January 11, 2021

भर्जिन र रङ्गिन पाँच पोखरी पदयात्रा

  • शब्द : जीवन लामा/तस्बिर : लाला गुरुङ
पाँच पोखरी ।

दोलखा । गौरीशङ्कर हिमालको काखैमा छ गौरीशङ्कर गाउँपालिका । ७१३४ मिटर उचाइको यो हिमालबाट पालिकाको मात्र होइन, सिङ्गो दोलखाकै पहिचान हो । गौरीशङ्कर गाउँपालिका धार्मिक, सांस्कृतिक, प्राकृतिक रूपमा धनी छ ।

अहिले गाउँपालिकाले यही धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई मध्यनजर गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै समृद्धिको बाटोमा अघि बढ्ने जमर्को गरिरहेको छ । यसका लागि नयाँ तथा लुकेर बसेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने र प्रचार प्रसार गर्ने काम भइरहेको छ ।

यही क्रममा ‘पर्यटन प्रवर्द्धन, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ २०७७ असोजमा गाउँपालिकाकै वडा नम्बर ६ चङ्खु लुवाङसादेखि गोसा, याले, बुकिनी, तारा पोखरी, जटा पोखरी हुँदै पाँच पोखरीसम्मको पदयात्रा मार्गको खोजी तथा प्रवर्द्धन कार्य सम्पन्न भयो । यहाँ हामीले यही पदमार्गको बारेमा पाठकहरूलाई जानकारी दिन गइरहेका छौँ ।

पहिलो दिन

काठमाडौँ वा जिल्ला सदरमुकाम चरिकोटबाट हिँडेको दिन गौरीशङ्कर गाउँपालिको वडा नम्बर ६ मा रहेको चङ्खु लुवाङ्सा गाउँमा बास बस्न पुगिन्छ । शेर्पा जातिको मात्र बसोबास रहेको यो गाउँमा होमस्टे छ ।

सांस्कृतिक अतिक्रमणको चपेटामा नपरेको यो गाउँमा शेर्पा संस्कृतिसँग परिचित हुने मौका मिल्छ । गाउँमा पुगेका पाहुनालाई स्थानीयले आफ्नै परम्परागत शैलीमा स्वागत गर्छन् । यहाँको घरवास गौरीशङ्कर संरक्षण क्षेत्रसँगको सहकार्यमा सञ्चालनमा ल्याइको हो । पाहुनाले स्थानीय उत्पादन र परिकारको स्वाद पाउँदछ । गाउँ नजिकै गुम्बा छ । गाउँ आएका पाहुनालाई बिदाइ यही गुम्बाबाट गरिन्छ । स्थानीय शेर्पाहरूको अतिथ्यता, अनतिक्रमित संस्कृति र स्थानीय स्वादले एक पटक पुगेका पाहुनालाई फेरि फर्कन मन लाग्ने बनाउँछ ।

दोस्रो दिन

घरबाट निस्केको दोस्रो दिन भए पनि पदयात्रा सुरु गर्ने यो पहिलो दिन हो । चङ्खु लुवाङ्साको गुम्बाबाट बिदाइ पाएपछि उकालो लागिन्छ । नजिकै रहेको नर्सरी पनि पर्यटकको आकर्षणमा पर्दछ । लोपोन्मुख जातिका बिरुवाहरू यस नर्सरीमा संरक्षण गरिएको छ । वनस्पति विज्ञानमा तपाईँको रुचि छ भने अलि समय यहाँ बिताउन सकिने छ । नजिकैको अर्को आकर्षण भूमे थान हो । यहाँ वार्षिक रूपमा ठुलो मेला लाग्ने गर्दछ ।

आलु, गहुँ, कोदो यहाँका मुख्य उत्पादन हुन् । वर्षमा लाखौँ रुपैयाँको आलु निर्यात हुन्छ यहाँबाट । अहिले पनि गोरु जोतेरै खेती गर्ने चलन छ । नयाँ प्रविधि भित्रिएको छैन । डाँडाकाँडा हेर्दै चङ्खुको डेरीमा पुगिन्छ । यहाँ वर्षौँदेखि चौँरीको डेरी सञ्चालनमा छ । उत्पादित चीज, घ्यू, छुर्पी जिरीमा निर्यात हुन्छ ।

