February 27, 2020

बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण

स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराद्वारा बुधबार आयोजित तम्घासको मदाने गाउँपालिका–२ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षणमा भाग लिँदै प्याराग्लाइडिङ्ग चालक । तस्बिर : हुमाकान्त पोखरेल, रासस

तम्घास– गुल्मीको मदाने गाउँपालिका–२ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए ।

मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा दुई लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । कसुरेडाँडा समुन्द्री सतहबाट दुई हजार १५० मिटरको उचाइमा छ । कसुरेडाँडा प्याराग्लाइडिङको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए ।

उनले पोखराको सराङकोट पनि एक हजार ४५० मिटरको उचाइमा भएकाले लामो र छोटो दूरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए । लामो दूरीका लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दूरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ विस्थापित हुने अवस्था रहेकाले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताए ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…