कोरोना कहरः सङ्कटलाई अवसरमा बदलेँ
- बुद्धिमान तामाङ, पर्यटन गाइड
हामी सबैलाई थाहा छ, कोरोना महामारी र यसको रोकथामको लागि भनेर गरिएको लकडाउनले सबैभन्दा धेरै मार पर्यटन क्षेत्रमा परेको छ । यो समस्या नेपालमा मात्र सीमित छैन, विश्वभरिकै पर्यटन उद्योगको अवस्था उस्तै छ । एक जना पर्यटक गाइडको रूपमा यस अवस्थाबाट अति प्रभावित मध्ये म पनि एक हुँ । त्यसैले म आफैले आफूलाई कसरी सम्हालेँ भन्ने सम्बन्धमा अनुभव बाँड्न चाहन्छु ।
भरखरै मात्र एउटा ट्रिप सकेर काठमाडौँ फर्केको थिएँ कोरोना महामारीका कारण लकडाउन सुरु भई हाल्यो । मेरो योजनाहरूमा अचानक अवरोध भयो । वर्षको सुरुवातमा म निक्कै उत्साहित थिएँ र मेरो धेरै योजनाहरू पनि बनेको थियो ।
नेपाल भ्रमण वर्ष २०२० का कारण यो वर्ष धेरै बुकिङहरू थियो । मेरो कुरा गर्दा धेरै वर्षपछि म पुरै वर्षभर व्यस्त हुने भएको थिएँ । त्यसैले म उत्साहित र खुसी थिएँ । यसरी वर्षै भरी व्यस्त हुने गरी पर्यटनमा काम कमै मात्र हुन्छ, नेपालको पर्यटन सिजनल छ । यद्यपि यो वर्ष मेरो पुरै व्यस्त हुने कार्यपालिका बनिसकेको थियो ।
चैतको सुरुमै अचानक लकडाउन सुरु हुँदा एकै चोटि छानाबाट भुईँमा खासे जस्तो भयो । सुरुका दिनहरूमा के गर्ने, कसो गर्ने केही सोच्न सक्ने अवस्था नै रहेन । लकडाउन सुरु भएको दुई हप्ता जतिको समय निक्कै अप्ठ्यारो, चिन्ता र असामन्जस्यतामा बित्यो ।
म आफूलाई भाग्यमानी पनि सम्झन्छु, म काठमाडौँ सहरको भिडभाड भित्र बस्दिन । सहरबाट करिब १२ किलोमिटर जति टाढा बस्छु । म सधैँ हिमाल, पाखा पखेराहरूमा डुलिहिँड्ने मान्छे, प्रकृतिमा रमाउने भएकोले पनि सहरभन्दा अलि टाढा भिडभाड भन्दा अलि पर बस्न रुचाउँछु । यो सङ्कटको बेला त्यसले एक प्रकारले तनावबाट बािहर निस्कन सजिलो बनायो भन्ने मलाई लाग्छ ।
दुई साताको त्यो अन्योल र तनावपूर्ण समयपछि मैले सोचेँ यो कोरोनाको महामारीले कति समय प्रभावित बनाउँछ भन्ने कुरा मेरो वसमा छैन, त्यस्तै यसले कति असर गर्छ भन्ने कुरा पनि मेरो वसमा छैन । त्यही बेला सामाजिक सञ्जालतिर इफ यू क्यान्ट गो आउट, गो इन्साइट भन्ने एउटा भनाई चर्चामा थियो । त्यसले मलाई छोयो । त्यसपछि मैले आफ्नो बारेमा सोचेँ । योग सम्बन्धी भिडियोहरु हेर्न थालेँ, ध्यानको बारेमा सिकेँ । मैले मेरो दैनिकीभित्र योग र ध्यानलाई समेटेँ । अनि दिउँसोको खाली समयमा खेतबारीमा काम गर्न थालेँ । यसले मलाई त्यो चिन्ता र अन्योलबाट बाहिर निस्कन मद्दत गर्यो ।
यस अवधिलाई मैले केही नयाँ सीपहरू सिक्ने अवसरको रूपमा पनि सदुपयोग गरेँ । फोटोग्राफीमा रुचि भए पनि अभ्यास गर्ने मौका मिलेको थिएन, दाल भात पकाउन जाने पनि अरू खासै पकाउन आउँदैनथ्यो । यस अवधिमा यी कुराहरू सिकेँ।
