June 26, 2020

कोञ्ज्योसोममा तामाङ सांस्कृतिक ग्राम बनाइने

ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा तामाङ सांस्कृतिक ग्रामको अवधारणा विकास गरी त्यसलाई मूर्त रुप दिने भएको छ ।

“कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासनयुक्त सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार” भन्ने दीर्घकालीन सोचसहित गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ७५.७८ प्रतिशत तामाङको बाहुल्य रहेका क्षेत्रमा मातृभाषा संरक्षणका लागि सामुदायिक विद्यालयमा ऐच्छिक विषयका रुपमा कक्षा ५ सम्म क्रमशः तामाङ भाषा पठनपाठन हुने व्यवस्था मिलाइने पनि घोषणा गरे ।

यसैगरी “हाम्रो कोञ्ज्योसोम राम्रो कोञ्ज्योसोम” भन्ने मान्यतानुरुप झोलुङ्गे र मोटरेवल पुल, सडक वा पूर्वाधार निर्माणका क्रममा वन फँडानी भई हुन सक्ने वातावरणीय क्षति न्यूनीकरण गर्न एक रुख बराबर पाँच बिरुवा रोपण तथा ऐलानी र प्रतिजग्गाको अभिलेखीकरण गरी संरक्षण र समुचित उपभोग गर्नेतर्फ पहल गरिने भएको छ ।

कोञ्ज्योसोमले लिफ्टिङ प्रविधिमार्फत ठोस्ने र नल्लु खोलाको पानीबाट सिंचाइको व्यवस्था गरी १२ महिना खेती, एक वडा एक खेलकूद मैदान, आउँदो आव कृषि तथा पशुपक्षी वर्ष घोषणा तथा चाडपर्व, शुभकार्य, जन्म र मृत्यु संस्कारबाहेक अन्य बेला मदिराको उपभोगमा यथाशीघ्र कार्यविधि बनाई नियन्त्रण गरिने भएको छ ।

कोञ्ज्योसोमे प्रत्येक वडा तथा सामुदायिक विद्यालयमा बालमैत्री शासनको अवधारणानुरुप बाल क्लब तथा बाल क्लब सञ्जाल गठन र पुनःगठन गर्ने, गाउँपालिकामा खटिने स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप यातायात खर्च दिने, आयुर्वेद चिकित्सा पद्धति अपनाइने एवं ध्यान तथा योग केन्द्रको स्थापना गर्न पहल गर्ने जनाइएको छ ।

चालु आर्थिक वर्षमै चौघरे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्षमा महावीरखोला दलचोकी लिफ्टिङ खानेपानी आयोजनालाई निरन्तरता दिँदै गुप्तेश्वर महादेव मन्दिर लिफ्टिङ खानेपानी आयोजनालाई अघि बढाइने भएको छ । डिजिटल भिलेज प्रोफाइल तयार गर्ने, गाउँपालिका वा वडा कार्यालयको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन कर्मचारीलाई कार्यसम्पादनका आधारमा दण्डित र पुरस्कृत गरिने जनाइएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…