पुनहिलबाट फर्कंने करबाकेली इको ट्रेक
म्याग्दी । यदी तपाई मुलुककै उत्कृष्ट मध्येको भ्युप्वाइन्ट पुनहिल जाने सोच्दै हुनुहुन्छ भने फर्कने ट्रेलको बारेमा पनि जानकारी खोजी रहनु भएको होला । पुनहिल पुगेर फर्कँदा म्याग्दीको सदरमुकाम बेनी बजार झर्ने नयाँ पदमार्ग बनेको छ, करबाकेली इको ट्रेक ।
बि.सं. २०७५ सालमा खुलेको यो पदमार्गबाट फर्कनेहरुबाट राम्रो प्रतिक्रिया पाएको यसका प्रवर्द्धक याम पुन बताउँछन् । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेली संरक्षण समितिले काठमाडौंस्थित कन्सेप्ट नेपालसँगको सहकार्यमा यो पदमार्ग एक्सप्लोर गरेको हो ।
यो पदमार्गबाट गुर्जा हिमालदेखि धौलागिरि हुँदै अन्नपूर्ण हिम सृङ्खलासम्म दर्शन गर्न सकिन्छ । साथै पदयात्रामा जैविक विविधता, पुन समुदायको कला र संस्कृतिको सुवास पाइन्छ । करबाकेली क्षेत्रमा ग्रामीण जीवनशैलीमा रमाउँदै यात्रा गर्न सकिन्छ ।
पुन समुदायको कुल देवता ‘करबाकेली बाबा’ को थान र उनको जीवन यात्रासँग जोडिएको भूमिमा डुल्दा मनमा आध्यात्मिक भावना जाग्छ । बालकदेखि पाकासम्मका लागि करबाकेली पदमार्ग उपयुक्त छ । पदमार्गका सबैतिर होटल छन् ।
पदमार्ग विकास एवं प्रवर्द्धन गर्न स्थानीयले करबाकेली पर्यटन व्यवस्थापन समिति गठन गरेका छन् ।
करबाकेली यात्रा गर्दा पोखराबाट वीरेठाँटीसम्म जीपमा । वीरेठाँटीबाट उल्लेरीको उकालोसम्म ५ घन्टा हिँडेर पहिलो बास बस्ने । दोस्रो दिन उल्लेरीबाट ४ घन्टा पदयात्रामा घोडेपानी बजार । तेस्रो दिन पुनहिल चढेर लन्च खान फूलबारी पुग्ने । र, फूलबारीबाट करिब ४ घन्टामा करबाकेली थान पुगेर बास बस्न सकिन्छ । फूलबारीमै पनि रात विताउन उपयुक्त हुन्छ ।
करबाकेली थानबाट बेनी निस्कने ४ विकल्प छन् ।
पहिलो: करबाकेली– बैसरी–बेनी
करबाकेली थानबाट बैसरी झर्न ३ घन्टा लाग्छ । ठाडै ओरालो छ । बैसरीबाट उकालो चढ्दा भने करबाकेली थान पुग्न ४ घन्टा लाग्छ । उकाली–ओरालो गर्दा करबाकेली बाबासँग सम्बन्धित नौ कुने ढुङ्गा दर्शन गर्न सकिन्छ । बाटोका झुम्रे खर्क र काउलेमा चिया पसल छन् । बैसरीबाट झोलुङे पुल तरेपछि बेनी–जोमसोम सडकमा पुृगिन्छ । त्यहाँबाट ९ किमि दूरिमा बेनी बजार । बैसरीबाट गाडीमा बेनी पुग्ने ।
दोस्रो: करबाकेली–रिमा–औल
करबाकेलीबाट रिमा र औल गाउँ हुँदै पनि बैसेरी झर्न सकिन्छ । करबाकेली थानबाट रिमा पुग्न साढे २ घन्टा । रिमाबाट औल पुग्न १ घन्टा लाग्छ । त्यस्तै औलबाट बैसेरी पुग्न दुई घन्टा हिँड्नु पर्छ । बैसेरीबाट उकालो लाग्दा दुई घन्टामा औल पुगिन्छ । औलबाट १ घन्टामा रिमा र रिमाबाट ३ घन्टामा करबाकेली थान । रिमामा होमस्टे सुविधा छ भने औलमा होटल ।
तेस्रो: करबाकेली–फलामेडाँडा–बेनी
करबाकेली थानबाट पर्वतको फलामेडाँडा हुँदै बेनीबजार झर्न पनि सकिन्छ । करबाकेलीबाट राम्चे गाउँ हुँदै नागी पुगिन्छ । राम्चे र नागी दुबै ठाउँमा होटल सुविधा छ । करबाकेलीबाट राम्चे पुग्न १ घन्टा लाग्छ भने राम्चेबाट नागी पुग्न २ घन्टा । नागीबाट फलामे डाँडा पुग्न पनि २ घन्टा लाग्छ । फलामेडाँडामा होटल छन् । त्यहाँ बास बसेर भोलिपल्ट हिँडेर बेनी ओर्लन ३.५ घन्टा । डाँडाबाट जीपमा झर्न पनि सकिन्छ । बेनीबाट हिँडेर फलामे डाँडा पुग्न चाहिँ ४.५ घन्टा लाग्छ ।
