February 7, 2020

गोक्यो तालमा आइस हक्की र स्केटिङ आउँदो साता

वेद गुरुङ

Skating and Ice Hockey
काठमाडौं– सोलुखुम्बुको सगरमाथा क्षेत्रमा रहेको गोक्यो तालमा आउँदो साता ( फ्रेबुअरी १४ मा) मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय (भिएनवाइ), नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) लगायतका संस्थाको सहकार्यमा ४ हजार ७ सय ९० मिटर उचाइमा रहेको गोक्यो तालमा प्रतियोगितामा हुन लागेको हो । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुकाे सहभागिता रहने छ।

भ्रमण वर्षलाई प्रवर्द्धन गर्न, पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले गोक्यो तालमा हक्की र आइस स्केटिङ गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज वैद्यले बताए । उनले भने, ‘नेपाल भ्रमण वर्ष सफल बनाउन हरेक माहिना केही न केही नयाँ र पर्यटन प्रवर्द्धन हुने खालको काम गन र कसरी स्थानीयसम्म पुर्‌याउन सकिन्छ भन्नेमा केन्द्रित भएर लागिरहेका छौं ।’

उच्च हिमाली भेगमा नयाँ खेलको मध्यमबाट पर्यटनको विकास गर्ने लक्ष्य अनुसार गोक्योमा आइस हक्की मैत्रीपुर्ण प्रतियोगिता आयोजना गर्न लागेको उनको भनाई छ ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यो ठाउँ स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाईको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङका लागि उपयुक्त बनेको छ।

गोक्यो क्षेत्रमा ६ मुख्य ताल छन् । सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० हेक्टर क्षेत्रलाई रामसार क्षेत्र घोषणा गरिएको बताउँदैे खेल हुनुपूर्व अमेरिकी विशेषज्ञले तीन सातासम्म स्थलगत अध्ययन गरी उपयुक्त भएको निष्कर्ष निकालिएको संयोजक वैद्यले बताए ।

नेपालका धेरै हिमालमा आईस हक्की र आईस स्केटिङ खेलहरु खेल्न सकिने ठाउँ भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताए । पर्यटकीय सम्भावना रहेका क्षेत्रको प्रवर्द्धन गर्दै विश्वसामु चिनाउन बोर्ड निरन्तर लागि रहने उनले बताए ।

यस्तै ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)को समेत यस कार्यक्रमका लागि सहकार्य रहेको टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए । भ्रमण वर्ष सफल बनाउन यसमा प्राथमिकताका साथ सहकार्य गरेको उनको भनाई छ ।

प्रतियोगितामा सहभागी हुन अमेरिका, रसिया, क्यानडा र भारत लगायतका खेलाडी नेपाल आइसकेका छन् ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…