March 10, 2020

इतिहास, प्रकृति र संस्कृतिको सङ्गम : मर्स्याङ्दी गाउँपालिका

मर्स्याङ्दी गाउँपालिका प्रमुख पर्यटकीय स्थलहरु

Marshyangdi Rural Municipality

पर्यटनको प्रचुर सम्भावना बोकेको मर्स्याङ्दी गाउँपालिका लमजुङ जिल्लामा पर्दछ । साविकका सात गाउँ विकास समिति घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले र सिम्पानी मिलेर बनेको यस गाउँपालिका इतिहास, प्रकृति र संस्कृतिको सङ्गमको रूपमा रहेको छ ।

वीर सरदार भक्ति थापाको जन्मस्थान, राष्ट्रकवि माधव घिमिरेको जन्मस्थान, चर्चित विद्वान् डा. हर्क गुरुङको जन्मस्थान र समाधिस्थल तथा कविवर डिल्लीजङ गुरुङको जन्मस्थान पनि यही गाउँपालिकाभित्र पर्दछ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको यो गाउँपालिकाभित्र मनोरम झरना, अनुपम आतिथ्य प्रदान गरिने होमस्टे र प्रकृतिका अन्य अनुपम उपहार पनि छन् । गाउँपालिकाका विभिन्न स्थानबाट मनास्लु, लमजुङ, हिमालचुली र डा. हर्क पिक जस्ता मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

यति मात्र होइन, प्रकृति र संस्कृतिको सङ्गमका रूपमा रहेको मर्स्याङ्दी गाउँपालिकामा मर्स्याङ्दी, खुदी, ङादी जस्ता नदीहरु रहेका छन् । खुदीमा लाग्ने एकादशी, बाहुनडाँडामा लाग्ने तीज, ठूलोबेसीमा लाग्ने माघे सङ्क्रान्ति, भीरपुस्तुनमा लाग्ने चैते दशैँ, बराह पोखरीमा लाग्ने भदौ पूर्णिमा, सिमलचौरमा लाग्ने शिवरात्री मेला सांस्कृतिक आकर्षणका रूपमा रहेका छन् ।

ऐतिहासिक रूपमा भोटसँगको व्यापारिक नाकाका रूपमा पनि रहेको यो गाउँपालिकाको पूर्वमा दोर्दी गाउँपालिका, पश्चिममा क्होलासोंथार गाउँपालिका, दक्षिणमा बेसीसहर नगरपालिका र उत्तरमा मनाङ जिल्लाको नासोङ गाउँपालिका छ ।

भक्ति थापा पार्क

Marshyangdi Rural Municipality

नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी (अङ्ग्रेज) बीच भएको युद्धमा वीरगति प्राप्त गरेका सरदार भक्ति थापाको जन्म सन् १७४१ मा यस गाउँपालिकाको वडा नं. ३ मा पर्ने ढँगैबेसीमा भएको थियो । नेपाल एकीकरणका क्रममा लमजुङ राज्यले गोरखासँग हार व्यहोरेपछि नेपालको तत्कालीन सेनामा उहाँ सरदारका रूपमा सामेल हुनुभएको थियो ।

सन् १८१५ मा नेपाल–अङ्ग्रेज बीचको युद्धका बेला देउथलमा कमान्डरका रूपमा खटिएका थापाले वीरगति प्राप्त गर्नुभयो । उहाँको शूर र वीरताको सम्मान गर्दै अङ्ग्रेज कमान्डरले समेत उहाँको शवमा दोसल्ला ओढाएका थिए । शूरवीर थापाको स्मृतिमा ढँगैबेसीमा पार्क निर्माण गरिएको छ । यस क्षेत्रमा थापासँग जोडिएका अनेक अलिखित कथा तथा स्मरण अझै पनि प्रशस्तै सुन्न पाइन्छ । उहाँले गोठ राखेको स्थान, उहाँका गाईबस्तुको चरिचरन लगायतका क्षेत्रको अवलोकन यसका विशेषता हुन् ।

