May 29, 2020

सर्वोच्च शिखरमा मानव पाइला परेको यो दिन

  • हाइलाइट्स टुरिजम
Mt. Everest expedition
सगरमाथा आरोहणको झलक ।

काठमाडौं । सन् १९५३ मे २९ का दिन विश्वकै साहसिक गतिविधिमा विशेष दिन । ८८४८ मिटर उचाईमा रहेको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा मानव पाइला परेकाे दिन । यही दिन नेपाली नागरिक तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा विजय प्राप्त गरेका थिए ।

त्यसअघि धेरैले प्रयास गरे र त्यसपछिका दिनहरुमा धेरैको प्रयास सफल भए । तर आजको यो गौरवपूर्ण दिन विषम बनेको छ । यही दिन गत वर्ष सगरमाथाको चुचुरामा पुग्नका लागि सयौं स्वदेशी तथा विदेशीहरु लाम लागेका थिए भने राजधानी काठमाडौं लगायत विश्वका बिभिन्न स्थानहरुमा हर्षोल्लासका साथ सगरमाथा दिवस मनाएका थिए ।

तर आज त्यो रौनक र उत्साह छैन । कोरोना भाइरसको जोखिमका कारण सगरमाथा क्षेत्र मात्र होइन धेरैले आफ्नो दिमगमा समेत आरोहणको चाहना राखेका छैनन् । यदी कोरोनाको विश्वव्यापी प्रकोप नहुँदो हो त यति वेला िवश्वभरका अखबार र सञ्चार माध्यमको शीर्षकमा सगरमाथा छाएको हुने थियो यति बेला । त्यसमा सफल आरोहणको संख्या मात्र हुने थिएन अनेक खालका कीर्तिमानहरु पनि जोडिएका हुनेथिए ।

कोरोनाले विशेष गरी पर्यटन क्षेत्रलाई असर पारेको छ । पर्यटनका अरु क्षेत्रहरु जस्तै पर्वतारोहण पनि यसकाे चपेटामा छ । अन्तर्राष्ट्रिय उडानहरु रोकिएका छन् । नेपालले आरोहणलाई नै स्थागित गरिदिएको छ । यसबाट सगरमाथा अछुतो रहने कुरा भएन, यसकाे मारमा आजको अन्तर्राष्ट्रिय सगरमाथा दिवससमेत पर्यो ।

पर्यटन विभागका अनुसार ६७ वर्ष अघि पहिलो पटक सगरमाथाको शेर्पा र हिलारीले सफल आरोहण गरेपछिको यस अवधीमा ६ हजार ५०१ चुचरामा पुगि सकेका छन् । यीमध्ये तीन हजार ४७८ नेपाली आरोही छन् ।

त्यसै गरेर नेपालको अर्थतन्त्रमा पर्यटनको उल्लेख्य योगदान रहँदै आएको छ । त्यसमा पनि िहमाल आरोहण रोयल्टी िसधा सरकारी कोषमा जम्मा हुने रकम हो । यसमा सगरमाथाको योगदानसँग अरुको तुलना हुन सक्दैन । सन् २०१९ मा हिमाल आरोहणबाट रु ५६ करोड रोयल्टी उठेकोमा सगरमाथाबाट मात्रै रु ४५ करोड रोयल्टी उठेको थियो । गत वर्षको वसन्त ऋतुमा ६६० जनाले सगरमाथा आरोहण गरेका थिए ।

कोरोनाकै कारण पर्वतारोहणमा संलग्न हजारौं श्रमिकहरुको अहिले राेजीरोटी गुमेको छ । हजारौं व्यवसायीहरु समस्यामा परेका छन् । उनीहरु कोरोनाको कहर सकिएर सामान्य अबस्थामा फर्किने आशामा छन् ।

यही अनिश्चितता र अन्योलताका बीच शुक्रबार तेह्रौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस औपचारिक रुपमा सिंहदरवारभित्र पर्यटन मन्त्रालयको सभा हलमा मनाइयो । मन्त्री योगेश भट्टराईलगायत मन्त्रालयका अधिकारीहरु तथा नेपाल पर्वतारोहण संघलगायतका केही पर्यटन सम्बन्धी संघ संस्थाका पदाधिकारीहरुकाे सहभागितामा दिवस मनाइएको हो ।

कार्यक्रममा मन्त्री भट्टराईले चाँडै कोरोनाको त्रास सकिएर सामान्य अवस्थामा फर्कने र अन्य पर्यटन गतिविधिसँगै पर्वतारोहण पनि सुचारु हुने अाशा व्यक्त गरे । त्यसपछि अहिले रोकिएका पुरस्कार र सम्मान वितरण लगायतका कार्य गरिनेसमेत बताए ।
उनले भने, “सगरमाथा नेपालमा छ भन्ने कुरा जति हामीलाई गर्व छ, त्यत्तिकै हाम्रा लागि चुनौती पनि छ । सगरमाथाको स्वच्छता, सुन्दरता र सफाइलाई कायम राख्न धेरै नै चुनौतीपूर्ण छ ।”

विगतमो स्वदेशी तथा विदेशी निकायको समेत सहयोगमा अघिल्लो वर्ष सगरमाथा सफाइ अभियान चलाएर हजारौँ टन फोहर काठमाडौँ ल्याउन सफल भएको र यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको थियो । यो वर्ष कोभिडका कारण हुन नसके पनि छिट्टै यो कामलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

उनले पर्वतारोहण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल र विदेशमा समेत खपत गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले बजेटमा पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएको र यसबारे ऐनको मस्यौदा तयार भई मन्त्रालयमा छलफलका क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले आरोहीको योगदानलाई कदर गर्दै राज्यले सामाजिक सुरक्षालगायतका कार्यक्रम ल्याउनुपर्ने बताए । सर्वोच्च शिखर सगरमाथासहित नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पहिचान भएकाले यसको प्रवर्द्धनका निम्ति सरकारले ध्यान दिन जरुरी भएको पनि उनको भनाई थियो ।

आरोही मिङ्मा डेबिट शेर्पाले आरोहण क्षेत्रमा जीवनको बाजी लगाउने आरोहीको सामाजिक सुरक्षा र आरोहण तालिमलगायतका क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले आरोहणलाई सुरक्षित र व्यवस्थित गर्न स्थायी प्रकृतिको आरोहण उद्धार टोली बनाउन पनि माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

तीन सय वर्ष पुरानो निगु पुखुःलाई पुनर्जीवन

भक्तपुर । साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको…