January 21, 2021

दुराडाँडाः इतिहास, संस्कृति र प्रकृतिको सङ्गम

  • खिम घले 
दुराडाँडा ।

लमजुङ । दुराडाँडा इतिहास, संस्कृति र प्रकृतिको अनुपम सङ्गम हो । मुलुकमा सङ्घीय व्यवस्थाको स्थापना सँगै नयाँ स्थानीय तह बन्नु अघि लमजुङ जिल्लाको दुराडाँडा मौजा अन्तर्गत पुरानकोट, नेटा, दुराडाँडा, चन्द्रेश्वर, सिन्दुरे र धुसेनी गरी छ वटा गाउँ विकास समिति पर्दथ्यो । ती क्षेत्रहरू अहिले बेंशीसहर, मध्य नेपाल र सुन्दर बजार नगरपालिका भित्र समेटिएका छन् ।

पछिल्लो जनगणना अनुसार ५ हजार ३ सय ९४ जनसङ्ख्या रहेको अल्पसङ्ख्यक आदिवासी दुरा जातिको थातथलो हो, दुराडाँडा । यो क्षेत्र दुरा जातिको प्रमुख बसोबास स्थल मात्र होइन, ऐतिहासिकता जोडिएको क्षेत्र पनि हो । त्यसो त यो क्षेत्रमा दुराहरूको मात्र बसोबास छैन, अन्य जातिको बाक्लो उपस्थिति छ ।

तुर्लुङ्कोट होमस्टेमा सांस्कृतिक कार्यक्रम पछि सामुहिक तस्बिर खिचाउँदै ।

पछिल्लो समय दुराडाँडाको इतिहास, प्रकृति र संस्कृतिलाई उजागर गर्दै पर्यटनको विकास गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू अघि बढाइएको छन् । यस क्रममा दुराहरूको तीन वटा बस्तीहरूमा सिन्दुरे–ठूलोस्वाँरा–दुरा गाउँ, तुर्लुङकोट र खजे दुरा गाउँ गरी तीन वटा होमस्टेहरू स्थापना गरिएका छन् ।

ऐतिहासिक विरासत

सिन्दूरे ढुंगा । यही यशोब्रम्हा शाहको सिन्दूर जात्रा गरिएको थियो ।

नेपालको इतिहासमा दुरा जाति र दुराडाँडाको विशेष महत्त्व रहेको छ । बि.सं. १५५० मा कास्कीका राजा कुल मण्डन शाहसँग खजे दुराको नेतृत्वमा गएको समूहले कान्छा छोरा यशोब्रम्हा शाहलाई लमजुङको राजा बनाउन मागेर ल्याएका थिए । यशोब्रम्हा शाहलाई यही रहेको एक ढुङ्गामा सिन्दूर जात्रा गरेर लमजुङको राजा घोषणा गरिएको थियो । त्यसअघि पनि दुराहरूकै नेतृत्वमा कुल मण्डन शाहसँग कालु शाहलाई राजा बनाउन मागेर ल्याएका थिए । तर लमजुङका तत्कालीन घले शासकहरूले सहयोगीहरूसहित उनको हत्या गरेपछि पुनः यशोब्रम्हालाई मागेर ल्याएका हुन् ।

‘दोस्रो पटक भने विशेष सावधानीका साथ ल्याएको देखिन्छ, ल्याएर कहाँ राखे, कसरी लुकाए र कसरी सिन्दूर जात्रा गरिए भन्ने जनश्रुतिहरू प्रशस्त छन्’ दुरा सेवा समाजका अध्यक्ष देव दुरा भन्छन् । उनको भनाइमा तत्कालीन शासकहरूसँग असन्तुष्ट भएकोले नयाँ राजा ल्याइएको थियो ।

