March 12, 2020

यस कारण मादीको समृद्धिको पहिलो आधार पर्यटन

  • वेद बहादुर गुरुङ (श्याम), अध्यक्ष – मादी गाउँपालिका, कास्की

Tourist attractions of Madi Rural Municipality

मादी गाउँपालिका अहिले वैदेशिक रोजगारी र कृषिमा निर्भर छ । तर, हामी चुनिएर आएपछि सम्भावित क्षेत्र भनेको पर्यटन हो भनेर पहिचान गरेका छौँ । गाउँपालिकाको समृद्धिको पहिलो आधारको रूपमा पर्यटनलाई लिएका छौँ । दोस्रो जलस्रोत र तेस्रो कृषिलाई समृद्धिको आधारको रूपमा पहिचान गरिएको छ । यो हामी जनप्रतिनिधिले मात्र गरेको निर्णय भने होइन, विज्ञहरूसँगको छलफलको आधारमा तय गरिएको प्राथमिकता हो ।

यस गाउँपालिकाले पर्यटनलाई मुख्य आधार बनाउनुको कारण यहाँको प्राकृतिक वरदान हो । हामी जुन भूगोलमा छौँ, यो भूगोल जैविक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । यही विविधतालाई हामीले पर्यटन विकासको मुख्य आधार मानेका छौँ ।

Tourist attractions of Madi Rural Municipality
वेदबहादुर गुरुङ

यहाँ अहिलेसम्म हामीले दुनियाँलाई भन्न नभ्याएका, देखाउन नसकेका विश्वलाई नै चकित पार्ने खालका रहस्यमयी प्राकृतिक बनोटहरू तथा स्वरूपहरू छन् । पुर्खाले छाडेका सांस्कृतिक सम्पदाहरू छन् ।

हाम्रो केही अप्ठ्याराहरू पनि छन् । पहाडमा कृषि योग्य जमिन कम छ । भविष्यमा जडीबुटीलगायत चिजहरूको लागि काम गर्न सकिएला तर अहिले सुरु गरेर फाइदा लिन सकिने हामीले पर्यटनलाई नै देख्यौँ । विज्ञहरूले समृद्धिको लागि दिगो आधार पर्यटन हो भनेर निष्कर्ष निकालेका छन् ।

यहाँ पर्यटकीय सम्भावना बोकेका प्रशस्त गन्तव्यहरू छन् । नेपालकै सबै भन्दा होचो ठाउँको ग्लेसियर यही छ । कफुचे हिम तालले पर्यटकलाई बिस्तारै पर्यटकलाई आकर्षित गर्न थालेको छ । यहाँ १२ बजेपछि हिम पहिरो (स्नो फलिङ) हुन्छ । यसको अवलोकन रोमाञ्चक हुन्छ । भूगोलको विद्यार्थी र अनुसन्धानकर्ताहरूको लागि यो चासोको विषय पनि हुनुपर्ने हो ।

त्यसै गरी कोरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको फेदमा रहेको अत्यन्तै सुन्दर भेडी खर्क हो । यो ठाउँबाट नजिकै हिमश्रृंखला देखिन्छ र हिमाली जनजीवनको अनुभव गर्न पाइन्छ भने दक्षिणतिर तराईका फाँटहरू टाढा–टाढासम्म देख्न सकिन्छ । यो ठाउँ जैविक विविधताले पनि भरिपूर्ण छ । यहाँ हिमाली भेगमा फुल्ने सबै खाले फुल र जडीबुटीहरू पाइन्छ । यति मात्र कहाँ हो र? टु लेक र दुधपोखरी ताल हाम्रै गाउँपालिका भित्र पर्दछ । दुधपोखरी धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । प्राकृतिक सुन्दरताको हिसाबले पनि मनाङको तिलिचो ताल जस्तै अत्यन्तै सुन्दर हिमालको काखमा रहेको हिम कुण्ड हो, दुधपोखरी । यी दुवै तालको पनि ठुलो पर्यटकीय सम्भावना छ ।

