December 4, 2020

ससुराली जाँदा सगरमाथाको दर्शन

यात्रा अनुभूति

  • अम्बर बम्जन तामाङ

म सोलुखुम्बुमा जन्मेर काठमाडौँ बसेर पर्यटन व्यवसायमा लागेको व्यक्ति । धेरै ठाउँ पुगेको छु र धेरै चर्चित पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेको छु । तर, म पर्यटनमा नामै नसुनिने तर आजसम्म मैले यात्रा गरेको नेपालको भूभागहरू मध्येमा अब्बल पर्यटकीय सम्भावना भएको, सर्वोच्च शिखर सगरमाथा र अन्न भण्डार भनेर चिनिने तराईका हरिया फाँट एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको यात्रा अनुभूति बाँड्न गइरहेको छु । यस्ता ठाउँहरू देशभित्र अरू पनि हुन सक्लान् तर मैले देखेको भने यही हो ।

यो अवसर भने कोरोना महामारीले जुराएको हो । म संलग्न ट्रेकिङ व्यवसाय महिनौँ देखि ठप्प रहँदा उकुसमुकुस भइरहेको थियो । राजधानी काठमाडौँ छाडेर बाहिर निस्कने र थोरै भए पनि पुन ताजगी पाउने बहाना चाहिएको थियो । दसैँ/तिहार आइपुग्यो । महामारीको त्रासमा विगतमा जस्तो रौनक हुने कल्पना गर्न नसकिए पनि काठमाडौँबाट बाहिरिने र मन बहलाउने एक मौकाको रूपमा हाम्रो परिवारले यसलाई लियो ।

 

छोरीहरूलाई मामाघर र श्रीमतीलाई माइती सदा प्यारो हुने नै भई हाल्यो । म पनि दसैँताका सधैँ ट्रेकिङमा व्यस्त हुँदा ससुराली नपुगेको लामो समय भइसकेको थियो । हामीले सल्लाह गरेर सुरक्षित ढङ्गले उदयपुरको त्रियुगा बगहास्थित ससुराली जाने निधो गर्‍यौँ । तामाङहरूले दसैँलाई हिन्दुले जस्तै दुर्गा साधनासहित नमनाए पनि सेतो टिका लगाई आशीर्वाद दिने/लिने र नवरात्रीको छैटौँ साँझ मौलिक म्हेनिङ र आक्खेसुङ भनिने पितृ पूजा गरी पर्व मनाउने चलन छ । ससुराली घरमा पर्वका यी दुवै संस्कारहरू सकिएपछि काठमाडौँ फर्किनु भन्दा भाइरसको कम असर रहेको ग्रामीण क्षेत्रमा अझ थप बस्न सुरक्षित र रमाइलो हुने ठहर गरी बसाइ लम्ब्यायौँ ।

चुरे भावरको उत्तर र महाभारत पर्वतको दक्षिणतर्फ रहेको उदयपुर जिल्लाको गाईघाट क्षेत्र पूर्वी भित्री मधेसको एक प्रमुख भूभाग हो भने बगहा चुरेको घना जङ्गलसँगै जोडिएको प्रख्यात उदयपुर सिमेन्ट कारखाना रहेको जलजले नजिकैको सानो गाउँ । घरै छेउ जङ्गलसहित विभिन्न वनस्पति र फूलहरू र तिनमा रमाउने सयौं थरी चराचुरुङ्गी र गाउँले दैनिकी जस्ता मन बहलाउने धेरै कुरा वरिपरि भए पनि अझ केही पर घुमघाम गरेको वेश होला भन्ने ठानेर नजिक र सहजै पुगिने ठाउँहरूबारे कुरा भयो ।

उदयपुरमा उदयपुर गढी छ भन्नेसम्म थाहा थियो तर यसको महत्त्व बारे थाहा थिएन । इतिहास आफ्नो अध्ययन र चाखको विषय भएकोले त्यहाँ सस्तो र सुरक्षित उपाय निकालेर घुम्न जाने निर्क्योल गरियो र छिमेकमै उपलब्ध तिन पाङ्ग्रे ट्याम्पो (अटो रिक्सा) रिजर्भ गरेर करिब ३५ कि.मी. पश्चिम उत्तरको पहाडतर्फ लागियो । सहरका चिल्ला बाटोमा चल्ने अटो रिक्साले ग्राभेल मात्र गरिएको कृषि सडकको कठिन घुम्ती उक्लिँदै गर्दा गढी भन्दा एक घुम्ती तलैबाट तुवाँलोले धमिल्याएको निलो क्षितिजमा सगरमाथा जस्तै हिम चुचुरोको सानो टुप्पो देखा पर्‍यो । मैले हतारिँदै ड्राइभरलाई ट्याम्पो रोक्न भने । हिमाल नभै बादल पो हो कि जस्तो पनि लाग्ने दृश्य थप ठम्याउँदा नभन्दै त्यो नुप्त्से र ल्होत्से बीचको सगरमाथाको टुप्पो रहेछ ।

आफू व्यावसायिक फोटोग्राफर नभए पनि कामचलाउ क्यामेरा साथमै रहेकोले केही फोटो खिचेँ । सँगै त्यहाँका आफन्त र ड्राइभर समेतलाई सोध खोज गर्दा त्यहाँबाट हिमाल देखिने सबै जसोलाई थाहा भए पनि त्यो सगरमाथा नै हो भन्ने चाहिँ थाहा रहेनछ । सगरमाथाको जिल्ला सोलुखुम्बुमा जन्मे हुर्केको, त्यसमा पनि पर्वतीय पर्यटनमा संलग्न मलाई हिमाल र सगरमाथा विशेष लाग्नु स्वाभाविक थियो । नेपालको पहिचानको रूपमा उभिएको विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै गाउँघर वा जिल्लाबाट देखिनु जोकोही नेपालीको लागि पक्कै रोमाञ्चित हुने कुरा हो । त्यसैले उदयपुर गढीको यात्रामा धेरै चर्चा भने सगरमाथाकै भयो । त्यही बेलुका आफूले खिचेका तस्बिरहरू मोबाइलमा स्थानान्तरण गरेर एप मार्फत केही प्रस्ट बनाई फेसबुकमा पोस्ट पनि गरियो ।

उदयपुरबाटै सगरमाथा देखिने रमाइलो कुराकानीका क्रममा हिमाल अझ धेरै देखिने र मन्दिरको दर्शन पनि हुने रौतामाई क्षेत्र अझ रमाइलो रहेको पनि थाहा भयो । हिमालको अझ राम्रो दृश्य देखिन्छ भने किन नजाने त भन्ने सल्लाह भएपछि जिप रिजर्भ गरेर परिवारसहित जिल्ला सदरमुकाम गाईघाटबाट गरिब ४० किमी उत्तरतर्फ रहेको रौता पहाडतर्फ उक्लियौँ ।

गाईघाट—खोटाङ सडक खण्डमा पर्ने पिच बाटो छाडेर ग्राभेल छिचोल्दै डाँडा उक्लिन थालेपछि पहाडी पाखो ढाकेका खेतबारी र गाउँहरूदेखि क्रमशः टाढा टाढाका दृश्य देखिँदै गए । रौता पोखरी र मन्दिर मुनीको सानो बस्ती पुग्नु अगावै उत्तरी आकाशमा हिमालको लर्को देखिन थाल्यो । करिब दुई घण्टाको जिप यात्रामा आधा आधि चाहिँ निक्कै अप्ठ्यारो सडक पार गरेपछि हामी हाम्रो गन्तव्य रौता पुग्यौ । देशको मुख्य पर्यटकीय गन्तव्यमा उल्लेख नभए पनि जिल्लाभित्र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिँदो रहेछ, रौता पोखरी ।

स्थानीयको भनाई अनुसार पहाडको टुप्पै मुनी कहिल्यै नसुक्ने पोखरी हुनुलाई अलौकिक र पवित्र मानी प्राचिनकालदेखि रौतामाई भनी पोखरीको किनारामा देवी प्रतिस्थापित गरी पूजा गरिँदै आएको हो । स्थानीय हिन्दु समुदायका साथै रैथाने किरात, मगर, तामाङलगायत सबै जातजातिका भक्तजनहरू पुग्दा रहेछन् । रौतामाई मन्दिर र पोखरी महत्त्वपूर्ण भएता पनि हामी हिमाल हेर्न त्यहाँ गएका थियौँ र त्यहाँबाट देखिने हिमालको पानोरामिक दृश्य साँच्चिकै मनमोहक रहेछ ।