अलि पछि एक दिन कोरोनाको यो महामारी हटेर जान्छ, फेरी सबै मान्छेको दैनिककी अघि बढ्छ, त्यस बेला के गर्ने भन्ने सम्बन्धमा सोचेँ । आफैले आफूबारे सोच्ने र बुझ्ने मौका पाएँ । यही बीच म सम्बद्ध एक संस्थाले भर्चुअल टुरको लागि तयारी गर्दै रहेछ । उहाँहरूले मलाई पनि त्यसमा सहभागी हुनको लागि भन्नु भयो । मैले त्यस सम्बन्धी प्राविधिक ज्ञान पनि किने । भौतिक रूपमा घुम्न जान नसकिए पनि कसरी भर्चुअल ली टुर गराउन मिल्छ भन्ने सम्बन्धमा पनि ज्ञान हासिल गरेँ ।
महामारीले मलाई आर्थिक रूपले त्यस्तो ठुलो अप्ठ्यारो ल्याएको छैन । बिहान बेलुकाको छाक टार्ने समस्या नै भने छैन । तैपनि यसले सुरुवाती दिनहरुमा मानसिक र भावनात्मक रूपमा एक दमै असर पाद्यो । त्यसबाट निस्कने उपाय पनि मैले अपनाएँ, अहिले राम्रै अवस्थामा छु ।
अहिले मलाई मसँगै काम गरेका अरू धेरै कामदारहरूको चिन्ता लागि रहेको छ । मैले गाइडको रूपमा काम गर्दा अरू धेरै स्टाफहरू हुन्छन्, जस्तै गाडीमा काम गर्नेहरू, भरियाहरू, किचेन स्टाफहरूलगायत अरू पनि हुन्छन् । उनीहरूका पारिश्रमिक काम गर्ने बेलामा पनि थोरै हुन्छ र शारीरिक श्रम धेरै गर्नुपर्छ । उहाँहरू मध्ये कति जनाले यो बीचमा फोन गरेर आफ्नो समस्याहरू पनि बताउनु भएको छ । त्यसमा कम्पनीहरू तथा विदेशी साथीहरूसँग मिलेर केही गर्न सकिन्छ की भनेर योजना पनि बनाएका छौँ ।
यो अवस्थामा गाइडहरू मात्र होइन, उनीहरूसँग काम गर्ने अरू कामदारहरूको अवस्था झनै नाजुक छ । उनीहरूले सहयोग पाइरहेको अवस्था छैन । अझ धेरै व्यक्तिहरू स्वतन्त्र रूपमा काम गर्नुहुन्छ । कम्पनीहरूबाट उहाँहरूले सहयोग पाउन सक्दैन ।
आर्थिक रूपमै राहत र सहयोगको आवश्यक हुनेहरूलाई पनि सरकारले राहतको व्यवस्था गरिदिँदा राम्रो । आर्थिक रूपमा सहयोगको आवश्यकता नपर्नेलाई पनि पर्यटन सम्बद्ध संस्थाहरूले केही न केही तनाव व्यवस्थापनलगायतका तालिम जस्ता कार्यक्रमहरूको व्यवस्था गर्न सके राम्रो हुन्छ । जसलाई यस अवधिमा खाना बस्नमै समस्या छैन, उनीहरूलाई मानसिक तथा भावनात्मक रूपमा समस्याहरू भएका छन् । त्यसको व्यवस्थापनका धेरै तरिकाहरू हुन्छन् । त्यस्ता कार्यक्रमहरू सहयोगी बन्न सक्छ ।
व्यक्तिगत रूपमा भन्नु पर्दा कोरोना महामारीले ल्याएको यो समयलाई मैले मेरो लागि समस्या भन्दा पनि अवसरको रूपमा लिन थालेको छु । आफूलाई बुझ्नको लागि, आफूलाई समय दिनको लागि र यस्तो सङ्कटको अवस्थामा कसरी अघि बढ्ने भन्ने कुरा सिक्ने अवसरको रूपमा लिएको छु । संसारमा निश्चितता भन्ने कुरा केही छैन, त्यसैले अझ यो भन्दा पनि भयानक सङ्कटलाई पार गर्नको लागि तयार भएको छु ।
– कुराकानीमा आधारित ।
तस्बिरहरु: बुद्धिमान तामाङ
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…