यटकहरुलाई मध्यजनर गरि प्रचार–प्रसारका लागि विभिन्न सञ्चार मध्यमको प्रयोग गरेको छ । सेवा र सुविधको लागि सूचना बोर्ड राखिएको छ । स्थानीय गाइडको ब्यवस्थासँगै फोन र वाईफाईको ब्यवस्था समेत छ ।
यहाँ प्राकृतिक सौन्दर्यको भरपुर आनन्द पनि लिन सकिन्छ । होमस्टेको आगनबाटै माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ । फागुन देखि ९ किसिमका लालीगुराँस फुलेको जंगल हेर्न सकिन्छ । गाउँ वरिपरिका जंगलमा ६ प्रजातिका घोरल, डाँफेलगायतका जनावर र चराचुरुङ्गी अवलोकन देख्न सकिन्छ ।
९ सयदेखि ६ हजार ९ सय ९३ मिटर उचाईको माछापुच्छ्रे हिमाल पर्ने माछापुच्छ्रे गाउँपालिका जैविक रुपमा पनि विविधतायुक्त छ । विश्वकै महत्वपूर्ण ठाउँमा रहेको बताउँदै यस पालिकामा माछापुच्छ्रे गाउँपालिका–१ टुसे, घाचोकमा सञ्चालित माछापुच्छ्रे अर्गानिक होमस्टे अन्तरिक तथा बह्य पर्यटकको ब्यवस्थापनमा सहयोग गर्ने माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।
पर्यटन विकासको महत्वपूर्ण आधार हिमाल भएको बताउँदै माछापुच्छ्रे हिमाललाई पर्वतारोहणका लागि खुल्ला गरिनु पर्ने उनको धारणा छ । उनी भन्छन्, ‘माछापुच्छ्रे हिमाल कुमारी नै छ कुमारी नै राख्नु पर्ने । दोस्रो, गुरुङ जातिकोे देवाता हो अरोहण गर्यो भने अनिष्ट हुन्छ । तेस्रो, पोखराबाट पर्यटन उत्तरतिर सर्ने त होइन भन्ने पोखराका ब्यवसायीको मनोविज्ञानले गर्दा यो हिमाल आरोहण विवादित बनेको हो ।’
समय अनुसार परम्परा पनि परिवर्तन हुँदै गएकाले गाउँपालिका पर्यटन प्रवर्द्धनको तयारीमा रहेको अध्यक्ष गुरुङले बताए । पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्रेको आरोहण खोल्न पहल गर्ने उनले बताए ।
यस क्षेत्रमा गुरुङ तथा मगर जातिले जातिले परापूर्वकालदेखि भगवान शिवको पवित्रस्थान र प्रतीक मानेर श्रद्धा गरेको भन्नुमा सत्यता नभएको उनको दाबी छ । उनले भने, ‘म दाबा साथ भन्छु माछापुच्छ्रे हिमाल गुरुङको ईष्ट देउता होइन, किनभने गुरुङ जातिले जनजिविकासँग जोडिएका हरेको ठाउँको नाम दिएको छ । तर त्यो चुच्चो जिविकोपार्जनसँग नजोडेका कारण त्यसको नाम छैन । गुरुङ जातिले प्रकृति देवता मान्ने भएका कारण त्यसको आफ्नै विधि, नियम र कानुन हुन्छ । गुरुङले मान्ने देवताको पूजा गर्छन् । जुन रुपमा गुरुङको ईष्ट देवता हो, त्यहाँ पाइला टेके अनिष्ट हुन्छ भनेर जुन हावा फैलाएको छ त्यो मिथ्या हो, भ्रम हो ।’
सर्वोच्च शिखर सगरमाथा चढ्न पहिले साना हिमाल चढ्नु पर्ने हुन्छ जसका लागि पहिले हिमालको हुने बताउँदै अध्यक्ष गुरुङले माछापुच्छ«े चाँडै खुल्ला गराउन लागि पर्ने बताए । नेपालका हिमाल सदाबहार रहेकोले यसबाट पर्यटन ब्यवसाय फस्टाउने भएकाले सबै हिमालहरु अरोहरणका लागि खुल्ला गरिनु पर्ने उनको तर्क छ ।
घाचोकमा रहेको होमस्टेमा आउने पहुनालाई लक्षित गरी हरेक दिन बेलुकी स्थानीयले स्थानीय परम्परागत सांस्कृतिक कार्यक्रम गर्छन् । पछिल्लो समयमा विस्तार हुँदै गएको होमस्टे अभियानले पर्यटन क्षेत्रको विकास हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई टेवा पुग्ने स्थानीयको विश्वास छ ।
होमस्टेमार्फत् स्थानीयले संस्कृतिको संरक्षणको प्रयास पनि गरेका छन् । यहाँ स्थानीय उत्पादनहरु मकै, कोदो, धन, सिजन अनुसारको तरकारीहरुमा जोड दिएको दिइएको छ । प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि प्राकृतिक एवं ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्दै वन, वातावरण र सांस्कृतिक संरक्षणमा होमस्टेले ध्यान दिएको स्थानीय बताउँछन् ।
घाचोक होमस्टेका विशेषता
होमस्टेका मुख्य विशेषताहरु :
गुरुङ र मगर संस्कृतिको अवलोकन गर्न सकिने जस्तै सोरठी, घाँटु, छ्याडु, झ्याउरे लगायतका संस्कृतिको आवलोकन गर्न सकिन्छ । स्थानीय अर्गानिक खाना जस्तै दाल, भात, तरकारीमा स्थानीय उत्पादन मार्सी खाना, जर्नेली चामलको खाना, कोदोको ढिंडो र गुन्द्रुक लगायतका परिकारका साथ लोकल कुखुरा, खसी, भेडा, बोका स्थानीय माछाको स्वाद लिन पाइन्छ । यसका साथै विभिन्न सुन्दर हिमालहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
जानका लागि पहुँच :
पोखराको हरि चोकबाट १७ किलोमिटर दूरीमा पर्छ । एक घण्टाको यात्रामा यहाँ सजिलै पुग्न सकिन्छ ।
अन्य सुविधा :
उपचारका लागि स्वास्थ्य चौकीसम्म पुग्न ४५ मिनेट लाग्छ । घर–घर तथा चोक–चोकमा फोहोर संकलनका लागि डस्टबिनको ब्यवस्था छ । होमस्टे सञ्चालकहरुले पालना गर्नुपर्ने नियम पनि लागू भएका छन् । पाहुनाका लागि पनि नियमहरुको ब्यवस्था गरिएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…