आजको बास पेम्दिङमा हो । चारैतिर डाँडाकाँडाले ढाकेको बीचमा खुला चौर छ । करिब ३८ सय मिटर उचाइमा रहेको यो स्थानबाट गौरी शंकरलगायत हिमशृङ्खलाको नजिकैबाट अवलोकन गर्न सकिन्छ । हिमालहरूले चुमौला झैँ लाग्छ ।

पेम्दिङमा बास बसेर बिहानै बुरमुचेडाँडा पुगिन्छ । यस डाँडाबाट दोलखाको अधिकांश भूभागलाई सजिलै नियाल्न सकिन्छ । शिरमा गौरीशङ्कर राखेर तलतिर दोलखामा पहाडी हरियाली तथा खेतका फाँटहरू यहाँबाट नियाल्न पाइन्छ । शेर्पाको यर्जेङ (उभौली/उधौली) पर्व यसै डाँडामा मनाइन्छ । ४१ सय मिटर उचाइमा रहेको यस डाँडा प्राकृतिक भ्यु टावर हो । बाटोभरि छरिएका जडीबुटीले मनै लोभ्याउँछ । यस भेगमा मात्र १०८ प्रकारका जडीबुटीहरू पाइने बताइन्छ ।

गौरीशंकर हिमाल ।

तेस्रो दिन

पेम्दिङमा बिहान उठेपछि चिया खाजा खाएर यात्रा सुरु हुन्छ । प्राकृतिक सुन्दरताले मनै लोभ्याइदिन्छ । रुख, बिरुवा, जडीबुटी हरेकले मन तानिरहन्छ । पाइला सार्न दिँदैन यहाँका हेरिरहुन् लाग्ने सुन्दरताले । अग्ला अग्ला भीरहरूले मन खिचिदिन्छ । सुनपाती र धुपीको बास्नाले सुगन्धित बनाइदिन्छ शरीरलाई । बिहानको खाना तप्कनेमा खाना पुगिन्छ । यो विभिन्न ठाउँबाट आउने सङ्गम स्थल पनि हो । कहिले उकालो, कहिले ओरालो हुँदै यात्रीहरू लम्किरहन्छन् । जङ्गलै भरि सिपालु कलाकारले रङ्ग भरेको जस्तै भान हुन्छ । हेरिरहूँ जस्तो, आँखै झिमिक्क गर्दा पनि हराउला की लाग्ने ।

याले ।

आजको हाम्रो बास यालेमा हुन्छ । यहाँ चौँरी गोठहरू भेटिए पनि यि अस्थायी हुन् । खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने हुन्छ । खोलाको नजिकै हामीले बासको तयारी गर्‍यौँ । टेन्टहरू टाँग्यौँ । याले तीन भागमा बाँडिएको छ, माथिल्लो याले, याले, तल्लो याले भनी छुटाछुटै नामकरण गरिएको छ । यो सम्म चौर हो । चारैतिर डाँडाकाँडाले ढाकिएको । यहाँ बस्दा छुट्टै शान्तिको अनुभूति हुन्छ । एक प्रकारको अनौठो सुखानुभूति ।

चौथो दिन

आज गन्तव्यमा पुग्ने दिन । आज बिहान हामीले अघिल्लो दिनहरूको यात्रा बारे समीक्षा गर्‍यौँ । समीक्षा रमाइलो र प्रभावकारी होस् भनेर गोलो हुने गरी बस्यौँ । बैठकमा गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्का र नेपाल कम्युनिस्ट पार्टी गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर गुरुङले समीक्षा बैठकको सहजीकरण गरेका थिए । यस क्षेत्रको पर्यटकीय सम्भावनाका बारेमा छलफल भए । विचारहरू मन्थन गरिए । खाजा खाएर फेरी यात्रालाई निरन्तरता दियौँ ।

योनिशा झरना ।
पाँच पोखरी ।

 

 

 

 

 

 

 

 

 

 

 

 

सुन्दर दृश्यले जो कोहीको मन तान्छ । कोही फोटो खिच्न थालेका छन्, कोही सेल्फीमा व्यस्त छन्, कोही भिडियोग्राफीमा । ढुङ्गा, माटा, रुख बिरुवा सबै सबै रङ्गिन देखिन्छन् । साँघुरो बाटो, उचाइमा हिँड्दा केही गाह्रो भए पनि प्राकृतिक सुन्दरताले यी सबै बिर्सिन्छन् । यिनै दृश्यहरूले पदयात्रीलाई उत्साहित बनाइ राख्छ, पाइला चाल्न ।