डा. हर्क गुरुङ समाधिस्थल

Marshyangdi Rural Municipality

बहुमुखी प्रतिभाका धनी विद्वान् भूगोलविद् तथा योजनाविद् डा. हर्क गुरुङको जन्म सन् १९३९ फेब्रुअरी ५ मा यस गाउँपालिकाको वडा नं. ७ स्थित तराञ्चेमा भएको थियो । बेलायतको स्कटल्यान्डबाट भूगोलमा विद्यावारिधि गर्नुभएका गुरुङ नेपालमा योजनाबद्ध विकासको अवधारण भित्र्याउने व्यक्ति हुनुहुन्छ ।

तत्कालीन समयमा गुरुङ समुदायमा जन्मेर पनि लाहुरे नबनेर नेपालको विकासका बारे चिन्तन गर्ने गुरुङको सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । स्वेदशमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा समेत परिचित गुरूङ पर्यटन सहायक मन्त्री र राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत हुनुभएको थियो । निधनपछि उहाँकै इच्छा अनुसार तराञ्चेमा समाधिस्थल निर्माण गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्क

Marshyangdi Rural Municipality

‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमालचुली मुन्तिर पानी भर्ने पधेरो ……………..’ यो मिठो गीतका सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.स. १९७६ असोज ७ गते यस गाउँपालिकाको वडा नं. ६ स्थित पुस्तुन अर्थात् अहिले बाहुनडाँडा नामले परिचित ठाउँमा भएको हो ।

उहाँको सम्मानमा बाहुनडाँडामा पार्क निर्माण गरिएको छ । राष्ट्रकविको जन्मस्थलमा आएर उहाँले पाउनुभएका दुःख, पीडा र उहाँको प्रगतिका बारेमा बुझ्न–जान्न सकिन्छ । साथै उहाँले लेखेका विभिन्न कृतिको अध्ययन गरी उहाँको जीवनबाट प्रेरणा लिन सकिन्छ ।

बराह पोखरी (बाह्र पोखरी)

Marshyangdi Rural Municipality

यस गाउँपालिका वडा नं. ७ स्थित बराह (बाह्र) पोखरी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । ३१ सय मिटरको उचाईमा रहेको यस पोखरीमा जनै पूर्णिमा र जेठ पूर्णिमामा विशेष मेला लाग्छ । पोखरी परिसरमै रहेको मन्दिरमा भाकल र पूजा गरिन्छ । यहाँ पूजा गर्दा आत्मशान्ति हुने तथा मनोकामना पूरा हुने जनविश्वास छ । साथै ढिलोसम्म पनि बोल्न नसकेका बालबालिकालाई पोखरीमा डुबाएर निकाल्दा बोल्ने गरेको पनि बताइन्छ ।

तलङ्यो पोखरी

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. १ स्थित नायुमा रहेको तलङ्यो पोखरी अर्को आकर्षक गन्तव्यका रूपमा रहेको छ । करिब २००० मिटर उचाईको भूभागमा रहेको यो पोखरी अत्यन्त रमणीय स्थानमा छ ।

कालिका मन्दिर

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ६ स्थित भीरपुस्तुनमा रहेको कालिका मन्दिर धार्मिक हिसाबले निकै नै महत्वपूर्ण मानिन्छ । यहाँ बडा दशैँ र चैते दशैँका दिन ठूलो मेला लाग्छ । कालिका देवीको मन्दिरमा भाकल र पूजा गरे आँटेका काम पूरा हुने जनविश्वास छ ।

घनपोखरा होमस्टे

Marshyangdi Rural Municipality
तस्बिर : रुमन श्रेष्ठ ।

लमजुङ जिल्लाकै सबैभन्दा बढी उचाइमा रहेको गाउँमा सञ्चालित यस होमस्टेमा अर्गानिक खानाका साथै विभिन्न लोक नृत्यसहित दोहोरीमा रमाइलो गर्न पाइन्छ । साथै यहाँबाट विभिन्न हिमशृङ्खला, पहाडी हरियाली मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