सिन्दुरे ढुङ्गा र खजे दुरा पार्क

खजे दुरा पार्क ।

यशोब्रम्हा शाहलाई राजा घोषणा गरेर सिन्दूर जात्रा गरिएको ढुङ्गालाई सिन्दुरे ढुङ्गा भनिन्छ । ठूलोस्वाँरा गाउँ र तुर्लुङकोट गाउँको बीचमा पर्ने डाँडामा उक्त ढुङ्गा रहेको छ । त्यसलाई दुरा समुदायले संरक्षण गरेर राखेका छन् । यो ढुङ्गा रहेको ठाउँ १५ सय मिटरको उचाइमा छ ।

त्यसै गरी यही इतिहाससँग जोडिएको नायकको रूपमा रहेको खजे दुराको स्मृतिमा पार्कसमेत बनाइएको छ । दुराडाँडाको चियानपाटामा रहेको यस पार्कमा खजे दुराको सालिक पनि बनाइएको छ । उनको सालिकमा भाङ्ग्रामा एउटा सानो बच्चा रहेको छ । यसरी नै खजे दुराले आफ्नो भाङ्ग्रामा लुकाएर यशोब्रम्हा शाहलाई ल्याएको बताइन्छ ।

तीन गढी

दुराहरूको तत्कालीन शासनसँगको सम्बन्धको कडीको रूपमा तुर्लुङकोट गाउँ भन्दा माथिको डाँडामा रहेका तीन वटा गढीहरू साक्षी छन् । सिरान, बीच र पुछारको गढी नाम दिइएको तीन वटा गढीले दुरा जातिको इतिहास मात्र भनिरहेको छैन, वीरता र साहसको साक्षी पनि बनेको छ ।

ऐतिहासिक गढी ।

नेपाली सेनाबाट अवकाश प्राप्त प्रमुख सेनानी गोकुल दुराका अनुसार यी गढीहरू तत्कालीन बाइसे चौबिसे राज्यकालमा लमजुङ राज्यको दक्षिणी भागको सुरक्षा जिम्मेवारी पाएका दुराहरूले बनाएका हुन् । १४ औँ/१५ औँ शताब्दीतिर यी गढीहरू बनाइएको अनुमान छ । यी गढीहरू पुनर्निर्माण गरिएको छ । गढीहरू दुराका पुर्खाले आफ्नै रैथाने ज्ञानको आधारमा बनाएको देखिन्छ ।

तुर्लुङकालिका मन्दिर

दुराडाँडाको सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्थल तुर्लुङकालिका मन्दिर हो । यशोब्रम्हा शाहले भीर कोटबाट ल्याएर यो शक्ति पीठको स्थापना गरेको बताइन्छ । पछि विभिन्न समयमा यहाँ मन्दिर बन्ने र जिर्णोदार गर्ने क्रम जारी रह्यो । २०७२ सालको भूकम्पमा भत्किएपछि पुरातत्त्व विभागले यसको पुनर्निर्माण गरेको हो ।

तुर्लुङकालिका मन्दिर ।

यस मन्दिरमा दसैँ र चैत दसैँमा भक्तजनहरूको भीड लाग्ने गर्दछ । अरू बेला पनि विशेष पूजा तथा पञ्च बलि दिने काम हुन्छ । दुई वटा दसैँ र पञ्च बलीका लागि ब्राह्मण पुजारी छन् भने अरू बेलाको सामान्य पूजा दुरा पुजारीले गर्ने चलन छ । पञ्च बलीका बेला दिइने सुँगुरको बलि मन्दिर परिसर बाहिर रहेको भैरव थानमा दिने गरिन्छ । यहाँ भक्तजनहरूको सुविधाको लागि पाटीहरु पनि छन् । यो पुरातात्त्विक महत्त्वको स्थान हो ।

