March 8, 2020

लमजुङमा आदिवासी जनजाति सांस्कृतिक पर्यटन महोत्सव

Lamjung Tourism Festival

लमजुङ । सदरमुकाम बेंसीसहरमा दोस्रो आदिवासी जनजाति लमजुङ सांस्कृतिक एवं पर्यटन महोत्सवको रमझम छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार चैत २ गतेसम्म बेंसीसहरको दनाइँफाँटमा महोत्सव हुनेछ । कोराना भाइरसको हल्ला भएपनि महोत्सवमा यसको कुनै असर नपरेको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष हरिजंग तामाङले बताए ।

विश्वभर फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रणमा नआएसम्मलाई मानिसहरु जमघट हुने कुनै पनि कार्यक्रम नगर्न र सहभागी नहुन गण्डकी सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार आह्वान गरे पनि पूर्वनिर्धारित कार्यक्रम र आयोजकले धेरै तयारी गरेकाले पोखरा रंगशालामा अठारौं आहा रारा गोल्ड कप र लमजुङको आदिवासी जनजाति महोत्सवलाई भने अनुमति दिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । शुक्रबार बेंसीसहरमा महोत्सव शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले कोरोनाबाट बच्न आग्रह गरे । कोरोना भाइरसले पर्यटन क्षेत्रमासमेत नकरात्मक असर पारेको उनको भनाई थियो ।

Lamjung Tourism Festivalनेपाल सरकार र स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्य सचेतनाको सम्मान गर्दै महोत्सव अवधिभर स्वास्थ्य सचेतनाको कार्यक्रम तथा महोत्सवलाई सचेतना मञ्चको रुपमा समेत अघि सारिएको आयोजक अध्यक्ष तामाङले बताए । ‘मौलिक संस्कृति, भाषा र सभ्यता हाम्रो पहिचान–एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका महोत्सव आयोजना गरिएको हो । कोराना भाइरसको हल्ला चले पनि यसबाट कुनै खतरा नहुने भएकाले १० दिनसम्म नै महोत्सव सञ्चालन हुने उनले बताए ।

महोत्सवस्थलमा आदिवासी जनजातिका संग्रहालय, नमुना घर, स्टल छन् । १ सय ७५ वटा स्टल निर्माण गरिएका छन् । महोत्सवले आदिवासी जनजातिको मौलिक कला संस्कृतिको विकास, ग्रामीण पर्यटनबाट आर्थिक समृद्धिमा टेवा, आदिवासीको सीप ज्ञानको अनुसन्धान साथै यसको विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । जातीय खाना र परिकार साथै पोषकले मौलिक संस्कृतिको जगेर्ना गर्ने अपेक्षा गरिएको छ ।

Lamjung Tourism Festivalआदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवको सुरुवाती दिन शुक्रबार मनाङे चौताराबाट जातीय साँस्कृतिक झाँकी तथा र्‍याली निकालिएको थियो । महोत्सवमा शैक्षिक, विज्ञान तथा कृषि प्रदर्शनी, बाल उद्यान, बाल मेला सूचना प्रविधि सम्बन्धी जानकारी तथा मेला, स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, आदिवासी जनजाति समुदायको दैनिक रुपमा फरक–फरक सांस्कृतिक प्रस्तृति राखिएका छन् ।

महोत्सव अवधिभर मर्स्याङ्दी नदीको बेलौती बिसौनादेखि झिंगो खोलासम्मको दोभानसम्म र्‍याफ्टिङ, विभिन्न जातजातिको साँस्कृतिक घर, जातीय खाना तथा खाजा, आदिवासी जनजातिको जन्म–मृत्यु संस्कारमा चाहिने सामाग्री, जातीय पुस्तक, पोषाक, विभिन्न बाजागाजा, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ । दुई लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा दुई करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव स्थल प्रवेशको लागि सर्वसाधरणलाई ५० रुपैयाँ साथै जेष्ठ नागरिक र विद्यार्थीलाई ३० रुपैयाँको टिकट राखिएको छ ।

Lamjung Tourism Festival

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…