November 11, 2020

कतारी राजकुमार थानीले चढे अमा दब्लम

तस्बिर राजकुमार मोहम्द अल थानीको इन्सटग्रामबाट लिइएको हो ।

काठमाडौं । कतारका राजकुमार मोहम्मद अल थानीले अमा दब्लम हिमालको सफल आरोहण गरेका छन् । उनले बुधबार दिउँसो आमा दब्लम हिमालको शिखरबाट इन्स्टग्राममा एक भ्वाइस सन्देश पोष्ट गर्दै त्यसको पुष्टी गरेका हुन् ।

उनले आफ्नो सन्देशमा भनेका छन्, ‘हेल्लो साथीहरु, म अमा दब्लमको ६८१२ मिटर उचाइको चुचुरोबाट बोल्दैछु, म अमा दब्लम आरोहण गर्ने पहिलो कतारी मोहम्मद अल थानी हुँ । सबैलाई आरोहणको क्रममा गरेको निरन्तर सहयोग र मायाका लागि धन्यवाद दिन चाहन्छु । यहाँ जम्ने चिसो छ । यो आरोहण सगरमाथा आरोहण भन्दा पनि गाह्रो लाग्यो । हामी आरोहणको मध्यमा छौं । अब तल फर्कंदै छौं ।’

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले लोबुचे र मनास्लुको आरोहण सकेर फर्केको केही दिनमै कतारका शेख (राजकुमार) आमा दब्लामको आरोहणका अमेरिकन र क्यानेडियन आरोहीहरुका साथ आएका हुन् । आरोहणको व्यवस्थान गरिरहेको हिमालयन गाइड्स नेपाल प्रा.लि.का अनुसार १४ सदस्यीय टोलीले आमा दब्लमको आरोहण गरेका हुन् ।

राजकुमार थानी आरोहणको क्षेत्रमा परिचित नाम हो । उनले सन् २०१३ मा सगरमाथाको आरोहण गरेका थिए । सबैभन्दा धेरै २४ पटक सर्वोच्च शिखर आरोहण गरेका कामी रिता शेर्पा त्यस बेला थानीको गाइड थिए । ‘उहाँ बेला बेला आइ रहनु हुन्छ, नेपालमा सहयोग पनि गर्दै आउनु भएको छ’ कामी रिताले भने ।

यसैबीच सेभेन समिट ट्रेक्सका तीन जनाले पनि अमा दब्लमको आरोहण गरेका छन् । त्यसमा एक जना युक्रेनका ओलेसन्डर नस्तेनकोव छन् भने नेपाली गाइडहरु सानु शेर्पा र नाङ नोर्बु शेर्पा रहेका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…