Tourist attractions of Madi Rural Municipality
सिक्लेस ।

यो गाउँपालिका सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । सिक्लेस गुरुङ जातिको इतिहास र संस्कृति अध्ययनका लागि खुल्ला सङ्ग्रहालय जस्तै हो । अझै पनि गुरुङ संस्कृति अध्ययनको लागि यहाँ धेरै अवयवहरू जीवित छन् । यो गुरुङको ठुलो बस्ती पनि हो ।

सिक्लेस, कफुचे हिमताल, कोरी, थुर्चुहुँदै दुधपोखरी घुमेर नामुन भन्ज्याङ पास गरेर मनाङ निस्कने बाटो पनि छ । यो अत्यन्तै पौराणिक पदयात्रा मार्ग हो । पहिले कास्कीका बासिन्दा त्यही बाटो भएर मनाङ हुँदै भोट खोलासम्म नुन लिन जाने गर्दथे । त्यस बेला यो पदमार्ग प्रख्यात थियो । तर, पछि काली गण्डकी र मर्स्याङ्दीको तीरबाट पर्यटकहरू हिँड्न थाले पछि यो नामुन भन्ज्याङ भएर जाने पदमार्ग ओझेलमा पर्यो ।

अहिले काली गण्डकी र मर्स्याङ्दीको तिरैतिर मोटर बाटो बनेकाले पदयात्रा रुचाउनेहरूको लागि यो रमणीय मार्ग एउटा राम्रो विकल्प हुने देखिएको छ । सिक्लेसदेखि तिमानसम्म दश दिनको पदयात्रा हुनसक्छ । यसलाई अन्नपूर्ण पदयात्रासँग जोड्न पनि सकिन्छ । यति मात्र होइन, विभिन्न खालका पदमार्ग र गन्तव्यको रूपमा विकास गर्न सकिने धेरै डाँडा, खर्क, खोला, ताल र गुफाहरू यस गाउँपालिकामा छन् ।

Tourist attractions of Madi Rural Municipalityहामीसँग साना ठुला १४ वटा हिमालहरू छन् । कति हाम्रो गाउँपालिका भित्रै पर्दो रहेछ भनेर त्यसको सलामीको भाग आएपछि थाहा पयौं । ती हिमालहरू मनाङतिरबाट चढ्दा रहेछन् । यसले हामीलाई थप उत्साहित बनाएको छ । यतैबाट पनि प्रवर्द्धन गर्न सकियो भने पर्वतारोहणबाट यताका स्थानीयले पनि फाइदा लिन सक्ने छन् । हिमालको फेदमा रहेका बस्तीहरूलाई हामीले पर्यटनसँग जोड्न सकियो भने त्यहाँको समृद्धिमा टेवा पुग्ने छ । पर्यटकीय गतिविधि बढाउन सकियो भने जनताले गाउँ छाडेर जाने छैनन् । त्यसैले हाम्रो पर्यटक विकास गाउँहरूमा आर्थिक गतिविधि बढाउने र गाउँ छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेतर्फ केन्द्रित रहेको छ ।

मादी गाउँपालिका अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पनि पर्दछ । यसका १२ वडाहरू मध्ये ८ वटा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । करिब ८० प्रतिशत भूभाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । यसले बिदेशी पर्यटकको सन्दर्भमा जटिलता उत्पन्न गराएको छ । यस गाउँपालिकाको याङ्जाकोट, सिक्लेस र ताङतिङमा प्रशस्त आन्तरिक पर्यटकहरू आउन थालेका छन् । प्रशस्त मात्रमा होमस्टे र होटेलहरू थपिँदै गएको छ । तर विदेशी पर्यटक आउन सकिरहेका छैनन् । अन्नपूर्ण संरक्षण क्षेत्रले संरक्षण शुल्क भनेर प्रवेश शुल्क उठाउने गरेको छ । त्यस कारणले पनि यहाँ विदेशी पर्यटक आउन नसकेको भन्ने गुनासाहरू आइरहेका छन् । थप धेरै गन्तव्यहरूका बारेमा हामीले प्रवर्द्धन गर्न सकेका छैनौ । यसरी हेर्दा अहिले विदेशी पर्यटक सुन्यकै अवस्थामा छ ।