चौथों : करबाकेली–बाँसखर्क–मल्लाज
करबाकेली थानबाट महभीर हुँदै बाँसखर्क र मल्लाज भएर बेनी बजारसम्मै पदयात्रा गर्न सकिन्छ । करबाकेलीबाट डेढ घन्टामा महभीर पुगिन्छ । महभीरबाट बाँसखर्क पुग्न २ घन्टा लाग्छ । पर्वत जिल्लामा पर्ने बाँसखर्क सुन्तला खेतीका लागि प्रख्यात गाउँ हो । बाँसखर्कबाट मल्लाज पुग्न डेढ घन्टा हिँड्नु पर्छ । मल्लाजबाट बेनी झर्न एक घन्टा । महभीरमा होमस्टे सुविधा छ । बाँसखर्कमा होमस्टे र होटल सुविधा छ । मल्लाजमा पनि होटल छन् ।
यस पदमार्गका विशेष स्थानहरु:
पुनहिल
पुनहिल (३,२१० मिटर) हिमाली सृङ्खला, सूर्योदय र सूर्यास्त अवलोकन गर्न प्रख्यात छ । डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमालको लामो लर्कन देखिन्छ । सूर्योदय हुँदा घामका सुनौला किरणले हिमाललाई म्वाइँ खाएको दृश्य चित्ताकर्षक हुन्छ ।
डाँडामा मेजर टेकबहादुर पुनको स्मृतिमा टावर बनाइएको छ । त्यस बाहेक त्यहाँ कुनै भौतिक संरचना छैन । होटल तथा लज छैन । बिहानीपख डाँडामै चिया र कफी भने पाइन्छ । बास बस्न तल बेस क्याम्प घोडेपानी बजारमा होटल छन् ।
घोडेपानी (२,८७४ मिटर) मा करिब ५० घर छन् । रंगीन जस्तापाताले छाएका सुन्दर घर । घरघरै जसो होटल तथा रेष्टुँरा छन् । चिसो–तातो पानी सुविधासहितका सफा होटल जहाँ दालभातदेखि पिज्जासम्म पाक्छ ।
पर्यटक बिहानै घोडेपानीबाट उकालो लाग्छन्, १ घन्टा लाग्छ पुनहिल पुग्न । डाँडाबाट हिमालय दर्शन पछि कोही उल्लेरी हुँदै फर्किन्छन् त कोही घान्द्रुक हुँदै । अब करबाकेली पदमार्ग एक्सप्लोर भैसकेको अबस्थामा पर्यटकहरू डाँडाबाट फूलबारी हुँदै करबाकेली थान भएर पनि बेनी झर्न सक्छन् ।
प्राकृतिक सौन्दर्य, पुन संस्कृती र आत्मीय सत्कार नै करबाकेली इको टे«कका विशेषता हुन् ।
फूलबारी
रंगविरंगका फूल फूल्ने प्राकृतिक बगैंचा भएकाले म्याग्दीको एउटा खर्कको नाउँ नै फूलबारी राखिएको छ । अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने फूलबारी (२,९२५ मिटर) बाट हिउँचुली, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, बराह हिमाल, निलगिरि साउथ, धम्पुस पिक, टुकुचे पिक (मानापाथि), धौलागिरि र गुर्जा हिमाल लहरै देखिन्छन् । पुनहिलको आधारशिविर हो फूलबारी । पुनहिलबाट दक्षिण पश्चिममा पर्ने फूलबारीबाट एक घन्टाको उकालोमा पुनहिल पुगिन्छ । फूलबारी क्षेत्रमा गुराँसको घना जंगल छ । त्यस क्षेत्रमा धेरैथरिका गुराँस फूल्छन् । साथै थरिथरिका अन्य फूल पनि फूल्छन् । डाँफे, मुनाल सहितका चराको चिरबिर सुनिन्छ । जंगलमा मृगहरु समेत देख्न पाइन्छ ।
फूलबारीलाई केन्द्र मानेर धेरैतिर पदयात्रा गर्न सकिन्छ । जस्तो कि फूलबारीबाट करबाकेली, नागी, खोप्रा, महरेडाँडा, नाका हुँदै शिख पुग्न सकिन्छ ।
