January 25, 2021

चर्चित आरोही माया गुरुङको विद्रोह

  • अनिता गुरुङ

काठमाडौँ । त्यस बेला उनी भरखरै किशोर अवस्थामा प्रवेश गर्दै थिइन् । घरमा बिहेको कुरा चल्न थाल्यो । १३ वर्षकै उमेरमा उनको बिहे पक्का भयो । तर उनले विद्रोह गरिन्, बिहेको अघिल्लो रात उनले घर, समाज र गाउँ छाडिन्, सङ्घर्षको बाटो रोजिन् ।

आफ्नो जीवनको त्यो क्षण सम्झँदा अहिलेकी चर्चित पर्वतारोही माया गुरुङको अनुहारमा कुनै बिस्मातको भाव देखिन्न । बरु प्रसन्नता स्पष्टै देखिन्छ । त्यही विद्रोहले अहिलेको माया बनेको हो, नत्र….। उनलाई पनि थाहा छैन, अहिले उनी कहाँ कसरी हुन्थिन् ।

त्यो उनको पहिलो विद्रोह थियो । जीवनमा मायाले पटक पटक विद्रोह गरेकी छिन् । हाम्रो समाजले महिलाका लागि होइन भनेर राख्ने मान्यताहरू तोडेकी छिन् ।

त्यसै मध्येमा पर्छन्, पर्वतारोहण । पर्वतारोहणमा अझै पनि पुरुषकै बाहुल्यता छ । यो साहसी पर्यटकीय गतिविधिमा अब्बल पुरुष मात्रै हुन सक्छन् भन्ने अझै पनि धेरैले सोच्छन् । यो हाम्रो समाजको बुझाई हो । तर मायाले यसमा पनि विद्रोह गरिन्, पर्वतारोहणलाई पेसाको रूपमा अङ्गालिन् । अहिले आरोहणमै स्थापित नाम बनेकी छिन् ।

सन् २००८ मा सगरमाथा आरोहण गर्ने पहिलो समावेशी नेपाली महिला टोलीका सदस्य र आफ्नो समुदाय (गुरुङ) बाट सगरमाथा आरोहण गर्ने माया पहिलो महिला हुन् । तर यस क्षेत्रमा स्थापित हुनका लागि उनले धेरै मेहनत र सङ्घर्ष गरेकी छिन् ।

‘यो पेसा आफैँमा चुनौतीपूर्ण त छँदैछ । म त अझ घरमा विद्रोह गरेर भागेकी, घर परिवारले पनि मलाई साथ दिएनन्’ उनी भन्छिन्, ‘सगरमाथा चढ्छु त भनेँ तर मलाई हिमालबारे केही ज्ञान थिएन तर ममा चढ्न सक्छु भन्ने दृढ विश्वास चाहीँ थियो, निकै सङ्घर्ष र परिश्रम गर्नु पर्‍यो ।’

सगरमाथा चढ्नु अघि आरोहण तालिम लिनु पर्ने हुन्छ । नेपाल पर्वतारोहण सङ्घले आयोजना गर्ने ४५ दिने आधारभूत तालिममा सहभागी हुन माया गइन् । तर, उनलाई त्यस बेलासम्म सगरमाथाको उचाइ र सगरमाथा चढ्ने पहिलो व्यक्तिको नाम मात्र थाहा थियो । यद्यपि संयोगले उनको टोलीमा धेरै जना महिला नभएकोले प्रतिस्पर्धा गर्नु परेन र उनले तालिमको अवसर पाइन् । त्यसपछि उनले सगरमाथा आरोहण गर्ने समावेशी टोलीमा सामेल हुने अवसर पाइन् ।

सातै महादेशका अग्ला चुचुरा चढ्ने नेपाली महिला आरोही टोली ।

उनको टोलीका दशै जनाले सगरमाथाको सफल आरोहण गरे । सगरमाथाको सफल आरोहण पछि उनको त्यो समावेशी टोलीका ७ जनाले विश्वका सातै वटा महादेशका अग्ला हिमालहरूको सफल आरोहण गरेर विश्वमा पहिलो महिला टोली (सेभेन समिट्स वुमन टिम) बनेर रेकर्ड कायम गर्न सफल भए । मायाले नेपालमा मात्र होइन युरोपका हिमाल आरोहणका लागि पनि टोलीको नेतृत्व गरिसकेकी छिन् ।

माया पर्वतारोहणमा मात्र हैन हिमाल संरक्षणको अभियानमा पनि उत्तिकै सक्रिय छिन् । उनी धौलागिरी र मनास्लु बेस क्याम्पको सरसफाइमा सहभागी भइसकेकी छिन् । भन्छिन्, ‘हिमालसँग भावनात्मक रूपमा पनि म धेरै नजिक छु, मेरो आत्मा नै हिमालमा छ झैँ लाग्छ । हामीलाई आत्मनिर्भर बनाउने हिमालहरूको संरक्षण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो ।’

आरोहण गाइडका साथै माया नयाँ नयाँ गन्तव्यको खोजी तथा प्रवर्द्धनमा पनि उत्तिकै रुचि राख्छिन् । सरकारले आरोहणका लागि हिमालहरू खुला गरे पनि धेरै हिमालहरूमा जानको लागि अझै बाटो खुलेको छैन, मान्छे पुगेका छैनन् । सीमित हिमालहरू मात्रै प्रख्यात छन् ।

