February 3, 2020

फार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ सकियो

काठमाडाैं– सातौं फार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसन सम्पन्न भएको छ । विश्व विख्यात आरोही फार्क योङ स्योकको स्मृतिमा आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन तथा आत्मविश्वास बढाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिता आइतबार सकिएको हो ।

फार्क योङ स्योकको अन्नपूर्ण साउथ आरोहणको क्रममा सन् २०१३ मा निधन भएपछि उनको सम्झनामा खेल आयोजना गरिँदै आएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

संघ र कल्चर फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार र आइतबार (फेब्रुअरी १ र २) मा पासाङल्हामु वाल क्लाइम्बिङ धुम्बाराहीमा प्रतियोगिता आयोजना गरिएको हो । टप रोप क्लाइम्बिङ र लिड क्लाम्बिङ गरी दुई विधामा भएको उक्त प्रतियोगितामा ३० पुरुष र १६ महिला गरी ४६ प्रतिष्पर्धी सहभागी रहेको कार्यक्रम संयोजक तुलसिं गुरुङले बताए ।

टप रोपतर्फ पुरुषमा पास तेन्जेन शेर्पा पहिलो, सुरेश तामाङ दोस्रो र उज्वल बंशी तेस्रो भएका छन् । महिलातर्फ देविका पाण्डे पहिलो, कविता लामा दोस्रो र लक्ष्मी पाण्डे तेस्रो भएका छन् । पुरुष र महिलातर्फका विजेताले क्रमश: १० हजार, ५ हजार र २ हजार ५ सय नगदसहित मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर पाएका छन् ।

लिड क्लाम्बिङ विधातर्फ पुरुषमा विजय सुनार पहिलो, भीमबहादुर तामाङ दोस्रो र टिनटिन राई तेस्रो भएका छन् । महिलातर्फ एलेक्स अन्द्रा प्राजीबेज पहिलो, पञ्चमाया तामाङ दोस्रो, स्वस्तिका चाैधरी तेस्रो भएका छन् । विजेताहरुले क्रमश: ३० हजार, २० हजार र १० हजारसहित मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा मुख्य निर्णायक फुर्वा नाम्ग्याल शेर्पा रहेका थिए ।

कार्यक्रममा यू एएएका अध्यक्ष इन जोङ लीले स्योको सम्झनामा हरेक वर्ष यस्ता प्रतियोगिता आयोजना गर्दै जाने बताए । नेपाल पर्वतारोहरण संघका अध्यक्ष सन्तबीर लामाले नेपालको पर्यटन क्षेत्रमा खेलकुदको धेरै सम्भावना रहेको र यस्ता कार्यक्रमले अन्तरराष्ट्रिय क्षेत्रमा पनि प्रचार प्रसार हुन सहयोग पुगेको बताए । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले यस्ता गतिविधिले पर्यटक बढाउन सहयोग पुग्ने बताउँदै आयोजकलाई धन्यवाद दिएका थिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…