सिउरूङ होमस्टे

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ३ मा पर्ने यस होमस्टेमा नयाँ खानाको स्वादसँगै विभिन्न सांस्कृतिक कार्यक्रममा रमाउँदै मस्र्याङ्दी नदी र मनास्लु हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।

तामाङ होमस्टे

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ८ मा पर्ने यस होमस्टे तामाङ समुदायले सञ्चालन गरेको हो । यहाँ विभिन्न मनमोहक दृश्यमा झुम्दै अर्ग्यानिक खानाका साथै तामाङ सेलोको मज्जा लिन सकिन्छ । दोहोरीमा मनका कुरा व्यक्त गर्दै रमाउन पाइन्छ ।

भलाम चौर होमस्टे

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ९ मा पर्ने यस होमस्टेमा अर्ग्यानिक खानाको स्वाद लिन पाइन्छ । मनमोहक प्राकृतिक दृश्यावलोकनका साथै गुरूङ समुदायको बाहुल्य रहेको यो होमस्टेमा विभिन्न खालका गुरूङ संस्कृति तथा रहनसहनको अवलोकन र अनुभूत गर्न पाइन्छ ।

रक गार्डेन होमस्टे

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ५ स्थित खानीगाउँमा प्राकृतिक रूपमा चट्टानै चट्टानले विभिन्न आकृति निर्माण भएर बनेको बगैँचा छ । यही चट्टानको बगैँचाका कारण होमस्टेको नाम रक गार्डेन सामुदायिक होमस्टे हुन पुगेको हो । यो पूरै घुम्न झन्डै दुई घण्टा लाग्दछ । रक बगैँचा घुम्दाको आनन्द, स्थानीय अर्ग्यानिक खानाको स्वाद, गुरुङ संस्कृति र हिमशृङ्खलाको अवलोकन यसका प्रमुख आकर्षण हुन् ।

स्याङ्गे झरना

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ४ मा पर्ने यो झरना मनमोहक छ । यो झरना मनाङ जाने राजमार्गमै पर्दछ । यहाँका दुई झरनामध्ये माथिल्लोको उचाई १ सय १० मिटर छ भने तल्लोको उचाई ९० मिटर छ ।

अक्टोपस झरना

 

Marshyangdi Rural Municipality

यस गाउँपालिका वडा नं. ४ स्थित च्याम्चेमा रहेको यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा नहाल्ने कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ झरेको छ । यहाँ पुग्नेले झरना हेरेर स्वर्गको अनुभूति भएको सुनाउने गर्दछन् ।

हामखोला झरना

Marshyangdi Rural Municipality

यस गाउँपालिका वडा नं. ८ स्थित यस झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । गाउँपालिकाको कार्यालय र सडक नजिक भएकाले पनि यसको महत्व अझै बढेको छ । मनाङ जाने बाटोमै रहेको यस झरनाको पर्यटकीय सम्भावना अत्यन्त उच्च छ ।

Marshyangdi Rural Municipality

च्याम्चे झरना

यस गाउँपालिकाको वडा नं. ५ मा पर्ने यो झरना निकै मनमोहक छ । सडकबाट पारि देखिने यो झरना तस्बिर लिन उपयुक्त मानिन्छ । क्यानोनिङका लागि उच्च सम्भावना भएको झरना मध्येमा पर्दछ ।

घनपोखरा झरना

यस गाउँपालिकाको वडा नं. २ मा पर्ने घनपोखरा झरना पनि अर्को मनमोहक पर्यटकीय क्षेत्रका रूपमा रहेको छ । यसमा क्यानोनिङको उच्च सम्भावना छ ।

हनी हन्टिङ (मह सिकार)

