September 16, 2020

पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

काठमाडौं । नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशिलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि तथा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ ।

उत्कृष्ट पाँच सहभागीले जनही रु दश हजार नगद पुरस्कार प्राप्त गर्ने बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताएका छन् ।

सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनु पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभुति गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ ।

पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…