गुरुङ यूआइएएको सचिवालयमा निर्वाचित
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङ इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडेरेशन(यूआइएए)को म्यानेजमेन्ट कमिटीको सदस्यमा नर्वाचित भएका छन् । उनको कार्यकाल चार वर्षको हुनेछ ।
शनिबार राती भएको यूआइएएको भर्चुअल साधारण सभामा एनएमएको तर्फबाट गुरुङ निर्वाचित भएका हुन् । यूआइएए पर्वताराेहण क्षेत्रको एक मात्र अन्तर्राष्ट्रिय महासंघ हो । पर्वतरोहण र पर्वतीय समुदायको विकासमा यसले काम गर्दै आएको छ ।
यसअघि एनएमएकै पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पा सन् २०१६ मा यूआइएएको म्यानेजमेन्ट कमिटीको सदस्यमा निर्वाचित भएका थिए । यूआइएएको सचिवालयमा निर्वाचित हुने गुरुङ दोस्रो नेपाली हुन् । यूआइएएको मानर्थ सदस्यको रुपमा आङछिरिङ शेर्पा र माउन्टेन प्रोटेक्सन कमिसनमा डा गणेश गुरुङ सदस्य छन्।
महासचिव गुरुङले यूआइएएको सचिवालय सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनको लागि महत्वपूर्ण अवसरको रुपमा लिएको बताएका छन् । उनले पर्वतीय पर्यटनको विश्व मञ्चमा नेपाल र नेपालको पर्यटनलाई थप महत्वपूर्ण स्थान दिलाउन आफुले भूमिका खेल्ने बताए ।
यूआइएएले विशेष गरेर आरोही, आरोहण गाइड तथा सहयोगीहरु र पर्वतीय समुदायको हीतमा काम गर्दै आएको छ । एकातिर नेपाल पर्वतीय पर्यटनको अत्यन्त महत्वपूर्ण स्थानको रुपमा रहेपनि अझै यसले अन्तर्राष्ट्रिय रुपमा त्यस अनुरुपको महत्व नपाएको बताइन्छ भने अर्कोतिर मुलुकभित्रै पनि पर्वतीय पर्यटनमा संलग्नहरुको अवस्था नाजुक छ । कतिपय अनुभवी र राम्रो आरोहण गाइडहरु विदेशिंदा यस क्षेत्रलाई निकट भविश्यमै असर गर्ने बताइन्छ ।
‘यो एनएमएले पाएको अवसर मात्र होइन, नेपाल सरकार र नेपालको पर्वतीय पर्यटनले पाएको अवसरको रुपमा लिनु पर्छ‘ उनले भने, ‘नेपाली पर्वतीय पर्यटनलाई विश्व मञ्चमा थप उजागर गर्ने, नेपालमा धेरै भन्दा धेरै आरोहीहरु आकर्षित गर्ने र नेपालको पर्वतीय समदायको विकास र संरक्षण हुने गरी काम गर्नेछु ।‘
गुरुङले आरोही गाइड तथा सहयोगीहरुको सामाजिक सुरक्षा, पर्वतीय समुदायको विकास र उनीहरुको संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तनको सम्बोधन लगायतका क्षेत्रमा यूआइएएले भूमिका खेल्न सक्ने बताए ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …