January 25, 2021

‘सिस्ने राउण्ड’ ट्रेक गर्ने की?

  • सिर्जना कार्की

रुकुम पूर्व । लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको हो । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङ्टाङ भन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीसमेत संलग्न अन्वेषण टिमले जनाएको छ ।

यो अन्वेषणको नेतृत्व आरोही मनबहादुर खत्रीले गरेका हुन् । खत्रीको नेतृत्वमा भइरहेको अन्वेषणमा रुकुम (पूर्व) को सिस्ने गाउँपालिकासहित रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाले सहयोग गरेका छ । सरकार, संस्था र व्यक्तिको त्रिपक्षीय साझेदारीमा भइरहेको गन्तव्य अन्वेषणमा संस्कृति तथा पर्यटन विकास केन्द्र पनि लागिरहेको छ ।

गत जेठदेखि गन्तव्य पहिचान शुरु गरिएको थियो । पहिलेका कतिपय तथ्याङ्कसमेत प्रयोग गर्दै अन्वेषण टोलीले ट्रेक गर्दै रुट पहिचानको आधारभूत काम सम्पन्न गरेको छ । प्रारम्भिक अध्ययनबाट यहाँ १४ दिनको ट्रेक बन्दैछ । यो ट्रेकको विकास गर्ने हो भने थुप्रै विदेशी पर्यटक भित्रयाउन सकिने अन्वेषण टोलीको निष्कर्ष छ । देशका सबै ट्रेकिङमा पथप्रर्दशन गरिसकेका खत्रीले सिस्ने हिमालको पछाडिपट्टिको भागबाट काञ्जिरोवाका २८ हिमाल देख्न सकिने बताए ।

यस्तै त्यहाँबाट सानीभेरी, ठूलीभेरी दुबैको मनोरम दृश्य देख्न सकिन्छ । उनले भने, “सिस्ने राउण्ड लागाउनु भनेको श्रीपेचको वरिपरि घुमे जस्तै हो ।” तत्काललाई जाने बाटोमा व्यवस्थित आवास र खानपानको व्यवस्था नभएकाले सिस्ने राउण्डको लागि रु एक लाख वा त्यो भन्दा बढी खर्च लाग्ने गर्दछ । यसलाई व्यवस्थित बनाउने हो भने १४ दिनमा रु १४ हजार खर्चले सिस्ने राउण्ड लागाउन सकिन्छ, उनले भने । अब पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने सजिलै आन्तरिक पर्यटक भित्र्याउन सकिने छ ।

सिस्ने चक्रिय पदमार्ग तालिका

हिमालको मनोरम दृष्यका लागि निर्माण गरिएको ट्रेकिङ रुटलाई सिस्ने राउण्ड नामाकरण गरी १४ दिनको तालीका बनाइएको छ । तालीका अनुसार राडी आठबीसकोटबाट बञ्चरे हुँदै सुरु भएको ट्रेक पुन १४ दिमा राडीमा आएर टुङ्गिन्छ: पदायात्रा तालीका निम्न अनुसार छन्:

१. राडी आठबीसकोट–बञ्चरे

२. बञ्चरे–जलजला

३. जलजला–डम्माना

४. डम्माना–कोल्टी

५. कोल्टी–खाल्टी

६. खाल्टी–गुप्तदह

७. गुप्तदह–निगालटाटा

८. निगालटाटा–सिस्ने बेस क्याम्प

९. सिस्ने बेस क्याम्प–सिस्ने हाइ क्याम्प

१०. सिस्ने हाइक्याम्प–नौ दह (सानो कैलाश)

११. नौ दह (सानो कैलाश)–देउतीपाटन

१२. देउतीपाटन–खोलापाटन

१३. खोलापाटन–होलीकाँडा

१४. होलीलीकाँडा–गोतामकोट–राडी आठबीसकोट

यस्तै उक्त अन्वेषण टोलीले सिस्नेदेखि पुथा हिमालसम्म पुग्नको लागि सिस्ने पुथा ट्राभर्स निर्माणको काम पनि गरिरहेको छ, भने पुथाबाट चुरेन हुँदै धौलागिरिसम्म जोड्ने काम भइरहेको खत्रीले बताए । “पुथा हिमाल डोल्पाबाट सजिलै जान सकिन्छ र अहिले मानिस पनि डोल्पाबाटै पुथा जाने गरेका छन्,” उनले भने, “सहज बाटो नभएको कारण रुकुम (पूर्व) बाट भने पुथा हिमालसम्म पुग्न कठिन हुने गरेको छ ।”

अब भने ट्रेकिङको रुट निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको अन्वेषण टोलीले जनाएको छ । अब यहाँका स्थानीय, प्रदेश र सङ्घ सरकारले ठाउँठाउँमा घरवास पर्यटन (होमस्टे) सञ्चालन गर्नुपर्नेदेखि लिएर डोल्पा जोड्ने सडक निर्माण गर्ने र एकीकृत पर्यटन प्याकेज लिएर काम गर्नुपर्ने अन्वेषक खत्रीको सुझाव छ । सिस्ने हिमालमा भने अहिले हिउँ नभएकै कारण आरोहणमा समस्या भइरहेको अन्वेषण टोलीले जनाएको छ । जलवायु परिवर्तनलगायतका कारणले समयमै हिउँ पानी नपर्दा समस्या देखिएको हुनसक्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरको भनाइ छ । रासस

 

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…