एनएमएद्वारा बहराइनका राजकुमारलाई सम्मान
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले हालै मात्र मनास्लुको सफल आरोहण गरेर फर्केका बहराइनका राजकुमार सेख नसिर मोहम्मद हमाद मोहम्मद अली खलिफालाई सम्मान गरेको छ ।
राजकुमार र उनको आरोहण दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको बिहीबार बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको थियो ।
एनएमएका अध्यक्ष सन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वमा आरोहण दलका सदस्यहरू बसेको गोकर्ण फरेष्ट रिसोर्टमा पुगेर राजकुमार र उनको आरोहण दलका सदस्यहरूलाई बधाई दिए । यो समूहले मनास्लु आरोहण गर्नु अघि लोबुचेको पनि आरोहण गरेको थियो ।
राजकुमारले सन् २०२१ को स्प्रिङ सिजनमा सर्वोच्च शिखर सगरमाथामा बहराइनको झन्डा फहराउने लक्ष्य राखेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका अनुसार लोबुचे र मनास्लुको आरोहण सगरमाथा आरोहणको तयारी स्वरूप गरिएको हो ।
‘तपाई र तपाईँको आरोहण दलले मनास्लु र लोबुचेको सफल आरोहण गरेकोमा नेपाल पर्वतारोहण संघ (एनएमए) हार्दिक बधाई ज्ञापन गर्दै सम्मान प्रदान गर्दछ’ एनएमएका अध्यक्ष लामाले संक्षिप्त कार्यक्रममा भने, ‘हामी तपाईलाई २०२१ मा सगरमाथा आरोहणमा स्वागत गर्न चाहन्छौँ र सफलताको शुभकामना दिन चाहन्छु ।’
कार्यक्रममा राजकुमार खलिफाले लोबुचे र मनास्लु आरोहणलाई सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिंदै सगरमाथाको चुचुरामा बहराइनको झण्डा फहराउने दृढता व्यक्त गरे ।
विश्वको आठौँ उच्च शिखर मनास्लुको आरोहणमा राजकुमारको १८ जनाको टोलीलाई चार जना विश्व रेकर्ड कायम गरेका आरोहीहरूले गाइड गरेका थिए । त्यसमा सबैभन्दा धेरै २४ पटक सगरमाथाको गरेका कामी रिता शेर्पा, संसारका ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल आरोहण गरेका मिङ्मा र छाङदावा शेर्पा तथा सबैभन्दा कम उमेरमा विना अक्सिजन सगरमाथा आरोहण गरेका टासी लाक्पा शेर्पा थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…