फूलबारीमा याम पुनले फूलबारी गेस्टहाउस चलाएका छन् भने गुममाया पुनले होटल अन्नपूर्ण । फूलबारीमा ५ परिवारको बसोबास छ । पहिला पहिला तलतिरका गाउँहरू रिमा, राम्चे र काफलडाँडाका गाईभैंसी वैशाखदेखि भदौसम्म फूलबारीका खर्कमा राखिन्थ्यो । अचेल गोठ राख्ने चलन छैन ।
फूलबारीबाट ४ घन्टा पदयात्रामा करबाकेली थान पुगिन्छ ।
करबाकेली थान
विशेषतः पश्चिम नेपालमा बसोबास गर्दै आएका पुन समुदायका कुल देवता हुन् करबाकेली बाबा । तिनै बाबाको राष्ट्रियस्तरको थान म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको रामचन कुलचन डाँडा (२,३३२ मिटर) मा निर्माण गरिएको छ । थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरू रामचन तथा कुलचनका पूर्ण कदका मूर्ति राखिएको छ ।
ग्रामीण शैलीको भवनभित्र मूर्तिहरू स्थापना गरिएको छ । करबाकेली अनुसन्धान समिति काठमाडौंको पहल एवं करबाकेली बाबा संरक्षण समिति, काफलडाँडाको संयुक्त प्रयासमा थान बनाइएको ।
थान हातामा पाहुना घर छ । नजिकै पुन संग्रहालय निर्माण भएको छ । थानबाट धौलागिरि हिमाल आँखै सामुन्ने देखिन्छ । बेनी बजारबाट–रिमा–काफलडाँडा हुँदै करबाकेली मन्दिरसम्म ४५ किमि सडक जोडिएको छ । जीपमा यात्रा गर्न सकिन्छ । अथवा बेनी–बैसेरी ९ किमि गाडीमा । बैंसेरीबाट ४ घन्टा उकालो पदयात्रामा करबाकेली थान ।
करबाकेली सामुदायिक पाहुनाघर
काफलडाँडाको करबाकेली मन्दिर हातामा सामुदायिक गेष्ठ हाउस सञ्चालन गरिएको छ । यहाँ स्थानीय परिकारहरू दालभात, कोदो र फापरको रोटी तथा ढिँडोसहित अन्य परिकारहरू मम, चाउमिन, फ्रेन्च फाई लगायत पाइन्छ । गेष्ठ हाउसमा तातोपानी र चिसोपानीको सुविधा छ । यहाँ एकै रात ४० जनासम्म बस्न सक्छन् । यसको आम्दानी समुदायको विकासमा खर्च हुन्छ ।
पुन सामुदायिक संग्रहालय
करबाकेली थान नजिकै पुन समुदायको एउटा सामुदायिक संग्रहालय बनाइएको छ । संग्रहालयमा पुन समुदायको जन्मदेखि मृत्यूसम्मको संस्कार, जीवनशैली र संस्कृति झल्काइएको छ । करबाकली संरक्षण समितिले स्वदेश तथा विदेशमा रहेका पुन समुदाय र शुभेच्छुकहरूको सहयोग जुटाएर ग्रामीण शैलीमा संग्रहालय भवन बनाएर सामान सजाएको छ । यसबाट पुन संस्कृति संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । संग्रहालयको औपचारिक उद्घाटन विसं २०७७ मंसिरको कुल पूजामा गरिनेछ ।
फलामेडाँडा
फलाम जस्ता ढुँगा भएकाले पर्वत जिल्लाको एउटा डाँडालाई फलामेडाँडा (२,३५० मिटर) भनिन्छ । डाँडाबाट हिमालको लर्कन देखिन्छ– धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्णदेखि माछापुच्छ्रे हिमालसम्म । त्यहाँको मालिका मन्दिरबाट हिमालसँगै गलेश्वरधाम अवलोकन गर्न सकिन्छ ।
जलजला गाउँपालिका–५ मा पर्ने फलामेडाँडा एउटा शितल हिलस्टेशन हो, जहाँ केही होटल छन् । यो क्षेत्रमा पुन समुदायको बसोबास छ । डाँडासँग लोप्रे, कुवापानी, ओख्रेनी, डाँडाकटेरी र वनबढे गाउँ छन् । खेतीपाती र पशुपालनमा रमेका छन् गाउँले । आलु राम्रो उत्पादन हुन्छ । उनीहरु साँस्कृतिक रुपमा समृद्ध छन्–सोरठी, यानिमाया, शिरफुले, सालैजो भाकामा नाचगान गर्छन् ।
फलामेडाँडामा भ्यू टावर बनाउने योजना छ । बेनीबजारबाट उत्तरपूर्व १२ किमि दूरिमा पर्छ फलामे डाँडा । बेनीबाट त्यहाँसम्म हिँडेर जान ४ घन्टा लाग्छ । डाँडैसम्म मोटर बाटो पुगेको छ ।
