September 13, 2020

गाइडहरू बचाउनु अहिलेको मुख्य चुनौती

  • डोल्मा पाख्रिन, कार्यसमिति सदस्य – ट्रेकिङ गाइड एशोसिएसन अफ नेपाल
डोल्मा पाख्रिन ।

काठमाडौं । कोरोनाको महामारीले नेपाल मात्र होइन, विश्वलाई नै चपेटामा पारेको छ । यसबाट पर्यटन व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ । यसले व्यवसायी, गाइड, पोर्टरलगायत पर्यटन क्षेत्रका श्रमिकहरू बढी मात्रमा प्रभावित भएको छ । अझ अरूलाई कोरोना सुरु भएपछि प्रभावित बनाएको हो, पर्यटन व्यवसाय त्यसअघि देखि नै ठप्प थियो ।

अफ सिजन सकिएर काम सुरु हुने बेलामा महामारी सुरु भयो । त्यसको रोकथामको लागि भनेर लकडाउन सुरु भयो । यसले बुकिङहरू धमाधम रद्द हुन थाले, आइसकेको एडभान्स पनि फिर्ता गर्नु पर्ने भयो । यसले व्यसायीहरुलाई धेरै तनावमा पर्‍यो भने कामै नभए पछि अरू श्रमिकहरूको रोजीरोटीको समस्या देखा पर्‍यो ।

कम्पनी चलाउने हुँदा म आफैले व्यक्तिगत रूपमा धेरै समस्या नपरे पनि ठुलो सङ्ख्यामा गाइड तथा श्रमिकहरूले समस्या बेहोर्नु परेको छ । विभिन्न कम्पनीको मातहतमा काम गर्नेले केही न केही राहत पाए पनि स्वतन्त्र रूपमा काम गर्ने गाइडहरूले त्यो पनि पाएका छैनन् ।

हाम्रो आफ्नै कुरा गर्दा मैले क्यानेडियन पार्टनरसँग मिलेर हामीसँग काम गर्ने श्रमिकहरूलाई सहयोग गर्‍यौँ भने सोलुखुम्बुको एक स्कुललाई पनि सहयोग गर्‍यौ ।

अहिले व्यवसायीहरू आफै समस्यामा रहेका कारण उनीहरूले धेरै गर्न सक्ने अवस्था छैन । त्यसैले गाइड तथा श्रमिकहरूको लागि सरकारले केही सहयोग वा राहतको व्यवस्था गर्नुपर्ने देख्छु । एकदमै थोरै सङ्ख्यामा मात्र कम्पनीहरूसँग आबद्ध भएर उहाँहरू काम गर्नु हुन्छ । ठुलो सङ्ख्यामा गाइड तथा श्रमिक हर स्वतन्त्र रूपमा काम गर्नु हुन्छ । पर्यटन नेपालमा सिजनल भएकोले पनि यस्तो भएको हो ।

कम्पनी सञ्चालकको नाताले पनि म के भन्न चाहन्छु भने, कम्पनीहरूले आफू माताहातमा काम गर्ने श्रमिकहरूलाई बचाउनु पर्छ । हामीले पछि पनि यही व्यवसाय गर्ने सोचेपछि उनीहरूको आवश्यकता फेरी पनि पर्छ । गाइडहरू भनेका पर्यटनको मेरुदण्ड नै हो । कति पुराना गेस्टहरुले त्यही पुरानो गाइड खोजिरहेका हुन्छ । राम्रो तालिम प्राप्त र अनुभवी गाइडहरूले पेसा छोडेर अर्कोतर्फ लाग्यो भने समस्या हुन सक्छ । त्यसैले आफ्नो मातहतमा काम गर्ने कामदारलाई संरक्षण गर्नु अहिले एकदमै आवश्यक छ ।

हामीले ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको तर्फबाट पनि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग तथा पर्यटन मन्त्रालयमा बेला बखत मागहरू राखेका छौँ । त्यसमा हामीले तत्काल धेरै काम गर्न नसकिने भए पनि टिम्समार्फत जम्मा भएर रहेको करिब ७० करोड रुपैयाँ श्रमिकहरूको राहतमा खर्च गरौँ भनेका छौँ । त्यसलाई परिचालन गर्न सक्यो भने पनि कमसेकम छ महिना वर्ष दिनलाई हामीले आफ्ना कामदारहरूलाई जोगाउन सक्छौँ भन्ने हो । तर त्यसमा पनि खासै काम अघि बढ्न सकेको छैन ।

(कोरोना महामारीले सबैभन्दा धेरै प्रभावित बनाएको क्षेत्र पर्यटन हो । सबैभन्दा सुरुमा बन्द भएको यो क्षेत्र सबैभन्दा पछि पुनर्स्थापित हुनेछ । विदेशी पर्यटकमा निर्भर रहेको नेपाली पर्यटन व्यवसायमा सबैभन्दा ठुलो मारमा गाइडलगायतका पर्यटन श्रमिकहरू परेका छन् ।तिनै गाइडहरूको अवस्था के छ, कसरी उनीहरू दिन बिताइ रहेका छन् र उनीहरूले राखेका अपेक्षा के कस्ता छन् भन्ने बारेमा हामीले केही प्रतिनिधिहरूसँग कुरा गरेका छौँ । उनीहरूको भनाइको सम्पादित अंश प्रस्तुत गर्दै जाने छौं । – सम्पादक)

Check Also

कापुचे कलायात्राः कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी

नारायण ढुङ्गाना काठमाडौँ । प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भ…