Tourist attractions of Madi Rural Municipalityत्यसैले हामीले पर्यटन विकासको रणनीति बनाएका छौँ । यसमा प्रवर्द्धन भन्दा पहिले आधारभूत पूर्वाधार बनाउने हाम्रो काम भइरहेको छ । क्याम्प साइटहरू बनाउने, बाटोहरू बनाउने, सडक बनाउने, पदमार्ग निर्माण गर्ने, पानीको व्यवस्था गर्ने, फोनको टावरहरू बनाउनेलगायत पूर्वाधार बनाउन हामी लागेका छौँ । दुई/तीन वर्ष पूर्वाधारमा ध्यान दियौँ, अहिले पनि जारी छ । त्यसैले अव हामी प्रवर्द्धनात्मक कार्य गर्न सुरु गरेका छौँ । बिस्तरै प्रवर्द्धनलाई पनि सँगसँगै लैजानु पर्छ भनेर लागि परेका छौँ ।

गुरुङको आदिम बस्ती क्व्होलासोथार यही गाउँपालिका भित्र पर्दछ । त्यसको प्रवर्द्धनको लागि पनि हामीले काम गरिरहेका छौँ । यहाँ लाली गुराँस र हिउँसँग लुकामारी खेल्दै घुम्ने ठाउँहरू प्रशस्त छन् । पोखराबाट जम्मा ३५ किलो मिटरको दुरीमा रहेको क्रपु त्यस्तै महत्त्वपूर्ण र रमणीय स्थान हो । समुन्द्री सतहदेखि ३ हजार ८५ मिटरको उचाइमा रहेको यो डाँडाको पर्यटकीय सम्भावना ज्यादै राम्रो छ । क्रपुबाट कास्की र लमजुङको धेरै जसो ठाउँहरू देख्न सकिन्छ । हिमालहरूको दृश्य अवलोकन गर्न सकिने यो ठाउँलाई मादीको शिरको रूपमा लिइन्छ । यो यस क्षेत्रकै साझा लेक हो ।

Tourist attractions of Madi Rural Municipalityगुरुङ भाषामा ‘क्र’ को अर्थ शिर भन्ने हुन्छ । सबैको शिर भएकोले यसलाई क्रपु भनिएको हो । यो ठाउँमा कास्की र लमजुङको सबै ठाउँहरूबाट पुग्न सकिन्छ । पर्यटकहरूलाई ट्रेकिङ गराउनको लागि महत्त्वपूर्ण ठाउँको रूपमा रहेको छ । यस गाउँपालिकालाई प्याराग्लाईडिङ र साइक्लिङको लागि राम्रो सम्भावना भएको ठाउँको रूपमा पनि लिइन्छ । यही क्रपुबाट हामीले दश दिने मादी पर्यटन महोत्सव सुरु गर्ने तयारी गरेका छौँ । यस महोत्सवले मादी गाउँपालिकाको पर्यटकीय सम्भावनालाई अझ उजागर गर्ने आशा गरेका छौँ ।

मादी गाउँपालिकाले दुई वर्ष लगाएर यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भिडियो र फोटोहरू लिएको छ । यसलाई हामी भिडियो डकुमेन्ट्रीको रूपमा प्रचार प्रसारमा ल्याउने छौँ । त्यसै गरेर ब्रोसरहरु बनाएर पनि प्रचार गर्ने छौँ । सञ्चार माध्यमहरूबाट गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यहरूको बारेमा प्रचार प्रसार गरिने छ । सङ्घीय र प्रदेश सरकारसँग पनि यस सम्बन्धमा हामी सहकार्य गर्ने छौँ ।

Tourist attractions of Madi Rural Municipality
क्व्होलासोथारमा मादी गाउँपालिकाको कार्यपालिका बैठक बस्दै ।

यो लेख कुराकानीमा आधारित भएर तयार पारिएको हो । तस्बिरहरु सबै गुरुङका फेसबुकबाट लिइएका हुन् । 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…