नार्खु भगवान् थान

दुराडाँडामा अरू पनि स्थानीयको आस्थासँग जोडिएका धार्मिकस्थलहरु छन् । त्यसमध्ये नार्खु भगवानको थान पनि एक हो । नार्खु भनेको दुरा भाषामा शिव भगवान् हो । यहाँ बसोबास गर्ने दुरा तथा अन्य जातिका मानिसहरूले यसलाई पानी नपरेर खडेरी परेको बेला पुज्ने गर्दछ । यसको पूजा विधि र विश्वास पनि फरक छ । खडेरी परेर मकै सुक्यो, धानको बिउ डढ्ने अवस्था आयो भने यहाँ भैँसीलाई जिउँदै लडाएर घाँटी रेटेर रगत चढाउने गरिन्छ । नार्खुसँगै अन्य भगवानलाई पनि त्यो रगत चढाएपछि जुठो हुने र त्यही जुठो सफा गर्नको लागि पानी पार्ने जनविश्वास रहेको छ । यहाँका बुढापाकाहरू यसलाई विश्वास मात्र नभएर सत्य रहेको बताउँछन् ।

त्यस्तै अर्को आस्थाको केन्द्र स्थानीयले गाँड बाज भन्ने श्वेत भैरव हो । त्यहाँ गाउँको रक्षा, गाउँका बासिन्दाहरूको सुख समृद्धिको लागि पूजा गर्ने गरिन्छ ।

मनोरम प्राकृतिक दृश्य

दुराडाँडाबाट देखिने दृष्य ।

दुराडाँडा दृश्यावलोकनको लागि पनि उपयुक्त स्थान हो । यी डाँडाहरूबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला, लमजुङ हिमाल, हिमालचुली, मनास्लुलगायतका हिमालहरूका साथै दक्षिणतर्फ सुन्दर हरियाली महाभारत श्रृखंलाहरु हेरेर रमाउन सकिन्छ । सूर्योदय र सूर्यास्तका बेला हिमालको टुप्पामा चढ्ने लाली झनै मनोरम देखिन्छ ।

मनाङ डाँडा

मनाङ डाँडा ।

दुराडाँडाको ठूलोस्वाँरा गाउँबाट करिब १५ मिनेटको उकालो चढेपछि पुगिने ३६० डिग्रीको कोणबाट दृश्यावलोकन गर्न सकिने स्थान हो, मनाङ डाँडा । करिब १५ सय मिटरको उचाइमा रहेको यो डाँडाबाट पूर्व–उत्तरतर्फ मनोरम हिम शृङ्खलाहरू देखिन्छ भने दक्षिण–पश्चिमतर्फ हरिया महाभारत शृङ्खलाहरू देखिन्छन् । यहाँ एक जना स्थानीयले घर बनाएको भए पनि अहिले बसोबास छैन ।

डढुवा डाँडा

दुराडाँडाको सबैभन्दा अग्लो स्थान हो, डढुवा डाँडा । १६ सय मिटरको उचाइमा रहेको यो स्थानमा ठुलो चौर छ । यहाँ चैत दसैँमा ठुलो मेला लाग्छ । छेलो हान्ने स्थानमा पनि यही रहेको छ भने पिकनिक स्पटहरू पनि बनाइएका छन् । यसको केही तल फुटबल मैदान खनिएको छ । यसलाई अन्तर्राष्ट्रिय साइजको फुटबल मैदान बनाउने कोसिस भइरहेको दुरा सेवा समाजका पूर्व अध्यक्ष लोकबहादुर दुरा बताउँछन् । यो डाँडा दृश्यावलोकनको लागि पनि उपयुक्त छ यहाँबाट पनि पूर्व–उत्तरतिर चित्ताकर्षक हिमालय शृङ्खला देखिन्छ भने दक्षिण–पश्चिमतिर हरिया पहाड । यो डाँडाबाट पोखरा पनि देखिन्छ, तर धेरै टाढा ।

संस्कृति

तुर्लुङकोट होमस्टेमा नृत्य गर्दै दुरा युवतीहरु ।

अल्पसङ्ख्यक आदिवासी दुरा समुदाय संस्कृतिका धनी छन् । अझै पनि आफ्नो मौलिक संस्कृतिलाई बचाएर राखेका छन् । गाउँको होमस्टेमा आउने पाहुनालाई उनीहरू सांस्कृतिक कार्यक्रमहरू देखाएर मनोरञ्जन दिन्छन् ।