करबाकेली पदमार्गको करबाकेली थानबाट नागी हुँदै फलामेडाँडा झर्न सकिन्छ । करबाकेली थानदेखि फलामेडाँडा हुँदै बेनीसम्मको यो खण्डलाई ‘फलामेहिल ट्रेक’ नामाकरण गरिएको छ ।
बेनी
कालीगण्डकी र म्याग्दी खोला तीरमा उत्तर र पश्चिम फैलिएको छ बेनी बजार । एक समय बेनीले मुक्तिनाथ प्रवेशद्वारको मात्रै चिनारी बनाएको थियो । जबकि बेनी आफैंमा एउटा पर्यटकीय प्रोडक्ट हो । सरकारले विसं २०७१ वैशाख २५ मा अर्थुङगे, सिँगा, घतान, रत्नेचौर, ज्यामरुककोट र पुलाचौर ६ गाविस जोडेर बेनी नगरपालिका बनाएपछि बेनीको भुगोल फैलिएको छ ।
बेनी नगरपालिका क्षेत्रमा थुप्रै सम्पदा छन् । पर्वत राज्यको राजधानी ढोलथान, कोटभण्डार, सिँगा तातोपानीकुण्ड, ज्यामरुककोट, हिमाली सौन्दर्य, केभहिल, लभ्लीहिल, स्वर्गाश्रम, जातजातिको जीवनशैली आदि । धार्मिक केन्द्रहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, महारानीथान, बेनीस्तुप, नवदूर्गामन्दिर, भर्तिबम शिवालय, पुलत्स्यपुलाश्रम र बलमुक्तेश्वर लगायत छन् ।
बेनीलाई आध्यात्मिक नगरीका रुपमा ब्राण्डिङ गर्न सकिन्छ । जातीय विविधताको सुन्दर फूलबारी बेनीमा क्षेत्री, मगर, पुन समुदाय, छन्त्याल, नेवार, बाहुन, बिक, थकाली लगायत जातजाति मिलेर बसेका छन् ।
बेनी साहसिक पदयात्रीको ‘गेट वे’ पनि हो । यतैबाट धौलागिरी सेन्चुरी पदमार्ग, गुर्जा पदमार्ग, खोप्रा पदमार्ग, करबाकेली पदमार्ग र गुरिल्ला पदमार्ग यात्रा गर्न सकिन्छ ।
काठमाडौंबाट २८२ किमि दूरिमा पर्छ बेनी । बजारमा खान÷बस्न होटलको दुःख छैन । त्यहाँबाट कोसेलीका रुपमा टिम्बुर, सिस्नुको धुलो, भाँगो, गेडागुडी, गुन्द्रुक, मह, राडिपाखि, अल्लो कपडा, ढाका, व्याग र अगरबत्ति ल्याउन सकिन्छ ।
संस्कृति: पुर्ख्यौली
करबाकेली पदमार्ग क्षेत्रमा पुन समुदायको बसोबास छ । उनीहरूको आफ्नै संस्कृति छ । पुन समुदायमा पुख्र्यौली (सोरठी) नाच्ने चलन छ । उनीहरू दुःखमा पनि र सुखमा पनि पुर्ख्यौलीमा सहभागी हुन्छन् ।
उनीहरू सुखका गीतमा गीत गाउँछन्, नाच्छन् । दुःखका बेला चाहिँ नाच्दैनन्, गाउँछन् मात्रै । करबाकेली पूजा र भूमे पूजामा पनि गाउँछन् । उनीहरू विवाह, ब्रतबन्ध, भोजभतेर आदिमा पनि पुर्ख्यौली नाच्छन् । विवाह र ब्रतबन्धमा रातभर नाचगान गरिन्छ । सन्दर्भ अनुसार गीतको बोल फरक फरक हुन्छ । मेलापर्वमा रमाइलो गर्न चुड्का गाइन्छ ।
परम्परादेखि पुरुष नै महिलाको भेषमा नाच्छन् । महिलाको भेषमा नाच्ने कलाकारलाई मारुनी भनिन्छ भने मादल बजाउने पुरुषलाई मादले । नाचमा मादल र झ्याली बाजा प्रयोग गरिन्छ ।
करबाकेली पदयात्रामा पर्यटकको माग अनुसार पुख्र्यौली नाच प्रदर्शन गरिन्छ । पर्वतको फलामेडाँडाको काखमा अवस्थित कुवापानी गाउँमा बालकलाकारले पनि पुख्र्यौली देखाउँछन् । पदमार्गका गाउँमा सालैजो, यानिमाया, शिरफूले, ठाडी भाका लगायत गीत जिवितै छ, यात्रामा अवलोकन गर्न सकिन्छ ।
सबै फोटोहरु: हिमालयन म्याप हाउस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…