April 20, 2021

एकै दिन छ नेपाली महिलासहित ६७ जनाले चढे अन्नपूर्ण पहिलो

नेपाल पर्वतारोहण संघ (एनएमए)की उपाध्यक्ष तथा सगरमाथा आरोही संघकी अध्यक्षसमेत रहेकी माया शेर्पा अन्नपूर्ण पहिलोको चुचुरामा ने‍पालको झण्डासहित । उनी विश्वका ८ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गर्ने अभियानमा छिन् । तस्वीर: माया शेर्पाको फेसबुकबाट ।

गलेश्वर । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेका छन् । अन्नपूर्णमा एकै दिन यति धेरै चढेको पहिलो हो भने नेपाली महिलाले पनि पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते छ नेपाली महिलासँगै ६७ जनाले सफल आरोहण गरेका हुन् । पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए अनुसार नेपाली महिलामा पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पा रहेका छन् । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।

अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अगस्त १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए । सेभेन समिट ट्रेक्सबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १:१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।

श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको उनको भनाई थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर सफल आरोहण गर्न टोली सफल भएको शेर्पाले बताए । सुन्दर ठाउँमा अवस्थित अन्नपूर्ण हिमालको बेसक्यापसम्म सरकारलगायतको लगानीमा होटल, सार्वजनिक ठाटी, टहरा, बनाउन शेर्पाले आग्रह गरे । फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइ म्याकेननले ७० वर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो मानव पाइला टेकेका थिए । उनीहरुले सन् १९५० को जुन ३ तारिख अर्थात् विसं २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गरेका थिए ।

नेपाल पर्वतारोहण संघ (एनएमए)की उपाध्यक्ष तथा सगरमाथा आरोही संघकी अध्यक्षसमेत रहेकी माया शेर्पा अन्नपूर्ण पहिलोको चुचुरामा एनएमएको झण्डासहित । उनी विश्वका ८ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गर्ने अभियानमा छिन् । तस्वीर: माया शेर्पाको फेसबुकबाट ।

यो नै विश्वमा ८ हजार मिटर भन्दामाथिको हिमाल आरोहण गरिएको पहिलो थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण पछि लेखेको पुस्तकले त्यस बेला यूरोपमा राम्रो चर्च पाएको बताइन्छ । यद्यपी अन्नपूर्ण पहिलोको आरोहण भने कमैले मात्र गरेका छन् ।

आरोही पत्रकार श्रेष्ठलाई म्याग्दीमा सम्मान

अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी पत्रकार पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सोमबार सम्मान गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुग्ने पहिलो महिला पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङवासी र नेपाल पत्रकार महासङ्घ म्याग्दीले बेनीमा सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा, पोल्याण्डका यारोलाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा श्रेष्ठले आत्मविश्वासले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला राख्न सफल भएको बताइन् । साहसले नै सफल आरोहण भएको उनले अनुभव सुनाइन् । पहिलो महिला पुगेको भन्दा पनि एउटा नेपाली युवा चुचुरोमा पुगेकाले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन् । यो सफल यात्रामा सहयोग गर्ने गण्डकी प्रदेश, अन्नपूर्ण गाउँपालिकालगायत सहयोगी सबैलाई धन्यवाद दिइन् ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…