Marshyangdi Rural Municipality

साहसिक गतिविधिका रूपमा विश्वभर चर्चा कमाएको हनी हन्टिङ (मह सिकार) पनि यस गाउँपालिकाका विभिन्न स्थानमा हुने गर्दछ । पर्यटकले यस गाउँपालिकाका वडा नं. २, ४, ५, ६ र ७ मा अग्रीम जानकारी गराएर हनी हन्टिङ (मह सिकार) अवलोकन पनि गर्न सकिन्छ ।

हर्सिङ डाँडा

Marshyangdi Rural Municipality

गाउँपालिकाको वडा नं. ३ मा पर्ने हर्सिङ डाँडा सुन्दर दृश्य अवलोकनका लागि उपयुक्त स्थान हो । यस डाँडामा वीर भक्ति थापाले गोठ राखेको भनाइ छ ।

जगत तातोपानी कुण्ड

Marshyangdi Rural Municipality

गाउँपालिकाको वडा नं. ४ जगतमा रहेको तातोपानी कुण्ड पर्यटकका लागि आकर्षण बनेको छ । कुण्डमा नुहाएमा विभिन्न खालका रोग निको हुने बताइन्छ ।

बाहुनडाँडा तातोपानी कुण्ड

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ६ मा पर्ने बाहुनडाँडामा रहेको तातोपानी कुण्ड चर्चित छ । यहाँ सयौँ मानिस नुहाउन आउँछन् । यहाँ नुहाउँदा विभिन्न किसिमका छाला सम्बन्धी रोग निको हुने विश्वास छ ।

सुरुङ मार्ग

Marshyangdi Rural Municipality

नेपालको पहिलो सुरुङ मार्ग यस गाउँपालिकाको वडा नं. ८ मा अवस्थित छ । यो सुरुङ मार्ग माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले निर्माण गरेको हो । यो सुरूङ मार्गको लम्बाई २ सय ९६ मिटर छ ।

ड्याम साइट

Marshyangdi Rural Municipality

यस गाउँपालिकाको वडा नं. ७ स्थित ङादीमा रहेको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनाको ड्याम साइट पनि पर्यटकीय गन्तव्यका रूपमा रहेको छ ।

संस्कृति

Marshyangdi Rural Municipality

करिब २२ हजार जनसङ्ख्या रहेको यस गाउँपालिकामा विभिन्न जातजातिको बासोबास रहेको छ । त्यही अनुरूप सांस्कृतिक रूपमा पनि गाउँपालिका विविधताले भरिपूर्ण छ । विभिन्न होमस्टेमा घाँटु, सोरठी, कृष्ण चरित्र, बालुन, जोरीमाई, झ्याउरे, तामाङ सेलो, भजन लगायतका सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइन्छ ।

Marshyangdi Rural Municipality

  • काठमाडौं–बेसीसहर (१ सय ७६ कि.मि. कालोपत्रे)
  • चितवन–बेसीसहर (१ सय २ कि.मि. कालोपत्रे)
  • पोखरा–बेसीसहर (१ सय ८ कि.मि. कालोपत्रे)
  • बेसीसहर–खुदी (७ कि.मि. कच्ची सडक)
  • खुदी–घनपोखरा होमस्टे (१४ कि.मि. कच्ची सडक)
  • खुदी–शिउरुङ होमस्टे (१५ कि.मि. कच्ची सडक)
  • खुदी–रक गार्डेन होमस्टे (१५ कि.मि. कच्ची सडक)
  • खुदी–तामाङ होमस्टे, भुस्मे (७ कि.मि.कच्ची सडक)
  • खुदी–भलामचौर होमस्टे (७ कि.मि. कच्ची सडक)
  • खुदी–बराहपोखरी (करिव १५ कि.मि. कच्ची सडकपछि पैदल यात्रामा ३/४ दिन प्याकेज कार्यक्रम तय गरि जान सकिने)

Marshyangdi Rural Municipality

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…