June 29, 2020

छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…..

काठमाडौं । माना रोपेर मुरी फलाउने भनेर चिनिएको असरको मध्यलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको छ । सरकारले धान दिवसको रुपमा घोषणा गर्नु अघि नै नेपालीहरुले यसदिन दही च्युरा खाएर धान रोप्ने गर्दथे । यही दिन नेपालमा रहेका कतिपय विदेशी पर्यटकहरु रोपाइस्थलमा हिलो खेल्न पुग्थे । तर यस वर्ष कोरोनाका कारण विदेशी पर्यटक नभएको र आन्तरिक रुपमा पनि कार्यक्रम गर्न नसकिने अवस्थामा उत्सवको रुप लिन सकेको छैन ।

सत्रौँ राष्ट्रिय धान दिवसका दिन सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीय किसान रोपाइँमा व्यस्त । स्थानीय जनप्रतिनिधिहरु पनि उहाँहरुलाई साथ दिन पुगेका छन । तस्वीर सौजन्यः विपी गौतम/रासस 

विसं २०६१ मङ्सिर २९ गते भने मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । त्यसपछि भने राजनीतिक तहमा पनि यसप्रति चासो बढ्न थाल्यो । कृषि मन्त्री तथा अन्य नेता/जनप्रतिनिधिहरु पनि यस दिन धान रोपाइमा सामेल भएर हिलो खेल्ने गरेका छन् ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

कोदालीबाट खेत सम्याउँदै किसान । तस्वीर: रत्न श्रेष्ठ/रासस 

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

सत्रौं राष्ट्रिय धान दिवसका अवसरमा सोमबार तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित खेतमा धान रोप्दै किसान । जिल्लाका अधिकांश ठाउँमा रोपाइँ शुरु भएको छ भने केही ठाउँमा चैते धान थन्क्याएपछि मात्र धान रोप्ने तयारीमा कृषक छन । तस्वीर: कृष्ण न्यौपाने/रासस ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

ललितपुरमा मेशिनको सहायताले धान रोपिँदै । तस्वीर: रत्न श्रेष्ठ/रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का महिला धान रोप्न बीउ काढदै । समयमै बर्षा हुँदा धान रोपाइँ कार्य कञ्चनपुरमा ५३ प्रतिशतभन्दा बढी सकिएको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सोमबार ललितपुरको भैंसेपाटीस्थित आफ्नो निवास नजिकै खेतमा धान रोप्न हातमा बीउ लिँदै । साथमा उहाँकी धर्मपत्नी तुलसा थापा लगायत । तस्विर: उपाध्यक्ष गौतमको निजी सचिवालय
सत्रौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार उदयपुरको त्रियुगा नगरपालिका–१३, बेहर्डवाको ९६ बिघा चाक्लाबन्दी जमिनमा धान रोप्दै रोपार । तस्बिरः हरिकुमार राई/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

फुटेको हिमतालको अझै भएन स्थलगत अध्ययन

सोलुखुम्बु । सोलुखोलामा पानीको बहाव बढेको पाँच दिन बितिसक्दासमेत प्रशासन कार्यालयले आधिकार…