February 4, 2020

रमाइलो गाँउमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव

स्याङ्जा– स्याङजाको विरुवा गाँउपालिका–३ र पुतलीबजार नगरपालिका–२ को सिमानामा पर्ने राङभाङ–भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ आयोजना गरिने भएको छ ।

राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा माघ २४ र २५ गते उत्सव गर्न लागिएको हो । यसका लागि ७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति बालकुमार गुरुङको संयोजकत्वमा गठन गरिएको छ ।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो । स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरुको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्य समेत राखिएको छ ।

नेपालमा यस किसिमको उत्सव मनाउन थालिएको ८ वर्ष भएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङ जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

उत्सव सुरु हुनु दुई साता अघिदेखि नै विभिन्न विद्यालयहरुमा लाटोकोसेरो चेतना शिविरहरु सञ्चालन गरिएका छन् । उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धीु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गीत तथा नाच प्रर्दशनी गरिने छ । सोही दिन भुरुम, घोचा गाड्ने, ठेला, पाङग्रा घुमाउने, घुयत्रो जस्ता स्थानीय लोपोन्मुख खेलको प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरिने छ ।

उत्सवको पहिलो तथा दोस्रो दिन स्वागत गीत, स्थानीय सास्कृतिक कार्यक्रम घाटु, झोरा, सोरठी, कौडा, नौमती बाजा, भजन, सालैजु, २२ ताल भाका, छैटी आदिको प्रर्दशनी हुनेछ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुले लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच समेत प्रदर्शन गर्नेछन् ।

उक्त अवसरमा विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कथा, निबन्ध तथा कविता प्रतियोगिता समेत गरिनेछ । प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचना, चित्र, तथा फोटोको प्रदर्शनी पनि गरिने छ ।

गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् । आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्ने व्यवस्था मिलाइएको छ ।

उत्सवमा सहभागी हुनेहरुको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान संग्रहालयबाट लाटोकोसेरोको नमुना पनि प्रदर्शनीमा राखिने छ । उक्त अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टर प्रस्तुति गर्नेछन् ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल, पृथ्वीचोकको सहयोगमा उक्त दिन निशुल्क स्वास्थ शिविर समेत गर्न लागिएको छ । शिविरमा महिला, हाडजोर्नी तथा बालबालिका सम्बन्धि रोगको उपचारलाई प्राथमिकता दिइने छ ।

उत्सवको अन्तिम दिन चार जना नेपाली अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ समेत दिन लागिएको छ । संरक्षणकर्मीहरुलाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।

यस वर्ष पुरस्कृत हुनेहरुमा पोखरा पन्क्षी समाजका अध्यक्ष एवम संरक्षणकर्मी मनशान्त घिमिरे, धनगढीका पत्रकार अविनाश चौधरी, ग्रीन गार्ड नेपालका अध्यक्ष एवं काठमाडौ निवासी संरक्षणकर्मी विश्वनाथ रिजाल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेल रहेका छन् । लामो समय देखि वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका दुईवटा संस्थालाई पनि दोसल्ला र ताम्रपत्रले सम्मान गर्न लागिएको छ । यसरी सम्मानित हुनेमा वर्दिया जिल्लामा कार्यरत बर्दीया प्रकृति संरक्षण क्लब र पाचँथर जिल्लामा कार्यरत श्री दिपज्योती युवा क्लब रहेका छन् ।

मिलेनियम पदमार्गमा पर्ने राङभाङ–भैसेगौँडाले स्याङजा र तनहुँका ४ नगरपालिका र एक गाँउपालिका समेटेको छ । ७२ किलोमिटर लामो यो पदमार्गले मध्य पहाडी क्षेत्रलाई समेटेको छ । समुद्री सतहबाट करिब १५०९ मिटरको उचाइमा रहेको यो गाँउबाट अन्नपूर्ण, धौलागिरी, मनास्लु हिम श्रृखंला देखिन्छ । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यो ठाँउ आसपासमा घाटु, सोरठी, झोरा, पञ्चे बाजा आदि अनुभव गर्न सकिन्छ ।

यस क्षेत्रमा रतुवा, दुम्सि, खरायो, वाँदर, लंगूर, चितुवा, चरी बाघ, स्याल, काँडेभ्याकुर, कालिज, लामपुच्छ्रे, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हुचिल, कोईली, जुरेली सजिलै देख्न सकिन्छ । चरा अवलोकनको लागि यो क्षेत्र उत्कृष्ट मानिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट पोखरा हुँदै स्याङजा, वालिङ वा पाल्पा जाने कुनै पनि बसमा गएर स्याङजाको सदरमुकाम नजिकै चन्द्रनगर (घुम्ती) भन्ने ठाँउमा झर्नु पर्छ । पोखरादेखि स्थानीय बसहरु समेत घुम्तीसम्म उपलब्ध हुन्छन् ।

पोखराको पृथ्वीचोकबाट ट्याक्सीले प्रति व्यक्ति २५० का दरले घुम्तीसम्म जान्छन् । घुम्तीबाट राङभाङसम्म दिउँसो २ बजेतिर नियमीत जीप उपलब्ध हुन्छन् । उत्सवका बेला माघ २३ बेलुका, माघ २४ र २५ बिहान अतिरक्त वसको व्यवस्था गरिएको छ । स्याङजाको घुम्ती बजारबाट ४५ मिनेटमा यहाँ पुग्न सकिन्छ । २ देखि ३ घण्टाभित्रमा हिँडेर पनि पुग्न सकिन्छ ।

घुम्तीबाट ज्यामीरे हुँदै अन्य जीपहरु ओरस्टे, कोल्मासम्म जान्छन् । उक्त जीपमा ज्यामीरेसम्म गएर थप ४५ मीनेट पैदल हिँडेर पनि राङभाङ पुग्न सकिन्छ । पोखरा बसपार्कबाट दिउँसो २ बजे ज्यामीरे हुँदै ओरस्टे जाने बस पनि पाइन्छ ।  यो क्षेत्रमा सामुदायिक होमस्टे छन् । यो अवधिमा घर–घरमा होमस्टेको व्यवस्था गरिएको छ । प्रति व्यक्ति बेलुकी खाना, सुतेको र बिहान खाजा गरी प्रतिब्यक्ति ६ सय निर्धारण गरिएको छ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…