उनको नेतृत्वको टोलीले सन् २०१९ मा सिन्धुपाल्चोकको ६१५१ मिटर उचाइको जुगल हिमालमा पहिलो मानव पाइला राखेर बाटो पहिल्याइ दिएको छ । नयाँ हिमालको बाटो खोल्ने उनी पहिलो महिला हुन् । सन् २०१४ मा नेपाल सरकारले जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । उनी भन्छिन्, ‘किन विदेशीहरूले मात्रै हिमाल चढ्ने र बाटो खोल्ने ? हामी नेपाली आफैँ पनि नयाँ नयाँ प्रडक्ट निकाल्न सक्षम छौँ, किन नयाँ हिमालको बाटो नखोज्ने भनेर मेरो नेतृत्वको टोली जुगल हिमाल चढ्न गयौँ । सधैं अरुकै नेतृत्वमा अरूले खोलेको बाटोमा हिड्यौं भने यो चाहीँ बिलकुलै नयाँ, आफैँले बाटो खोज्दै र खोल्दै जानुपर्ने, र अर्को कुरा मेरा टोलीका सबै सदस्यहरूलाई जसरी लगेको थिएँ, सकुशल त्यसरी नै फर्काउनु मेरो जिम्मेवारी थियो, चुनौती र अवसर दुवै मेरा लागि बराबर थिए ।’

कोरोना कहरको असहज परिस्थितिमा पनि मायाको टोलीले प्रदेश सरकार र स्थानीय सरकारसँगको सहकार्यमा आफ्नै गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका थप नयाँ पर्यटन प्रडक्ट ल्याउन सफल भएका छन् । २०२० डिसेम्बर महिनाको अन्तिममा उनको टोलीले करिब २ साता लगाएर सिन्धुपाल्चोकको ५५५६ मिटर उचाइको युवा पिक, करिब ५३०० मिटर उचाइमा रहेको तिलमान पास र करिब ४३०० तथा ४४०० मिटर उचाइका पाँच पोखरी पिकको आरोहण गरेर तीन नयाँ साहसिक पर्यटन उपज बाहिर ल्याए ।

तिलमान पास पदमार्ग प्रवर्द्धनको क्रममा माया र टोलीका सदस्यहरु ।

‘राजधानी काठमाडौँबाट नजिकै आफ्नै जिल्लामा यतिका धेरै पर्यटकीय सम्भावनाका गन्तव्यहरू छन् भने किन प्रवर्द्धन नगर्ने, किन बाटोको खोजी नगर्ने भनेर सन् २०१९ मा जुगल हिमाल र सन् २०२० को डिसेम्बरमा युवा पिक, तिलमान पास र पाँच पोखरी पिक चढ्यौँ’ उनी भन्छिन् । मायाका अनुसार राजधानीबाट नजिकै हिमालको बेस क्याम्प तथा हाइअल्टिच्युडको अनुभवका साथै मनै लोभ्याउने प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको आनन्द लिन सकिन्छ यी स्थानहरूमा ।

मायाको बुझाइमा महिला भएकै कारणले यो पेसामा पहिलो चुनौती भनेको महिलाले यो काम गर्न सक्दैन भन्ने मानसिकता र त्यसपछि विवाह पश्चात् पेसा छोड्नु पर्ने बाध्यता हो । महिलाहरूले यो पेसालाई निरन्तरता दिन नसक्नुको प्रमुख कारण नै घर परिवार भएको बताउँछिन्, माया । आफ्नो काम र पेसा प्रति माया सन्तुष्ट छिन् । भन्छिन्– ‘१३ वर्षको उमेरमा मैले एकदम सही निर्णय गरेँ । त्यो दिन घर छाडेर नभागेको भए आज म यो ठाउँमा हुँदिन थिएँ ।’

सन् २०१४ मा सेभेन समिट मिसन पूरा भएपछि उनको टोलीले आरोहण सँगसँगै पर्यटनमा अर्को पुस्ता तयार गर्ने काम पनि गरिरहेको छ । यो क्षेत्रमा आउन चाहने महिलाहरूका साथै मानव बेचबिखनबाट उद्धार गरिएका महिलाहरूलाई पनि सहयोग र तालिम दिँदै आएको छ । ‘नेपालमा टुरिजम भनेको पर्वतारोहण मात्र होइन, रिभर गाइड, ट्रेकिङ गाइड, सिटी गाइड, बन्न सकिन्छ, अरू पेसा जस्तै यो पनि एउटा पेसा हो । यो पेसामा टिक्न सक्नु मात्र पर्छ, नाम, दाम र इनाम सबै छ । तर विडम्बना पर्यटनको क्षेत्रमा रोजगारीका यतिका धेरै सम्भावनाहरू भएको अनि सुन्दर हिमालको काखमा बसेका मान्छेहरू मजदुरीका लागि बिदेसिनु परेको छ, यहीँका महिलाहरू बेचिनु परेको छ । हामीले पर्यटन क्षेत्रमा आउन चाहनेहरूका लागि प्रोत्साहन गर्‍यौँ भने पक्कै पनि विदेशमा मजदुरी गर्न जानु पर्दैन, बेचिनु पर्दैन’ उनी भन्छिन् ।

तस्बिरहरु सौजन्य :  माया गुरुङ ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…