November 24, 2020

टेम्केडाँडामा चिन्डो आकारको भ्यु टावर बनाइदै

  • युवराज विष्ट

भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा किराती पहिचान झल्कने गरी चिन्डो आकारको भ्यु टावर निर्माण शुरु गरिएको छ । प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको रु १३ करोडभन्दा बढी लागतमा भ्यु टावर निर्माण शुरु गरिएको हो ।

टेम्केडाँडाबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत ८ हजार मिटर अग्ला ६ वटा र अन्य ३३ वटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक भ्यु टावर निर्माण शुरु भएपछि आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ । टेम्केडाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ भ्यु टावर निर्माण शुरु गरिएको छ । टावर निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ३–उँबुमा निर्माण गरिएको ३९ फिट अग्लो चिन्डो स्मारक ।

‘‘मुख्यमत्रीले भ्यु टावरको शिलान्यास गर्नुभएको छ, टावर बन्ने भएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन्, यसले गाउँपालिकासँगै प्रदेश नं १ को पर्यटन विकासमा ठूलो सहयोग पुग्ने छ’’ उनले भने ।

अध्यक्ष राईले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी आकर्षक भ्यु टावरको निर्माण शुरु भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउन र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न यसले सहयोग पुर्‍याउने बताए ।

तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले जानकारी दिए । उनले भने, ‘‘प्रदेश नं १ को मुख्य पर्यटन आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ, यसको नजिकै तावा भञ्याङमा पोखरी निर्माण गर्ने लक्ष्यका साथ अन्य काम हुनेछ, यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पुर्‍याउने योजनाका साथ काम हुन्छ ।’’

सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यता तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयवासीको भनाइ छ । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सके प्रकृति प्रेमीहरुका लागि यो उत्तम गन्तव्य बन्न सक्ने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

उनले भने, ‘‘यो ठाउँ विशेष महत्व बोकेको धार्मिक तथा पर्यटकीय क्षेत्र हो, यहाँको प्राकृतिक सौन्दर्यतालाई कायम राख्दै विकास गर्न सके प्रदेशको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्ने देखिन्छ ।’’

किराँत पहिचान जोडिएको नेपालमा नै विशेष प्रकारको टावर बन्ने मुख्यमन्त्री शेरधन राईको भनाइ छ । प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको टावर किराँत राईहरुको पहिचान झल्कने तरिकाबाट डिजाइन गरिएको छ । टावर २० मिटर अग्लो रहने छ भने टावरको पहिलो तलामा म्यूजियम रहने छ । भोजपुर र खोटाङको सिमानामा रहेको टेम्केडाँडामा शिलान्यास गरिएको टावर किराँतहरुको पहिचान झल्कने गरी बन्ने मुख्यमन्त्री राईले बताए ।

यसले पर्यटनसँगै भाषा संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ । टावर निर्माणको लागि कुनै पनि बजेट अभाव नहुनेसमेत उनले बताए । “ भ्यु टावर निर्माणले टेम्केडाँडा नेपालकै नमूना बन्नेछ”, मुख्यमन्त्री राईले भने, ‘‘टेम्केडाँडामा किराँत पहिचानको रुपमा रहेको चिन्डो आकारमा भ्यु टावर निर्माण गरेर नेपालकै नमूना टावर बनाउने प्रदेश सरकारको लक्ष्य छ ।’’

कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी टावर निर्माणको जिम्मा लिएको छ । यहाँबाट तराई, पहाड तथा हिमालको सुन्दरता दृश्यावलोकन गर्न सकिन्छ । गर्मीको समयमा पनि शीतल हुँदा चैत्र वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटक घुमफिर गर्न यहाँ आउन रुचाउने गरेको स्थानीयवासी बताउँछन् । रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…