March 9, 2021

पर्वतारोहीको सहयोगमा फेदीखोलामा स्कुल भवन 

काठमाडौँ । पर्वतारोही नोगुची केनको पिक एड फाउन्डेसन जापान तथा नोगुची केन फाउन्डेसन, जापानको आर्थिक सहयोगमा स्याङ्जाको फेदीखोलास्थित श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालयको भवनहरू मर्मत तथा नयाँ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
फेदिखोलाकै स्थानीय हाल जापानमा कार्यरत गोदार उपकार थापाले आफ्नो जन्मेको ठाउँमा “नो चाइल्ड शुल्ड बी लेफ्ट बिहाइन्ट” भन्ने अभिप्रायले  विद्यालयको मर्मत तथा निर्माणको संयोजन गरेका हुन् ।
बर्सौँ पुरानो भवनहरू जीर्ण अवस्थामा पुगेको तथा सरकारी निकायहरूलाई सहयोगको लागि अनुरोध गरे पनि आश्वासन बाहेक कुनै किसिमको पहल नभएकोले विदेशी निकायहरूसँग अनुरोध गर्नुपरेको बताउँछन् । उक्त विद्यालयमा गरिब तथा दलित, आर्थिक अवस्था कमजोर भई विद्यालय जान नसक्ने गरी ६२ जना विद्यार्थी अध्ययनरत छन् । आगामी वर्षहरूमा अझै विद्यार्थी सङ्ख्या बढाउँदै जाने लक्ष्य राखिएको थापाले बताए ।
प्रत्येक वर्ष माउन्ट फुज सरसफाइ कार्यक्रम, नेपाल तथा जापानका बाढी-पहिरो या भूक्षयबाट प्रभावित ठाउँहरूमा पर्वतारोही नोगुची केन र थापा मिलेर काम गर्ने सिलसिलामा सन २०१८ देखि हिमाली भेगहरूमा विद्यालय प्रोजेक्ट तथा स्कुलका झोलाहरू (जापानिज् राण्दोसेल टाइप) वितरण जस्ता समाजसेवाका कामहरू गर्दै आइरहेका छन् ।
सरकारी विद्यालयहरू भन्दा फरक, जापानी शैलीमा शिक्षाको स्तरोउन्नती गरी पढाइका साथमा गीत सङ्गीत या खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरू पनि समावेश गर्ने उद्देश्यले प्रोफेसनल सङ्गीतकार तथा अन्तर्राष्ट्रिय खेलकुदविद्हरूसँग छलफल भइरहेको उपकार बताउँछन् । कराँते हलको काम सम्पन्न भइसकेको छ भने बास्केटबल र भलिबल कोर्टको निर्माण भइरहेको छ ।
जापानको युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा आर्थिक सङ्कटले गर्दा इच्छा हुँदाहुँदै पनि अतिरिक्त क्रियाकलापमा भाग लिन नसकी तीता अनुभवहरू भोग्नु परेकोले आफूभन्दा पछाडिका पिँडीलाई पनि त्यस्तै कष्टको सामना गर्नु नपरोस् भनेर पहल गरिएको थापाले बताए।

Check Also

सानु शेर्पा : विना स्पोन्सर रेकर्ड राख्ने अभियानमा

काठमाडौँ । गएको साता एकै दिन छ महिलासहित ६७ जनाले अन्नपूर्ण पहिलोको आरोहण गरे । ८ हजार ९१ …