दुराडाँडाको पहिचानको रूपमा ठाडो भाका रहेको छ । दुराडाँडाकै गायक स्व. देउवहादुर दुराले प्रतिपादन गरेको ठाडो भाका राष्ट्रिय रूपमा पनि चर्चित छ । पछि त्यही भाकालाई पञ्चखेर गुरुङलगायतले फैलाएको बताइन्छ । ठाडो भाकाका सर्जक दाउबहादुरको घरलाई अहिले सङ्ग्रहालयको रुपासमेत विकास गरिएको छ ।

ठूलो स्वारा सिन्दुरे दुरा गाउँ होमस्टेमा घाँटु नाचको दृश्य ।

त्यसै गरेर अन्य सांस्कृतिक अवयवहरूमा घाँटु, सोरठी, दोहोरी, झ्याउरेलगायत रहेका छन् । बाह्रमासे र कुसुण्डा घाँटुलाई छोटो संस्करण बनाएर पाहुनालाई देखाउने गरिन्छ । त्यस्तै सोरठी र झ्याउरे पनि देखाउने गरिएको छ । यसको साथमा आमा समूहको नाचले पाहुनाहरूलाई समेत नचाउँछ ।

सामुदायिक होमस्टेहरू

तुर्लुङकोट होमस्टे ।

सिन्दुरे–ठूलोस्वाँरा–दुरा गाउँ, तुर्लुङकोट र खजे दुरा गाउँ गरी तीन वटा सामुदायिक होमस्टेहरू दुराडाँडामा स्थापना गरिएका छन् । सिन्दुरे–ठूलोस्वाँरा–दुरा गाउँ होमस्टे उत्तरतिर फर्केको छ । यहाँको होमस्टेमा बास बसेर बिहान उठ्दा सुतेको खोपीबाटै वा आँगन निस्किएपछि हिमश्रृंखलाहरुको दर्शन गर्न पाइन्छ ।

ठूलो स्वारा सिन्दुरे दुरा गाउँ होमस्टे ।

तुर्लुङकोट र खजे दुरा गाउँ होमस्टे भने दक्षिणतर्फ फर्केको छ । यहाँबाट उठ्ने बित्तिकै हरियो पहाडहरू देखिन्छन् । हिमश्रृंखलाहरुको अवलोकनको लागि १०/१५ मिनेट हिँडेर डाँडा उक्लिनु पर्छ । बिहानै एक चरण डाँडासम्म उकालो चढ्दा सुन्दर दृश्यावलोकन मात्र होइन, शारीरिक स्फूर्ति पनि बढ्छ ।

खजे दुरा गाउँ होमस्टे ।

यी तीन वटै सामुदायिक होमस्टेमा ३५ देखि ४० जनाका दरले पाहुना अटाउन सक्ने गरी पूर्वाधार बनाइएका छन् । एउटा कोठामा दुई जना बस्न मिल्ने गरी सेतो तन्नासहितको पाहुना कोठाहरू तयार पारिएका छन् ।

खानपान

दुराडाँडाका होमस्टेहरूमा स्थानीय उत्पादनबाट बनेको नेपाली खानाको स्वाद पाइन्छ । त्यही उत्पादन भएका धानको भात, तरकारी, दालका साथै अन्य परिकारहरू पनि स्थानीय उत्पादनबाटै बनाइन्छ । खाजा वा नास्ताको रूपमा सेल रोटी, तरकारी, भुटेको मकै, भटमासलगायत उपलब्ध हुन्छ ।