बाटोबाटै देखिन्छ योनिसा झरना । सेतो रङ पोखेझैँ देखिने । धेरैको लागि आकर्षण बन्यो यो झरना । खिम्तीशिर खोला तर्दा झनै रमाइलो । काठको साँघु । कलकल गर्ने खोला । लाइनै तर्दा युद्धका लागि सिपाही लाइन हिँडे जस्ता । खोला तरेपछि फेरी नाकै ठोकिने उकालो आइपुग्यो । सुनपातीले इलामको चियावारिलाई सम्झाइ दिएको छ ।

तारा पोखरी ।

हो, यही उकालो सकिए पछि पुगिन्छ कालो/तारा पोखरी । भाग्यमानीले मात्र यो पोखरीभित्र तारा देख्छ भन्छन् मान्छेहरू । त्यसैले मानिसहरू पोखरीमा पुगेपछि आइपुग्न गर्नुपरेको सङ्घर्ष भुल्छन् । यात्रा जोखिमयुक्त छ । पाइला बिरायो भने खसेर भीरबाट अलप हुने डर छ । आफूभन्दा अघिका यात्रीले चालेको पाइलालाई पछ्याउँदै पुग्नु पर्छ । पोखरीमा नियाल्दा रात्रिकालीन समयझैँ लाग्छ । झलमलै छ पोखरीभित्र । कोहीले ४ वटा, कोहीले ६ वटा तारा देखेको बताए ।

अलिकति हल्लीखल्ली हुने बित्तिकै बादलले ढपक्कै ढाकिदिन्छ । त्यसैले पोखरीमा धेरै मानिस पुग्नु राम्रो। गौरीशङ्कर गाउँपालिका लुवाङ्साहुँदै जाँदा मात्र यस पोखरीमा पुग्न सकिन्छ । यस पालिकाका अधिकांश भक्तजनहरू रातभरि हिँडेरै यहाँ पुग्ने गर्छन् । यो पोखरी करिब ४ हजार ४ सय ७४ मिटर उचाइमा अवस्थित छ । तारा पोखरीबाट अलि तल झरेपछि अव हामी यात्राको अन्तिम गन्तव्यमा बासाको तयारीमा छौँ । मनमा एक प्रकारको रोमाञ्चकता छ । केही पाए जस्तो केही जिते जस्तो ।

जटा पोखरी ।

जटा पोखरीको क्षेत्रमा आइपुगेका छौँ । रातको समयमा पनि नजिकै जटा पोखरी भएकाले कुनै डरको आभास हुँदैन । छुट्टै संसारमा पुगेझैँ लाग्छ । ४२५० मिटर उचाइमा रहेको यस पोखरीमा जनै पूर्णिमाको दिन मेला लाग्छ । यहाँ मेला भरेर दर्शन गरेमा सोचेको पूरा हुने विश्वास छ । जटा पोखरीबाट करिब १ घण्टाको दुरीमा पाँच पोखरी छ । ४५१४ मिटर उचाइमा रहेको पाँच पोखरी हिमालको काखमा छ ।

पदमार्गको नमूना नक्सा ।

सबै जना जटा पोखरी–पाँच पोखरीसम्मको यो पदयात्रा खोजी कार्य सफल भएकोमा खुसी भयौँ । सबैको मनमा आनन्दको अनुभूति उनीहरूको हाउभाउ र अनुहारको भावभङ्गीबाट देखिन्छ । यहाँको धार्मिक आस्थालाई ह्रदयंगम गर्दै र प्राकृतिक सुन्दरतालाई मनभित्र साँच्दै हामी गएकै बाटो फर्कियौँ । गौरीशङ्कर गाउँपालिकाले यस पदयात्रालाई थप सहज बनाउने बताएको छ । हामी आशा गर्न सक्छौँ, आउँदा दिनहरूमा धेरै पदयात्रीहरूले यो भर्जिन र रङ्गिन पदमार्गको आनन्द लिने छन्, तारा, जटा र पाँच पोखरी माईहरूले उनीहरूको जीवनमा सुख, समृद्धि र सुस्वास्थ्यको आशीर्वाद दिने छन्।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…