September 2, 2020

मेरो प्रिय चाड – येंया: अर्थात् इन्द्रजात्रा

  • रोजिता बुद्धाचार्य
रोजिता बुद्धाचार्य । Photo By Om lal akayla

काठमाडौंै । इन्द्रजात्रा भन्ने बित्तिकै मैले सम्झिने पहिलो कुरा मेरो हजुरबुवा हो । बाज्याको हात समाउँदै लाखेको पछि पछि कुदेको सम्झन्छु । मेरो बालाई ´मलाई पनि धिमे सिक्ने ठाउँमा लगिदेऊ, अनि म पनि पुलुकिसीसँगै धिमे बजाएर जात्रामा जान्छु` भनेर घुर्की लगाएको सम्झन्छु । सानो फुपू भक्तपुरदेखि जात्रा हेर्न घर आइपुग्नुहुँदा बा यत्ति हर्ष विभोर हुने कि जसरी भए नि केही पैसा जुटाएर आफ्नो गक्ष अनुसार समय् बजी भ्वय् तयार गरेको सम्झन्छु । गणेश, भैरव र कुमारी भगवानको एक झलक दर्शन पाउन अजिले दलुचाः मा बत्ती बालेर कुरेको अनि हामी बच्चा पार्टी चाहिँ बरन्डाबाट खस्ला जस्तो गरी उफ्रेको सम्झन्छु । जात्रा सकेपछि मेरो मनको साथी राबेन बिदेसिएको सम्झन्छु ।

“ला छकु वयकः समय् बजी, वल वल पुलुकिसी” भन्दै गीत गाउँदै थायमरु दबूमा दि प्याखँ हेरेको अनि फरक फरक भगवानका पात्र, सङ्गीत, हाउभाउ, बाजागाजामा मग्न भएको, राती फेरि बाज्या सित नवदुर्गा प्याखँ हेर्न गएको, दश अवतार हेर्न गएको, दाँगीलाई कुरेको अनि पृथ्वीनारायण शाहले यही दिनमा काठमाडौँमा हमला गरेको इतिहास सम्झन्छु । इन्द्रजात्राभरि मलाई असाध्यै असाध्यै राम्रो अनौठो लाग्ने भनेको श्वेत भैरवको स्वरूप, कथा र महिमा हो ।
इन्द्रजात्रा केवल इन्द्रको कथा होइन । येंयाभित्र फरक फरक पात्रले आ आफ्नो कथा फरक फरक शैलीमा फरक फरक मञ्चमा मञ्चन गरिरहेका हुन्छन् । यो हाम्रो पहिचान हो, संस्कृति र सभ्यताको परिचायक हो । मेरो हजुरबा हजुरआमा, बा र मेरो पुस्तालाई जोड्ने कडी हो जहाँ कुनै गुगल वा विकिपेडीयामा जेनेरेसन ग्याप कम गर्ने उपाय खोज्नुपर्ने आवश्यकता हुँदैन ।

म यी सबैबाट यत्ति धेरै प्रभावित थिएँ कि म पनि ती देवीहरूजस्तै हुन्छु भनेर सोच्थेँ । त्यसैले चर्या सिक्न लालायित भएँ । सानै बेला देखि हजुरबा बाले मेरो गुण कुमारी हो भन्नु हुन्थ्यो, सायद त्यही भएर होला कुमारी नृत्यमा यस्तरी आत्मा बसेको थियो कि मानौँ म साँच्चै नै त्यो अदृश्य शक्ति, अदृश्य पदार्थ, अदृश्य ब्रह्माण्डको एक हिस्सा हुँ र साँच्चै कुमारीको स्वरूप धारण गरेको हुन्छु ।

आज, हाम्रो न्ह्यकन्तला, थाय्मरु, न्ह्यौखा भएर रथयात्रा गर्ने दिन । परिस्थिति फरक रहे पनि आफ्नो जरा, आफ्नो धरातल र मेरो बाज्याले पुस्तान्तरण गर्नुभएका संस्कार संस्कृति भुल्नेछैन ।

येंया पुन्हिया भिंतुना । इन्द्रजात्राको शुभकामना ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…