स्थानीय खाना ।

लोकल कुखुराको मासु, कोदोको ढेंडो, जङ्गली निहुरोको सब्जी, गुन्द्रुक र सिन्कीको आचारले मुख रसाउँछ । मौसम अनुसारका फलफूलहरू पनि पाइन्छन् । गाई/भैँसीका दूध, मोही, घ्यू तथा स्थानीय रूपमै उत्पादित महको स्वाद पनि लिन पाइन्छ । मद्यपान गर्नेका लागि निश्चित मात्रमा कोदोको लोकल रक्सी पाइने नै भयो ।

अन्य आकर्षणहरू

देउबहादुर दुरा संग्रहालय र सामुदायिक सूचना केन्द्र ।

दुराडाँडामा पर्यटन र समुदायको विकासका लागि धेरै कामहरू भएका छन् । तिनीहरूलाई हेरेर पनि पाहुनाहरूले आनन्द लिन सक्छन् । त्यसमध्ये लमजुङकै पुरानो मध्येको चियानपाटास्थित चन्द्रेश्वर उच्च माध्यमिक विद्यालय, हाँडी खोलाको बर्धान गाउँमा निर्माण गरिएको ठाडो भाकाका सर्जक देउबहादुर दुरा स्मृति सङ्ग्रहालय, नेटा गाउँको कानेश्वाँरामा रहेको हेसे होइतुङ बौद्ध गुम्बा, तुर्लुङ्कोटमा निर्माणाधीन समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली स्रोत केन्द्र प्रमुख रहेका छन् ।

कसरी पुग्ने

काठमाडौँ, पोखरा र बेंशीसहरबाट दुराडाँडा सार्वजनिक बस सञ्चालनमा छ ।आफ्नै निजी सवारीमा जानेहरूका लागि काठमाडौँबाट पृथ्वीराज मार्गको डुम्रेदेखि दाहिने मोडिएर पाउँदी खोला–सुन्दर बजार हुँदै करिब १ सय ८८ किलोमिटरको दुरी ७ घण्टामा पुरा गरेर दुराडाँडा पुग्न सकिन्छ । पोखराबाट जानेले डुम्रे हुँदै गए पनि वा पोखराबाट सिधै पनि आउन सकिन्छ तर कच्ची बाटो छ । बेशींसहरबाट जानेले सिउँडीबार, सुन्दर बजार हुँदै जान सकिन्छ । अर्को बाटो गाउँ सहर हुँदै बाख्रेजगत भञ्ज्याँङ भएर जान पनि सकिन्छ ।

काठमाडौंबाट दुराडाँड पुग्ने मार्गचित्र ।

दुराहरू नेपालमा थोरै जनसङ्ख्या भएको आदिवासी जनजाति समुदाय मध्येमा पर्दछन् । नेपालको इतिहास निर्माणका क्रममा ऐतिहासिक भूमिका खेलेको दुरा जातिको संस्कृति, रहनसहन, ऐतिहासिक–पुरातात्त्विक स्थलका साथै मनोरम प्राकृतिक दृश्यावलोकनको लागि एक पटक दुराडाँडा पुगौँ । यसबाट तपाईँको घुमफिर फलदायी र आनन्दमयी त हुने छ नै साथै पर्यटनको माध्यमबाट समुदायको विकासमा अग्रसर भएका दुराहरूको प्रयासलाई पनि बल मिल्ने छ ।

पाहुनालाई स्वागत गर्न ठुलो स्वाँरा गाउँमा तयार दुरा आमाहरु ।

होमस्टे व्यवस्थापन समितिका अध्यक्षहरूको सम्पर्क:
१. ध्रुव दुरा, अध्यक्ष – सिन्दुरे ठुलो स्वाँरा दुरा गाउँ होमस्टे – ९८५६०४०५१५
२. जीत बहादुर दुरा, अध्यक्ष – तुर्लुङ्ङकोट होमस्टे – ९८४५३५९०५४
३. अमर जङ्ग दुरा, अध्यक्ष – खजे दुरा गाउँ होमस्टे – ९८४६९९५७३९

सबै तस्बिरहरु: लाला गुरुङ/हाइलाइट्स टुरिजम । 

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…