पूर्वमा सिक्किमको सिमानामा पर्ने कन्चन्जंघादेखि क्रमशः पश्चिमतर्फ मकालु हुँदै बीचमा सगरमाथा र सोलुखुम्बुको मेरो आफ्नै गाउँ लुम्साको शिर लाम्जे लेकबाट नजिकै देखिने नुम्बुर कर्‍यालुङ हुँदै पश्चिममा दोलखाको शिर गौरी शंकरसम्म प्रस्ट देखिन्थ्यो । सगरमाथाको साथै नेपालमा पर्ने ८ हजार मिटर माथिका हिमालमध्ये थोरै ठाउँबाट मात्र देखिने चोओयू हिमाल समेत रौताबाट देख्न सकिने रहेछ । सगरमाथा, ल्होत्से, मकालु, चोओयु र कञ्चनजङ्घा समेत गर्दा नेपाल भित्र पर्ने ८ हजार मिटर माथिका ८ हिमाल मध्ये ५ ओटा विश्वका अग्ला शिखरहरु त्यहाँबाट अवलोकन गर्न सकिने रहेछ । समुद्र सतहबाट १७०० मिटर हाराहारीको रौतादेखि ८८४८ मिटरसम्म आकाश ताकेको विश्वको शिर सगरमाथासम्मको सिधा दुरी करिब १०० किमी अनुमान गरियो । यति टाढा भए पनि मुख्य हिमालहरू प्रस्टै चिन्न सकिने रहेछ । चिन्न नसकिने अरू दर्जनौँ हिम चुचुराले दृश्य थप मनमोहक बनाएको थियो ।

रौतामाईको दर्शन र हिमालका दृश्यावलोकन पछि हामी फर्कियौँ । फर्किने क्रममा रौता क्षेत्रबाटै दक्षिणमा उदयपुरका अधिकांश भाग, चुरे, सुनकोसी हुँदै कोश टप्पुसम्मका तराईका अजङको फाँट पनि देखियो । नेपाल पर्यटनका लागि खास ठाउँ हुँदै हो, देशै भरी हिमालका मनमोहक दृश्य देखिने थुम्काहरू छरिएका छन् तर एकै ठाउँ उभिएर सगरमाथादेखि तराईसम्म नियालेको चाहिँ मेरो लागि पहिलो र अविस्मरणीय अनुभूति बन्यो ।

हिमालदेखि तराईसम्म देखिने भ्यु प्वाइन्ट अनि धार्मिक महत्त्वको रौतामाई रहेको ठाउँ उदयपुरको मात्र नभई देशकै प्रमुख पर्यटकीय गन्तव्य हुनु पर्नेमा त्यसो नहुनु विडम्बना हो । ग्रामीण सडकले जोडिएको हुँदा जिल्ला सदरमुकामबाट २ घण्टा भन्दा कम, प्रदेश राजधानी विराटनगरबाट करिब ४ घण्टा वा आधा दिन, त्यतिकै समयमा भारतको सीमाबाट पनि पुग्न सकिने र देशकै राजधानी काठमाडौँबाट समेत ११ घण्टा (मदन भण्डारी राजमार्ग बनेपछि यात्रा थप छोट्टिने) अर्थात् एकै दिनको यात्रामा पुगिने रौतामाईमा पर्यटक पुगिहाले बस्ने खाने लगायतको पूर्वाधार भने शून्य प्रायः रहेछ । अतः स्थानीय र प्रदेश सरकारले आफ्नो क्षेत्रमा रहेको यस्तो अनुपम पर्यटकीय गन्तव्यलाई उचित पूर्वाधार तयार गरी प्रचारप्रसार थालिहाल्नु पर्ने देखिन्छ । त्यसो गर्न सकिए उदयपुर पनि देशको पर्यटकीय नक्सामा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा चिनिने र स्थानीयको समृद्धिमा ठुलो टेवा पुग्ने छ ।

– ट्रेकिङ व्यवसायी तामाङ टानका पूर्व द्वितीय उपाध्यक्ष हुन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…