June 8, 2020

छाएन रौनक हनि हन्टिङमा

Honey Hunting
काठमाडौं । भिरमा मह काढ्ने कार्य पहाडका केही आदिवासी समुदायको परम्परागत पेशा हो । तर केही वर्षयता यसले उत्सवको रुप लिन थालेको थियो । डोरीको भरमा भीरमा झुण्डिएर काढिने हुँँदा यसले साहसिक कार्यको रुपमा चर्चा पाउँदै अाएको थियो ।

मह काढेको हेर्न नेपाली मात्र होइन विदेशी पर्यटकहरु पनि गाउँ पुग्न थालेका थिए । कतिपयले यसको भिडियो छ्या‌ङ्कनसमेत गर्ने गर्थे । यसबाट नेपाली पर्यटक घुमाउने एजेन्सीहरुका लागि प्याकेज बढेको थियो । गाउँलेका लागि अाम्दानी ।

कातिक र चैत-बैशाखमा गरिने महशिकारलाई पनि यस वर्ष कोरोनाको महामारीले छोयो । गुरुङ र मगरहरुले गर्ने यो महशिकार यो वर्ष पनि गरियो तर विगतकाे जस्तो उत्सवको रुपमा होइन । त्यसभन्दा धेरै अघिको जस्तो मह निकाल्नका लागि ।

बाग्लुङबाट राससका तारानाथ शर्माले लेखेको िरपोर्ट अनुसार भिरमौरीको मह काढ्ने ताराखोलाको परम्परा नै हो । कोरोना कहरका कारण पहिलेका वर्षहरुमा जस्तो यो वर्ष मौरीभिरमा रौनक आएन । ताराखोलाका मगर जातिको परम्परा नै भएकाले भिरमौरीको मह यो वर्ष पनि काँडियो तर विगतमा जस्तो धेरै गाउँले जम्मा भएनन् ।

सामाजिक दूरी कायम गर्नुपर्ने, एक–अर्काबीच सचेत र सजग हुनुपर्ने भएकाले आवश्यक मान्छेहरुको समूहमात्रै भिरमा पुगेर मह काढ्ने काम शुरु भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताएका छन् । वर्षौँदेखि आफ्नो पुख्र्याैली चलनका रूपमा ताराखोलावासीले ज्यानै दाउमा राखेर डरलाग्दो भिरबाट भिरमौरीको मह निकाल्दै आएका छन् । हरेक वर्ष जेठको अन्त्यतिर शुरु हुने यहाँको मह काढ्ने उत्सव यो वर्ष पनि शुरु भएको छ । मह काढ्न जानेहरू झण्डै ५०० मिटरभन्दा अग्लो भिरमा डोरीबाट निर्माण गरिएको भर्याङको सहायताले भिरमा सिङ्गौरी खेल्दै मह निकाल्छन् ।

More read: Betting on Life for Cliff Bee Honey Hunting

ताराखोलामा निङ्गालोको चोयाले बनाएको डोरीको सहयताले भिरमा जाने चलन छ । मौरीको टोकाइबाट बच्न शरीरमा बाक्लो कपडा, हातमा पञ्जा र अनुहारमा जाली लगाएर मह सिकारीहरू भिरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन् अनि मौरीका चाकाहरू खसाल्छन् । मौरीका पोला खसालेर राख्ने अनि मह काढ्ने परम्परागत बाँसको चोयाका सामग्रीकै प्रयोग हुने गरेको छ । धार्मिक परम्परासँग समेत जोडिएको यहाँको भिरमैरीको मह काढ्नका लागि निश्चित प्रक्रिया पुर्याउनुपर्ने मान्यता रहेको अध्यक्ष घर्तीले बताए ।

“भिरमा आगो लगाउनुपूर्व पूजाआजा हुन्छ, त्यहाँ जाने चोखो बस्नुपर्ने मदिरा खान नहुने मान्यता छ”, उनले भने, “यो सबै गर्दा चोटपटक लाग्दैन, सुरक्षित भइन्छ भन्ने मान्यता मगर समुदायमा छ ।” भिरमा मौरीको घार रहेको आधारमा यहाँको शिकार कति दिन लम्ब्याउने भन्ने कुराको निर्धारण हुन्छ । यो वर्ष ताराखोलाका महभिरमा १६ घारको शिकार हुँदैछ ।

पाँच दिन लगाएर सबै घारको शिकार गर्ने योजना रहेको राताखोलाका स्थानीय महेन्द्र घर्तीले बताउनुभयो । हरेक वर्ष हुने यहाँको भिरमौरीको शिकारबाट १५० देखि २५० लिटरसम्म मह निकाल्ने गरिएको छ । गाउँले सबै जम्मा भएर बाँड्ने भएकाले व्यावसायिक खरिद बिक्री त हुँदैन तर बाँडेर घर लगेकाहरुले यहीँ मह बेचेर आम्दानीसमेत गर्ने गरेको अध्यक्ष घर्तीले बताए । भिरमा सिकार खेल्न गएकाहरू कसैले भ¥याङ तयार पार्छन्, कोही खाना पकाउँछन्, कोही भिरमा चढ्छन् त कोहीले जमिनबाट डोरीको सहायतामा टोकरी तलमाथि गर्दै महका चाकाहरू जमिनसम्म झार्छन् ।

डोरीमा झुण्डिएर भिरमा बसेर चाका खसाल्ने काम गर्ने व्यक्तिलाई अरूको तुलनामा दोब्बर मात्रामा मह भाग लगाइन्छ भने अरू काम गर्नेहरूले समान परिमाणमा मह पाउँछन् । आफ्नो भागमा पर्ने महलाई उनीहरू एकै ठाउँमा बसेर परम्परागत रूपमै प्रशोधन गरेर सबैलाई बाँड्ने चलन ताराखोलामा छ । पहिले ताराखोलामा रहेका मगर समुदायको थरका आधारमा भिर बाँडिन्थ्यो । आ–आफ्नो भिर भागमा पर्नेहरुले मात्रै मह काँड्थे तर अहिले सबै मिलेर मह काँड्ने गरेको बुढापाकाहरु बताउँछन् ।

गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयवासीको पुर्ख्यौली पेसाको संरक्षण र पर्यटनसँग जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको अध्यक्ष घर्तीले बताए । “हनि हन्टिङमा धेरैको चासो छ, यो वर्षदेखि यसलाई पर्यटनसँग जोडेर महोत्सव चलाउने योजना थियो तर कोरोनाले प्रभावित भयो”, उनले भने, “आगामी दिनमा हामी थप व्यवस्थित गर्छौँ ।”

भिरमौरीको मह औषधिका रूपमा प्रयोग हुने गरेको छ । जङ्गलमा बस्ने मौरीले जङ्गलमा नै पाइने विभिन्न जडीबुटीका फूलबाट रस लिने भएकाले भिरमौरीको महलाई घर मौरीको महभन्दा पनि बढी महत्वको मानिन्छ । शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष फाइदा दिनुका साथै शक्ति प्रदान गर्ने तत्वका रूपमा पनि भिर महलाई लिने गरिन्छ ।

भिरमौरीको मह गाउँबाट नै एक लिटरको झन्डै रु एक हजार ५०० मा बिक्री हुने गरेको भिर मह जिल्लाका बाहिरका बजारमा पठाउँदा भने अझै महङ्गो हुने गरेको छ । ताराखोलाका हिल अर्गललगायतका ठाउँमा समेत तीन वर्षको अन्तरमा भिरमौरीको महको शिकार हुने गरेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…