October 15, 2020

बहराइनका राजकुमार खलिफाद्वारा मनास्लु हिमालको सफल आरोहण

मनास्लु हिमाल आरोहणको क्रममा ।

काठमाडौँ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको आरोहण दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अनुसार बिहीबार बिहान ६ बजेर १० मिनेटमा उक्त आरोहण दल मनास्लु हिमालको चुचुरामा पुग्न सफल भएको हो ।

यसअघि खुम्बु क्षेत्रमा रहेको लोबुचे हिमालको आरोहण तथा आरोहण तालिम गरेर तीन बेलायती नागरिकसहित बहराइनका राजकुमार खलिफाको १८ सदस्यीय आरोहण दल बुधवार मनास्लु आधार शिविर पुगेको थियो ।

लोबुचे आरोहण ।

गत चैतमा कोरोना महामारीका कारण लकडाउन सुरु भएर पर्यटकीय गतिविधि ठप्प भएपछि हालसम्म आएको विदेशी आरोहण दल यही हो । यस आरोहण दललाई सरकारले विशेष स्वीकृति दिएको थियो ।

आरोहण दलमा रहेका अन्य सदस्यहरूमा बहराइनकै राज परिवारको प्रशिक्षकको रूपमा रहेका तीन जना बेलायती नागरिक र बहराइनको रोयल गार्डसका सदस्यहरू छन् ।

सेभेन समिटले आफ्नो फेसबुक प्रोफाइलमा राखेको जानकारी अनुसार टिमलाई चार जना विश्व रेकर्ड कायम गरेका आरोहीहरूले गाइड गरेका थिए । त्यसमा सबैभन्दा धेरै २४ पटक सगरमाथाको गरेका कामी रिता शेर्पा, संसारका ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल आरोहण गरेका मिङ्मा, छाङदावा र सानु शेर्पा तथा सबैभन्दा कम उमेरमा विना अक्सिजन सगरमाथा आरोहण गरेका टासी लाक्पा शेर्पा थिए । उनीहरूसहित ५० भन्दा बढी गाइडहरूको स‌ंलग्न रहेको बताइएको छ ।

बहराइनका राजकुमार खलिफाको योजना आउँदो सिजनमा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने रहेको छ । सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार लोबुचे र मनास्लुको आरोहण सगरमाथा आरोहणको पूर्वाभ्यास हो ।

नेपाल सरकार र पर्वतारोहण क्षेत्रले महामारीका बेला बहराइनको राजकुमारको आवागमन तथा हिमाल आरोहणलाई पर्यटन क्षेत्रको पुनर्स्थापना सन्दर्भमा राम्रो सङ्केतको रूपमा अर्थ्याएका छन् ।

सबै तस्बिरहरु : सेभेन समिट ट्रेक्स प्रा. लि.

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…