March 10, 2020

मट्टीखानमा सामुदायिक होमस्टे

फेदीखोला गाउँपालिका–१ मा अयरपानी सामुदायिक होमस्टे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी । तस्बिर : मणिलाल गुरुङ

स्याङजा– स्याङजाको फेदीखोला गाउँपालिका–१ मट्टिखान अयरपानीमा अयरपानी सामुदायिक होमस्टे संचालनमा आएको छ ।

शनिबार फेदीखोला गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले होमस्टेको उद्घाटन गरे । अध्यक्ष सुवेदीले पछिल्लो समय अन्तरिक पर्यटकहरु सहरबाट टाढा शान्त, सुन्दर रमणीय गाउँ ठाँउमा जाने गरेकाले होमस्टेले पूरा गर्ने बताए । होमस्टेले गाउँपालिकाको आर्थिक विकासमा सहयोग पुग्ने भन्दै अध्यक्ष सुवेदीले यसको विकासका लागि सक्दो गर्ने बताए ।

होमस्टेमा हाल ९ घरबाट सेवा संचालनमा ल्याइएको छ । अहिले ३० जनासम्म पाहुना राख्न सकिने ब्यबस्था रहेको होमस्टेका सचिव राजकुमार गुरुङले बताए । उनले ११ घर थपेर २० घर पुर्‌याउने लक्ष्य रहेको समेत बताए । पुराना घर मर्मत तथा होमस्टे व्यवस्थापनमा गाउँपालिकाको ४ लाख सहयोगसहित करिब ३० लाख खर्च भएको सचिव गुरुङले बताए ।

फेदीखोला गाउँपालिका–१ मा अयरपानी सामुदायिक होमस्टेमा पाहुनाको स्वागतमा बसेका स्थानीय । तस्बिर : मणिलाल गुरुङ ।

 

पोखराबाट पश्चिम छोरेपाटन हुँदै १२ किलोमिटर र सिद्धार्थ राजमार्गको फेदीखोला कुभिन्डेबाट साढे ५ किलोमिटरमा यहाँ पुग्न सकिन्छ । गुरुङ जातिको बाहुल्य भएको यो गाउँमा बिभिन्न कला संस्कृति पनि हेर्न पाइन्छ । मट्टीखान गाउँको भ्यू टावरबाट पोखरा, फेदीखोला, भाटखोला, आँधीखोला, धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिम श्रृंखला देख्न सकिन्छ ।

होमस्टेमा आउने पाहुनालाई ७५ प्रतिशत स्थानीय अर्गानिक खाना खुवाउने गरेको छ । गाउँमै उत्पादन गरिएको सिताके च्याउ, कोदो, मकै, सिस्नु, आलु, सागसब्जी, लोकल कुखराको मासु र विभिन्न खानाका परिकार उपलब्ध रहेको होमस्टेकी अध्यक्ष सपना गुरुङले बताइन् । दुई छाक खाना र खाजाको एक हजार तोकिएको छ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…