June 4, 2020

यसरी मनाइन्छ डेढ हजार वर्ष पुरानो पनौती जात्रा

ऐतिहासिक नगरी काभ्रेकाे पनौती । 

काभ्रे । कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म सञ्चालन हुँदै आएको थियो ।

जात्रामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने भएकाले दर्शनार्थीको आवतजावत तथा भीडभाडले स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने जनाउँदै पनौती नगरपालिकाले यस वर्ष क्षमापूजामात्रै गरिने जनाएको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले यस वर्षको पनौती जात्रा जेठ पूर्णिमाका दिन क्षमापूजामा मात्रै सीमित हुने बताए । उनले भने, ‘क्षमापूजामा पनि सामाजिक दूरी कायम गरीदिन आग्रह गरेका छौँ ।’ नगरले आगामी वर्ष नियमित एवं भव्यरूपमा जात्रा मनाइनेसमेत सार्वजनिक अपिल गरेको छ ।

‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको थियो । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँदै आएका थिए स्थानीयवासी ।

जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने चलन रहँदै आएको थियो यहाँ । जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिएको हो । यहाँको जनविश्वासअनुसार जात्रा अविधिभर र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको अनुभव पनि छ यहाँका बासिन्दासँग ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए ।

त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको बताइन्छ । साथै जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौडसँगै ‘यौन क्रियाकलाप’मा रुमलाउँदै एकापसमा जुधाउने काम हुन्थ्यो । किंवदन्तीअनुसार भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्दथे । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको स्थानीय युवा सौगात बस्नेतले बताए ।

उनका अनुसार कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले यसअघि जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…